OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

साहित्य समाजद्वारा सुवेदी, पाण्डे र नेपाली सम्मानित

कथा कृति ‘जियरा’ रु.५० हजारको कृति पुरस्कार

कोरपाटी संवाददाताआश्विन ८, २०७९सुर्खेत
५४९ पटक

८ असोज २०७९, शनिबार

कर्णाली साहित्य समाज सुर्खेतद्वारा इतिहासकार प्राडा.राजाराम सुवेदी, आख्यानकार नयनराज पाण्डे र बरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली सम्मानित हुनुभएको छ । तीनै जना स्रष्टालाई समाजले आज वीरेन्द्रनगरमा आयोजित सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममार्फत समाजले सम्मानत गरेको हो ।

कार्यक्रममा आख्यानकार नयनराज पाण्डेद्वारा लिखित कथा कृति ‘जियरा’लाई रु.५० हजारको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार, २०७७’ प्रदान गरिएको छ ।

कर्णाली साहित्य समाज सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजित सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममार्फत उक्त कृतिलाई रु.५० हजार ‘कृति पुरस्कार’ प्रदान गरेको हो । आख्यानको नवीनतम् विषयवस्तु, शिल्प र शैलीको प्रयोगद्वारा तराई र मधेशका समाजमा विद्यमान कुप्रथा, रुढीबादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै कथा कृति ‘जियरा’ले आम नागरिकका दुःख पीडा र भोगाईहरु उद्घाटन सफल भएकोले पुरस्कृत गरिएको समाजका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै, साहित्य समाजद्वारा कर्णालीको लोक नृत्यलाई रंगमञ्चका माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन योगदान दिएको भन्दै बरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीलाई रु.२५ हजार राशीको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार, २०७७’ प्रदान गरिएको छ ।

त्यसैगरी, इतिहासकार प्राडा.राजाराम सुवेदीलाई ‘कर्णाली साहित्य समाज साधना सम्मान, २०७७’ बाट समाजले सम्मान गरेको छ । मध्यकालीन् डोटी राज्य, २०५६, अछामको इतिहास, २०५६ जस्ता ऐतिहासिक महत्वका बहुमूल्य कृतिको सृजनाद्वारा कर्णाली प्रदेशको अभिलेखन गरी नेपालको इतिहासलाई समृद्ध बनाउन योगदान गरेको भन्दै समाजले प्राडा.सुवेदीलाई सम्मान गरेको हो ।

उक्त सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा बोल्दै प्राडा.सुवेदीले मुलुकभरि घुमेपनि सबै थोक कर्णालीमा पाइने गरेको बताउनुभयो । इतिहास र भूगोलबीचको अकाट्य सम्बन्ध भएको बताउनुभएका उहाँले इतिहासलाई चट्टानको उपमा दिँदै यसले समाजलाई दिनैपरे सिलाजित उपलब्ध गराउने तर्क गर्नुभयो ।

आख्यानकार पाण्डेले काठमाडौंले मधेशलाई हेर्ने दृष्टिकोण कमजोर भएको जिकिर गर्नुभयो । विविधताले भरिएको नेपाली समाजमा वैभव र भाषाको सुन्दरता भएको जनाउँदै उहाँले लेखक आफैले बोलेर बढीचढाईं गर्ने भन्दा कृति आफैले बोल्ने बताउनुभयो ।

बरिष्ठ नृत्य निर्देशक नेपालीले भन्ने राष्ट्रले दिन नसकेको सम्मान कर्णाली साहित्य समाजले प्रदान गरेर साँगीतिक जीवनलाई थप उर्जाशील बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा प्रतिभान स्रष्टा लुकेर बसेका छन् । यसलाई खोज्ने काम साहित्य समाजले गरेको छ ।” निष्पक्षतालाई मूलमन्त्र बनाएर सम्मान गरेको भन्दै उहाँले समाजप्रति आभार प्रकट गर्नुभयो ।

समाजका संस्थापक तथा संरक्षक महेशविक्रम शाहले कर्णालीको इतिहास, कला, साहित्यको उत्खनन् गर्न बाँकी रहेको जनाउँदै पुरस्कृत एवं सम्मानित व्यक्तित्वहरुलाई यहाँको कथा, इतिहास र संस्कृतिका क्षेत्रमा दरिलो कलम चलाउन आग्रह गर्नुभयो । उहाँले साहित्यले समाजलाई जोड्दै गर्दा राजनीतिले तोड्ने काम गरेको टिप्पणी गर्नुभयो ।

उक्त कार्यक्रममा कर्णाली साहित्य समाजका उपाध्यक्ष देवकी तिमिल्सिनाले कर्णाली कमजोर नभएको जिकिर गर्दै यहाँको कला, संस्कृति र साहित्यको उत्खनन् गर्ने कार्य अगाडि बढेको बताउनुभयो । कार्यक्रममा विभिन्न विधामा आवद्ध लेखक, कवि, कवयित्री, मुक्त तथा गजलकारलगायतका साहित्यकारहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्