OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ८, २०८०सुर्खेत
३४६ पटक

 ८ बैशाख २०८०, शुक्रबार

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भेरी किनारमा बीस वर्षपछि आधुनिक सहर निर्माण हुने बताउनुभएको छ । उक्त सहर भने नयाँ पुस्तालाई कोसेलीका रुपमा हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

आज गुर्भाकोट नगरपालिका सुर्खेतस्थित ‘भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर परियोजना’को उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले भेरी नदी किनारमा सुन्दर बस्ती बसाइने जनाउनुभयो । उहाँले स्थानीय नागरिकहरुसँगको छलफलपछि मन्त्रिपरिषद्ले गुरुयोजनालाई कानूनका लागि मूर्तरुप दिने जनाउनुभयो ।

रक्षाका साथै कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका उहाँले भेरीगंगा उपत्यका नमूना आधुनिक शहरको गुरुयोजना निर्माणको काम अगाडि बढाइएको र सोही अनुसार तीनै तहका सरकारको आपसी समन्वय र सहकार्य आवश्यक रहेको औंल्याउनुभयो । सरकारले आर्थिक वर्ष ०६८÷०६९ को नीति तथा कार्यक्रममा आधुनिक शहर निर्माणको घोषणा गरेतापनि करिब दश वर्षपछि आयोजनाको कार्यालय स्थापना गरिएको छ ।

विकास निर्माणका काम गर्दा कम्तिमा एक सय वर्षलाई सोचेर स्थानीय तहहरुले काम गर्नुपर्ने सुझाउँदै उहाँले गुरुयोजना बमोजिम स्थानीय तहलाई काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आधुनिक सहर निर्माणका लागि स्वदेशी मात्रै नभई विदेशबाट पनि स्रोत जुटाउँछौं । बजेट अभाव भएर आधुनिक सहर निर्माण कार्य रोकिने छैन ।”

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जनाउनुभयो । उहाँका अनुसार बीस वर्षपछि २१०० सालभित्रमा आधुनिक सहर निर्माणका कामहरू सम्पन्न हुनेछ । नेपालमा निर्माणाधिन अवस्थामा रहेका नयाँ सहर मध्ये भेरीगंगा नमूनाको ११औं सहर भएको जनाउँदै सहसचिव अधिकारीले अन्य दशवटा नयाँ सहरको कार्यालय स्थापना भई काम अगाडि बढेको बताउनुभयो ।

उहाँले पहाडी जिल्लाबाट तराईका लागि बसाईंसराई रोक्न भेरी नदी किनारको आधुनिक सहर महत्वपूर्ण भूमिका खेल्ने जनाउँदै यो योजनाले भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई समेट्ने बताउनुभयो । भेरीगंगा उपत्यका नमूनाको आधुनिक सहर कार्यालयका निमित्त आयोजना प्रमुख रामकृष्ण आचार्यले करिब रु.४० अर्ब बजेटमा उक्त सहर निर्माण हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्