
२१ साउन २०८२ बुधबार
कर्णाली प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
अधिवेशन अन्त्यका लागि मुख्यमन्त्री कार्यालयबाट प्राप्त सिफारिस अनुसार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चालु छैटौं अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो ।
सभामुख गुरुङले चालु छैटौं अधिवेशनमा ३४ बैठक बसी ६४ घण्टा ४२ मिनेट ४० सेकेण्ड समय सभामा ब्यतित भएको बताउनुभयो । उहाँका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको आज बसको ३४औं बैठकबाट कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।