OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २, २०८०पाटन (ललितपुर)
४१३ पटक

 २ भदौ २०८० शनिबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताउनुभएको छ ।

दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत विद्युतीकरणको १९औँ वर्ष पूरा भएको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले जनतालाई विकास अभियानको साझेदार बनाउने पद्धतिलाई थप विस्तार गरिने विश्वास दिलाउनुभयो । “सरकारले सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई साथ दिन्छ, संविधानले सार्वजनिक–निजी साझेदारीका साथै नागरिकको सहभागितामा गरिने विकासको अवधारणालाई प्रवर्द्र्धन गरेको छ ।

विद्युत् सहकारीले गरिरहेको कामलाई हामी राज्यकै हिस्साका रूपमा बुझ्छौँ”, उहाँले भन्नुभयो, “विकासमा जनताको सहभागिता र अपनत्व, प्रतिफलमा साझेदारी सुनिश्चित हुनुपर्छ । हामीले यसलाई अझ बढी महत्त्व दिनुपर्छ ।” मन्त्री बस्नेतले सामुदायिक विद्युतीकरणको महत्त्वपूर्ण भाग सहकारी भएको र यसले गरेको काम कदरयोग्य रहेको भन्दै सामुदायिक विद्युतीकरणको प्रशंसा गर्नुभयो ।

जनताले चाहँदा व्यवस्था बदलिएको र त्यसैगरी आर्थिक, सामाजिक रुपान्तरणको अवस्था बदलिन पनि सक्छ भन्ने धारणा उहाँको थियो । सरकार जनतालाई खुसी बनाउने अभियानमा लागेकाहरूलाई पन्छाएर भारी बोक्न चाहँदैन भन्दै मन्त्री बस्नेतले नीतिको दास हुने होइन, जनताको जीवनमा परिवर्तन ल्याउने र खुसी बनाउनेतिर लाग्नुपर्नेतिर इङ्गित गर्दै सोहीअनुसार नीति, सिद्धान्त तय हुनुपर्नेमा जोड दिनुभयो ।

सामुदायिक अभियानमा अप्ठ्यारो पार्ने अवस्था हुँदैन भन्दै उहाँले सरकार सहयोग गर्न तयार रहेको र विकासमा जनताको साझेदारी, आर्थिक, सामाजिक रुपान्तरणमा हिस्सेदारी मुख्य केन्द्र रहेकामा जोड दिनुभयो । बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले सामुदायिक विद्युतीकरणमा मन्त्री फेरिएपछि आइरहने समस्या समाधान हुनुपर्ने बताउनुभयो ।

उहाँले नियमावलीमा समावेश गरेर नीतिगतरूपमै सहकारीमार्फत सञ्चालित सामुदायिक विद्युतीकरणलाई सहज हुने व्यवस्था राखिनुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले प्रत्येक नागरिकलाई खुसी बनाएर सेवा प्रदान गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सामुदायिक विद्युतीकरणमा जिल्ला विकासले गरेको जस्तै अहिले समन्वय समितिले पनि सहयोग, समन्वय र सहजीकरण गर्ने बताउनुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले तत्कालीन समयमा स्थानीय जनप्रतिनिधि हुँदा दक्षिण ललितपुर विद्युत् सहकारी संस्था गठनको बेला संस्थापक उपाध्यक्ष भएर काम गरेको स्मरण गर्नुभयो । उहाँले जनतालाई सेवा दिने उद्देश्यले सहकारी अभियान सुरु भएको बताउनुभयो ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घका महासचिव गोविन्द पौडेलले सामुदायिक विद्युतीकरणको अभियानमा जनतालाई सहभागी बनाएर विद्युतीकरणका काम गर्नुपर्ने बताउनुभयो । कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ललितपुरको सातदोबाटोमा भएको विकास र सेवालाई हेरेर दक्षिण ललितपुरलाई तुलना गर्न नहुने भन्दै सुविधासम्पन्न स्थानीय तह र प्राकृतिक प्रकोपले बर्सेनि समस्या थपिरहने पालिकालाई एउटै रूपमा हेरिन नहुने बताउनुभयो ।

संस्थाका पूर्वअध्यक्ष रामकृष्ण हुमागाईँले २०५७ साउन १७ गते सहकारी स्थापना हुँदा द्वन्द्वको चरम अवस्था रहेको स्मरण गर्दै सरकार र समुदायको आधा–आधा लगानीमा विद्युतीकरणको काम सञ्चालन भएको बताउनुभयो । संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाईँले सामुदायिक विद्युतीकरणले सुधारिएको चुलो, वायो ग्यासको प्रवर्द्धनलगायतमा प्रभावकारी काम भएको बताउनुभयो ।

संस्थाका उपाध्यक्ष उद्वव पराजुलीले दक्षिण ललितपुरका सात हजार पाँच सयभन्दा बढी घरघुरीमा विद्युतीकरण हुँदा गाउँघरमा नै उद्योग सञ्चालन गर्न, टेलिफोन टावर राख्न सहज भएको बताउनुभयो । ललितपुरको दक्षिणी भेगमा रहेका तत्कालीन १९ वटा गाउँ विकास समितिमा विद्युत्को सेवा पुगेको थिएन । विसं २०६१ भदौ २ गतेदेखि तत्कालीन देवीचौर गाउँ विकास समितिमा सहकारीमार्फत विद्युतीकरणको ग्राहक सेवा सुरु भएको थियो । देवीचौर अहिले गोदावरी नगरपालिकाको वडा नं ७ भएको छ भने बाँकी बागमती, महाँकाल र कोञ्ज्योसोम गाउँपालिकाको वडामा परिणत भएका छन् ।

प्रतिकृया दिनुहोस्