OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
रासस सुर्खेत बैशाख २३, २०७७ सुर्खेत
८२० पटक

सुर्खेत, २३ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारको निर्णय विपरित प्रहरीले एम्बुलेन्समा आवतजावतमा रोक लगाउँदा बिरामी अलपत्र परेका छन् ।
कर्णाली प्रदेशको मूल प्रवेशद्वार सुर्खेत भेरीगंगा नगरपालिकाको बबईस्थित प्रहरीले प्रदेश सरकारको निर्णय विपरित आज बिहानदेखि एम्बुलेन्सलाई कर्णाली छिर्न नदिएको चालकहरुले बताएका छन् । राती सुर्खेतदेखि बिरामी लिएर नेपालगञ्ज गएको र आज बिहान फर्कँदा बबई प्रहरीले कुनैपनि एम्बुलेन्स कर्णाली प्रवेश गर्न नदिएको प्रदेश अस्पताल सुर्खेतका एम्बुलेन्स चालक समीर न्यौपानेले दुखेसो गर्नुभयो ।
“प्रदेश अस्पताल, माया नर्सिङ् होम, अछाम विनायकको एम्बुलेन्स, भूपू सैनिकको दुईवटा र अर्को एउटासहित छ वटा एम्बुलेन्सलाई प्रहरीले रोकेको छ,” न्यौपानेले भन्नुभयो, “यसले गर्दा बिरामीलाई गन्तव्य पुर्याउन र अन्य फोन गरेका बिरामीहरुलाई सेवा दिनुको साटो आफै अलपत्र परिएको छ । नागरिकहरुको जीवन रक्षाका लागि हिडेका आफूहरुलाई एम्बुलेन्स रोकेर प्रहरीले बबईको जंगलमा लखेटेको उहाँले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले एक सातासम्म प्रदेश प्रवेश गर्ने सबै सीमा नाकाबाट सवारी तथा पैदल आवातजावत पूर्ण बन्द गर्ने निर्णय गरेको थियो । यद्यपि एम्बुलेन्स, शवबाहनलगायत अतिआवश्यकका काममा रोक लगाउने कुनैपनि निर्णय नभएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।
नेपालगञ्जमा फैलिएको कोरोना संक्रमणको जोखिम रोकथाम कार्यलाई लक्षित गरेर अत्यावश्यक बाहेकका सवारी तथा पैदल आवातजावत पूर्ण बन्द गरिएको कानूमन्त्री भण्डारीले बताउनुभयो । “एम्बुलेन्स त युद्धको बेला पनि रोकिदैनन् भने नागरिकै जीवन रक्षाका निम्ति अहोरात्र खटिएको सरकारले यो रोक्ने निर्णय गर्नु कल्पना भन्दा बाहिरको कुरा हो,” उहाँले भन्नुभयो, “यसमा के भएको हो, प्रदेश सरकारले प्रहरी प्रशासनसँग सहजीकरण गर्छ ।”
यता प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले एम्बुलेन्स रोक लगाउने कुरा राम्रो नभएको बताउनुभयो । “प्रदेश सरकारले मान्छेको जीवन रक्षा गर्ने साधन एम्बुलेन्स र जनशक्तिमा रोक लगाउने निर्णय गर्ने कुरै भएन नि,” मन्त्री रावलले भन्नुभयो, “प्रहरीले एम्बुलेन्स रोक्नु हुँदैन । के रहेछ त्यो बुझ्दैछु ।” यद्यपि प्रहरीले नै यसमा अटेर गरेर एम्बुलेन्स रोकेपछि प्रदेश सरकारलाई यो विषयले तनावित बनाएको छ । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्