OnlinePana

आज : २०८१ पौष ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन ५, २०७९जुम्ला
१६४० पटक

५ असोज २०७९, बुधबार

कर्णालीमा पाइने प्राकृतिक तालहरु मध्येको तातोपानी गाउँपालिका ४ जुम्लामा अवस्थित गिडी दह एक महत्वपूर्ण ताल हो । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा रहेको गिडी दहसम्म पुग्ने सडक तथा पदमार्ग नभएकोले अहिलेसम्म यसको अपेक्षाकृत प्रचार प्रसार हुन सकेको छैन ।

पहाडहरुको खोँचमा रहेको उक्त ताल वरिपरि जंगलै जंगल छ । हिमाली भेकमा पाइने कोणधारी जंगलले ताल ढाकिएको छ । निकै निलो र रक्स्यानो (डरलाग्दो) देखिने उक्त तालमा पुग्न कोही आँट नै गर्दैनन् । त्यहाँ गए छा (भूत) लाग्छ भन्ने विश्वास त्यहाँका स्थानीयले गर्दै आएका छन् ।

गाउँपालिकाबाट त्यहाँ पुगेर फर्कन चार दिन लाग्ने गर्दछ । त्यही चार दिनको यात्रा तय गरेर तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई नेतृत्वको ७५ सदस्य टोली मंगलबार गिडी दह हिडेको छ । साथमा उपाध्यक्ष रेवती रावल पनि भ्रमणमा जानुभएकाे छ । प्रचार प्रसारको जिम्मा लिएर नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही नेतृत्वको एक दर्जन पत्रकार सञ्चारकर्मीहरु पनि टोलीमै सहभागी भएको छ ।

विशेषगरी ताल भ्रमणको अख्तियार र समन्वय गर्ने वडानं.४ हाँकुका वडाध्यक्ष अमरबहादुर रोकाय, स्थानीय राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्षहरु, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापा, विषयत शाखाका प्रमुख, सुरक्षा, ट्रेकिङ र प्राविधिक जनशक्ति सम्मिलित टोली पहिलो पटक तालको पहिचान र सार्वजनिकीकरणका लागि अवलोकन भ्रमणमा हिडेको अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो ।

“हामी हिँजो हाँकुबाट हिडेर गिडी खोला, भाडु, रातामाटा हुँदै बेलुका फुल्चाँउले पाटनमा बास बस्यौं,” उहाँले भन्नभयो, “आज मौलाहाल्न, तामाचौर, ऐरीजाल गैरीगुम हुँदै साँझ तालमा पुग्छौं । बेलुकाको बास ताल किनारमै गर्छौं ।” जिपिएससहितको प्राविधिक टोलीले तालको लम्बाई, गहिराई, चौडाई र उचाई (अवस्थिति) नापजाप गरी यथार्थ विवरण लिएर भोलि फर्कने उहाँले बताउनुभयो ।

उहाँका अनुसार गिडी दहसँगै पाँचसय पाटन, भण्डारखोला वन र अन्य तालको विवरण पनि अभिलेखीकरण गरिने छ । गाउँ सरकारले त्यहाँ भएका प्राकृतिक स्रोतहरुको पहिचान, संरक्षण, सम्वद्र्धन गरी पर्यटन विकासमा जोड दिने मूल उद्देश्य राखेर पहिलो पटक अवलोकन भ्रमणको कार्यक्रम राखेको उहाँले जनाउनुभयो ।

तातोपानी गाउँपालिका वडा नं.४ का वडाध्यक्ष रोकायले पालिकाको शिरको सम्पन्नता सार्वजनिक गरेर त्यसको महत्व र आकर्षणलाई संसार माझ पुर्याउने बताउनुभयो । कर्णालीको महत्वपूर्ण पर्यटकीयस्थ मध्येको गिडी दहलाई यस पटकको भ्रमणले पूर्वाधार निर्माणको रुपरेखा तयार गर्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने नीति तथा गुरुयोजना निर्माणमा सहयोग पुग्ने उहाँको भनाई छ ।

‘गिडी दह होइन, गिरि ताल हो’

भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङ्ले विसं.२०३०÷०३१ सालतिर गिडी दह (गिरि ताल) सम्म जाने प्रयास गरेपनि उच्च हिमाली भेकको हिमपात र बाटोको असहजताका कारण त्यहाँ पुग्न नसकेको स्थानीय बताउँछन् । त्यस यता खास्सै कुनै सरकारी निकाय वा अन्य संघ÷संस्था, संगठन र आधिकारिक समुह गएको पाइदैन ।

सबैको पहुँच नभएर होला अहिलेसम्म उक्त तालसम्म जाने बाटो छैन । त्यहाँ पुग्ने बाटो र बीचमा बस्ने बास नहुँदा एकाद मानिस बाहेक अरु त्यहाँ पुगेको छैन । सामान्यताः गिडी दह भनिएपनि राष्ट्रियस्तरमा त्यसको प्रचार प्रसार हुन सकेको देखिदैन । ताल दक्षिण पूर्वी क्षेत्रमा शंख दह, पाले दह, जोगिनी दहलगायत अन्य तालहरु पनि छन् ।

तालसम्म पुग्ने खास बाटो नभएपनि यतिबेला भ्रमणमा हिडेको अध्यक्ष चौलागाईंको टोलीले आफै बाटो पहिल्याएर त्यहाँ पुग्ने छ । करिब चार दिनको, चिसो र उकालो बाटोमा हिड्नु पर्ने हुँदा त्यहाँको यात्रामा जानेहरुले निकै बन्दोबस्तीका साथ जानुपर्दछ । ब्लड प्रेस, दमलगायतका दीर्घ रोगीहरुलाई हाई अल्टिच्यूड लाग्ने खतरा हुने भएकोले उनीहरुले यात्रा पूर्व नै ध्यान पुर्याउनुपर्ने देखिन्छ ।

भ्रमण टोलीका सदस्य एवं सामाजिक अभियान्ता दुर्गाप्रसाद पाण्डेले गिडी दहका नामले चिनिए पनि त्यसलाई गिरि ताल भन्नुपर्ने बताउनुभयो । “गिरि भनेको पहाड हो । दह भनेको गिरिबाट खसेर जम्मा भएको पानीको संग्रह हो,” उहाँले भन्नुभयो, “गिरिलाई अपभ्रंस गरेर गिडि भनियो यद्यपि हुने गिरि नै हो र दहलाई ताल भन्दा अब गिरि ताल नै हुन्छ ।”

तालको रोचकतालाई बयान गर्दै अभियान्ता पाण्डेले भन्नुभयो, “किंवदन्ती अनुसार धेरै पहिले गाउँका मान्छेहरु शिकार खेल्न त्यहाँ पुगे । दहको किनार (छेउ)मा रुखका पातपतिङ्गर भएकोले उनीहरु त्यही बास बसे । भोजपत्रलगायतका ठूला काठहरु जम्मा गरेर भात पकाए । आफू बसेको मुनितिर दह र बरफ जमेको छ भन्ने कुराको हेक्का उनीहरुलाई भएन । आगोले उक्त भाग तात्दै जाँदा आगो वरिपर सबेका सबै शिकारी त्यही डुबेर मरे ।” त्यसपछि त्यहाँ मान्छे जान छोडेको उहाँले बताउनुभयो

आफू भने पाटनमा घोडी खोज्ने क्रममा २०४८÷०४९ साल तालमा पुगेको अभियान्ता पाण्डेले बताउनुभयो । “घोडी खोज्न जाँदा पाटनमा पुरै कुहिरो लागेर अँध्यारो जस्तै थियो । पछि कुहिरो हट्दै जाँदा त म तालको छेउमा पुगेको रहेछु,” उहाँले भन्नुभयो, “हेर्दा त निकै गहिरो र निलो ताल देखियो । त्यो देखेपछि मलाई डरपनि लाग्यो ।”

उहाँका अनुसार प्रकृति प्रदत्त गिरि ताल आफैमा अद्भूत छ । पहाड र जंगलले घेरिएर सालिन अवस्थामा बसेको छ । त्यसबाट जब पानी तल बगेर आउँछ, त्यसलाई गिरि खोला भनिन्छ । जो हाँकु गाउँ पुगेपछि तिला नदीमा मिल्छ । मनोरम दृश्य बोकेर प्रकृतिको काखमा रहेको तालको प्रचारमा राष्ट्रिय पहुँच नपुग्दा आजसम्म पनि त्यसको महत्व बढ्न नसकेको उहाँको भनाई थियो ।

तालकाे तस्वीर: उमेश राेकायकाे ब्लगबाट ।

प्रतिकृया दिनुहोस्