OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २९, २०७९मुगु
४०९ पटक

२८ मंसिर २०७९, बिहीबार

बेलायत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण भएको छ ।

मुगु गमगढीदेखि हुम्ला चंखेली गाउँपालिका देउलीसम्मको उक्त सडक रु.एक अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा लगानीमा बेलायत सरकारले निर्माण गरेको हो । सन् २०१८ अक्टोबरबाट काम सुरु भई निर्माण कार्य सम्पन्न भएको उक्त सडक बुधबार बेलायत सरकारले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

सडक हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासको पहिलो आधार सडक र यसको निर्माणले मानवीय थप आवश्यकता पुरा हुँदै जाने बताउनुभयो । मुख्यमन्त्री शाहीले सात वर्षको उमेरदेखि पैदल यात्रा गरेको स्मरण गर्दै भन्नुभयो, “हुम्लादेखि यही बाटोबाट महिना दिन पैदल हिडेर नेपालगञ्ज पुग्थ्यौं । मान्छे हिँड्न कठिन बाटो आज सडकमा परिणत भएको छ जहाँ अहिले गाडी गुडाएका छौं ।”

बेलायती राजदूत निकोला पोलिटले गमगढी–देउली सडक निर्माणले दुवै दुर्गम जिल्लाको सडक जोडिएको बताउनुभयो । “बेलायत सरकारको ग्रामीण पहुँच कार्यक्रम अन्र्तगत ४.५ मिटर चौडा मोटरेवल लिङ्क सडक निर्माण हुँदा पैदल हिड्ने बाटोलाई विस्थापित गरेको छ,” राजदूत पोलिटले भन्नुभयो, “बेलायतले सरकारले नेपालमा निर्माण मा सहयोग पुर्याएको यो सबैभन्दा लामो ग्रामीण सडक हो ।”

निर्माण सम्पन्न भएको ६७ किलोमिटर सडक मध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ । यो सडकले चंखेली हिमालको तीन हजार तीन सय मिटरको अग्लो डाँडा पार गर्दा उक्त सडकअन्तरगत चारवटा पुल निर्माण गरिएका छन् । बेलायतको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरणस्वरुप यो सडक निर्माण भएको राजदूत पोलिटले जनाउनुभयो ।

उहाँका अनुसार परियोजनामा सफलताले स्थानीय नागरिक, सरकारका विभिन्न निकायहरु एक ठाउँमा हुँदा ठूलो परिवर्तन संभव छ भन्ने देखाउँछ । सडक सञ्चालनमा आएसँगै खाद्यान्नमा ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आएको उहाँको भनाई थियो ।

सडक निर्माणको अवधिमा चार हजार चार सय भन्दा बढी स्थानीय श्रमिकहरुलाई रोजगारी दिइएको र श्रमशक्तिको ३५ प्रतिशत भन्दा बढी महिलाहरु सहभागी गराइएको महिला पुरुषलाई समान ज्याला दिइएको र सडक निर्माणका क्रममा काम जोडिएका श्रमिकले रु.आठ लाख बराबरको आम्दानी गर्न पनि सफल भएको बेलायत सरकारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्