OnlinePana

आज : २०८२ साउन २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २४, २०८२
६५ पटक

२३ साउन २०८१, शुक्रबार

माटो, वातावरण, जलवायु, खेती प्रणाली र उत्पादित कृषि उपजका दृष्टिले कर्णाली अन्य प्रदेशभन्दा प्राङगारिक प्रदेशका रुपमा मानिदै आएको छ । कर्णाली प्र्रदेश सरकारले विसं.२०७५ सालदेखि प्राङगारिक प्रदेश निर्माणका लागि लिएको अभियानअन्तरगत प्राङगारिक खेती प्रवद्र्धनमा सहयोग पुग्ने कार्यक्रमहरुमा जोड दिएको छ ।

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्ला सात वर्षदेखि प्राङगारिक कृषि प्रवद्र्धनका लागि अनुदानमा जैविक सामग्री वितरण, प्रयोगशालामा जैविक कीटनाशक उत्पादन, र रासायनिक कीटनाशकका नकारात्मक असरबारे जनचेतना फैलाउने कामका साथै कृषक पाठशालाको आर्थिक तथा प्राविधिक सहयोगमा प्राङगारिक खेतीमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्दै आएको कृषिमन्त्री बिनोदकुमार शाहले बताउनुभयो ।

उहाँका अनुसार प्रदेशको प्राङगारिक खेतीको उत्पादनमा वृद्धि, जनशक्ति उत्पादन, बजारीकरण र त्यसको दीगोपनसम्बन्धी पाँच दिने अन्तर्राष्टियस्तरको प्राङगारिक खेतीसम्बन्धी तालिम आज सम्पन्न भएको छ । खाद्य तथा कृषि संगठन (एफएओ)सँगको सहकार्यमा काठमाडौँस्थित रोयल थाइ दूतावासद्वारा सुर्खेत वीरेन्द्रनगरमा साउन १८ गतेदेखि सञ्चालित तालिम उपलब्धिमूलक हुने उहाँको भनाई थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै थाइ मन्त्रीका सल्लाहकार एवं मिसनका निमित्त प्रमुख मनसुभी मनासाकुलले पहिलो पटक थाइ सरकार, एफएओ र नेपाल सरकारको सहकार्यमा नेपालमा प्राङगारिक खेतीसम्बन्धी गरिएको तालिमले नेपाल र थाइल्याण्डबीचको मित्रता र सहकार्य महत्वपूर्ण कडी बन्ने बताउनुभयो । उहाँले थाइ राजदूतावासको तर्फबाट कर्णाली प्रदेश, कृषि विशेषज्ञ तथा साझेदारहरुसँग सहकार्य गर्न पाउँदा ठूलो सम्मानको अनुभव भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “अर्गानिक खेतीले दिगो भविष्यतर्फको बाटो देखाउँछ । यसले खाद्य सुरक्षा मजबुत पार्नुका साथै स्थानीय जीविकोपार्जनलाई सहयोग गर्छ । वातावरणसँगको सद्भावले दिगो अभ्यासलाई पनि प्रवद्र्धन गर्छ । हामी आशा गर्छौं कि यो तालिमबाट प्राप्त ज्ञान, अभ्यास र प्राङगारिक उत्पादनमा प्राप्त उच्च अनुभवले यहाँहरुलाई थप सक्षम बनाउनेछ ।”

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले तालिमबाट प्राप्त ज्ञान सीपले कर्णालीको प्राङ्गारिक कृषि प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । “नेपाल सरकार र थाइ सरकारको संयुक्त प्रयासमा प्राङ्गारिक कृषि प्रवद्र्धनको लागि भएको पहल मननयोग्य छ । थाइल्यान्डको कृषि र कृषि उपजको प्रशोधन र गुणस्तर कायम संसारमा अनुकरणीय भएको देखिन्छ,” उहाँले भन्नुभयो ।

मन्त्री शाहले कर्मचारीहरुलाई अन्तराष्ट्रियस्तरको तालिममा सहभागी गराउँन कठिन भएकोले यस तालिमबाट सात जना विज्ञहरु नै कर्णालीमा आएर प्रशिक्षण गराउँदा एक उपलब्धिमुलक र सबैको ज्ञान सिपमा क्षमता अभिवृद्धि भएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार सैद्धान्तिक र व्यवहारिक ज्ञानको प्रयोग नै यो प्रशिक्षण कार्यको महत्वपूर्ण पाटो बन्यो ।

मन्त्री शाहले तालिमबाट प्राङगारिक प्रविधिमा थाइ सरकारले लिएको नीति तथा कार्यक्रमको बारेमा जानकारी, कृषि उपजमा गरिने प्रशोधन र बजारीकरणबारे जानकारी दिनु प्रसंशायोग्य भएको बताउँदै थाइ राजदूतावासका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । तालिमले सहभागीहरुको क्षमता अभिवृद्धिमा योगदान पुगेको उल्लेख गर्दै आगामी दिनहरुमा पनि दुई देशबीच कृषि क्षेत्रको विकासको लागि सहयोग र समन्वय हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्राङगारिक प्रदेश निर्माणको अभियानलाई सहयोग पुगोस् भन्ने ध्येयका साथ मन्त्रालयले जैविक कृषि प्रवद्र्धनका लागि विशेष ऐन र नियमहरुले ल्याएकोले थाइल्याण्डबाट सिकेको दीगो कृषि प्रणालीका उत्कृष्ट अभ्यासहरु सम्बन्धी सीप र ज्ञान अँझ बढी लाभदायी हुने जनाइएको छ । उक्त पाँच दिने तालिममा कर्मचारी, कृषक, व्यापारी र एग्रोभेटका सञ्चालकहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्