१५ असार २०७९, बिहीबार
हरेक वर्ष असार १५ गते राष्ट्रव्यापीरुपमा धान दिवस मनाउने गरिन्छ । याे दिनलाई दहीसँग च्यूरा खाने दिनका रुपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने दिनलाई सरकारले १९औं राष्ट्रिय धान दिवस ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ बुधबार भोव्म ढंगले मनायो ।
धान दिवस कर्णालीमा झैं रोपाइँ गरे देशभर मनाइयो । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालयको संयोजनमा वीरेन्द्रनगर नगपालिका १० सुर्खेत मणिकापुर थारु बस्तीमा धान दिवस मनायो ।
जुम्लामा भने यस अघि जेठ १५ गते कालीमार्सी धान दिवस मनाइसकेको छ । प्रदेश सरकारले हरेक वर्ष चैत्र १२ गने यो प्रदेशका नौ जिल्लाबाहेक जुम्लालाई मात्र सार्वजनिक विदा दिँदै आएको छ ।
आज भने जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । जुम्लामा मार्सी धानको यतिबेला किसानहरुले गोडमेल गरिरहेका छन् । प्रदेश एउटै भएपनि भौगोलिक विविधता र विशिष्टताले मार्सी धानले आफै ऐतिहासिक र साँस्कृतिक महत्व एवं गरिमा बोकेको छ ।
संसारको सर्वाधिक उचाईमा धान फल्ने स्थान जुम्ला पातारासी गाउँपालिकाको छुमचौर ज्यूला, कालीमार्सी धान, लक्षालकृति पैकेलो (शूरबीर) र चन्दननाथ बाबाबीच अन्योन्याश्रिशत सम्बन्ध छ । छुमचौर प्रकृति प्रदत्त भूमि हो भने कालीमार्सी देशको शीर्ष नेतृत्व, उच्च अधिकाकारीदेखि तत्कालीन् राजा महाराजाहरुले सान र सौकातको खानाको रुपमा प्रयोग गर्दै आएको उच्च मूल्यको रैथाने खाद्य बाली हो ।
त्यस्तै, काली मार्सी धानको इतिहास, महत्व र विशेषतासँग मूलतः लक्षालकृति पैकेलो, चन्दननाथ बाबा र उच्च स्थान जोडिदै आएको छ । कालीमार्सी धानको इतिहाससम्बन्धी जानकारहरुका अनुसार यसको प्रतिपादक लक्षालकृति पैकेलो र चन्दननाथ बाबा त्यसको प्रवद्र्धक भन्ने बुझिन्छ । साविकको तातोपानी तथा हालको तातोपानी गाउँपालिकामा कन्या आमाको गर्भबाट अवैधरुपमा जंगलमै जन्माइएका र जंगलमै हुर्किएका लक्षालकृति असाधारण व्यक्ति भएको र उनले कालीमार्सी धान पत्ता लगाएको किंवदन्ती छ ।
इतिहासम्बन्धी जानकार रामकृष्ण बुढ्थापाले जंगलमा हुँर्कदैको अवस्थामा पैकेलले धानको साउँ (धान मार्ने झार) जस्तो अन्न खाएर बाँचेकोले र उनैले यो कालीमार्सी धान पत्ता लगाएको उल्लेख गर्नुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “तत्कालीन समाजसुधारक तथा सृजनशील सोचका व्यक्तित्व चन्दननाथ बाबाले आफु धान खेती गर्दै गर्दा तातोपानी गाउँपालिकाको हालको लाक्षु ज्यूलोमा रहेको ‘गुरु फोक्टो’मा लक्षालकृतिलाई नै रोपेर परीक्षण गर्न लगाएको पाईन्छ ।”
गुरु फोक्टोमा पहिलो पटक यो धान रोपेको र त्यसपछि जुम्लाका सबै स्थानमा बाबाले कालीमार्सी धान बालीे खेतीको विकास एवं विस्तार गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कालीमार्सी धान भारतको काश्मीरबाट ल्याइएको भनेर विभिन्न ठाउँमा उल्लेख गरिएपनि यो जुम्लामै पत्ता लगाइएको हो । पैकलाले नै मार्सी धानको प्रतिपादन गरेको तथ्यलाई सत्य मान्न सकिन्छ ।”
बुढ्थापाले मार्सी धानको वास्तविक इतिहासलाई तोडमोड गरेर लेखिनु दुर्भाग्य भएको औंल्याउनुभयो । उहाँका अनुसार यस्ता किसिमका कुतर्क र काल्पनिक कुराले कालीमार्सी धानको बौद्धिक सम्पतिमाथिको अधिकार गुम्ने खतरा बढ्दै जान्छ र यसमा राज्य नै होसियार हुनुपर्दछ ।
कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य कालीमार्सी धान बालीको खेती ११औं शताब्दीतिर जुम्लामा शुरु गरिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कालीमार्सी यदि काश्मीरबाट ल्याइएको हो भने त्यहाँ उत्पादन गरेको खै त ?” प्रश्न गर्दै उहाँले भन्नुभयो, “अहिले पनि हामी त्यहाँ कालीमार्सी धान उत्पादन गरिन्छ भन्ने देखेका, सुनेका र पढेका छैनौं ।” संस्कृतिसम्बन्धी जानकार आचार्यले मार्सी धानको प्रतिपादन र प्रवद्र्धनमा पैकलो र गुरु चन्दननाथ बाबाको योगदान रहेको बताउनुभयो ।
ऐतिहासिक विरासत बोकेको कालीमार्सी धान समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाईसम्म उत्पादन हुँदै आएको छ । धानखेतीका हिसाबले संसारको उच्च भागमा पर्ने जुम्लाको पातारासी गाउँपालिकाको छुम गाउँस्थित छुमचौर ज्यूलोमा फल्ने भएकोले यो विश्वभर चर्चित छ । यसो हुनुलाई जुम्लाले ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक संयोजन र संगम मान्दछ ।
हाल जुम्लामा दुई हजार ९५० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । त्यस मध्ये एक हजार ५०० हेक्टर जमीनमा काली मार्सी धानबाली खेती गरिएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ४५० हेक्टर जमीनमा चन्दननाथ १ र ३ जातको धानबाली लगाइएको छ । यो धान प्रतिहेक्टर ३० क्वीन्टलका हिसाबले कुल उत्पादन ४३ हजार ५०० क्वीन्टल हुन्छ ।
“कालीमार्सी धान प्रति हेक्टर २३ क्वीन्टलका दरले एक हजार ५०० हेक्टर क्षेत्रफलमा कुल ३४ हजार ५०० क्वीन्टल उत्पादन हुन्छ,” कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, “पछिल्लो समयमा कालीमार्सी चामलको बजार माग र मूल्य बढेका कारण किसानहरु यसमा आकर्षित हुँदा बिगत् भन्दा यस वर्ष कालीमार्सी धान खेतीको क्षेत्रफल बढेको हो ।” एक दशकसम्म ब्लाष्ट रोगले दुःख दिएपछि अहिले बीउको उपचार गरिएको र त्यसको प्रभाव कम हुँदै जाँदा यसको खेतीमा किसानको आकर्षण बढेको उहाँले बताउनुभयो ।
कालीमार्सी धानको विशेषता
कालीमार्सी धान खेतीको तयारी चैत १२ गते देखिन्छ गरिन्छ जसलाई ‘बारुवा’ भनिन्छ । जुम्ली मान्यता अनुसार त्यो दिन कालपहाडबाट नफर्कने जो कोहीको मृत्यु भयो भन्ठान्ने प्रचलन आजपर्यन्त पाइन्छ । १२ गते केलाएर असल बीउ सकेसम्म अल्लो वा भाँगोबाट बुनेको बोरोमा हालेर चार दिनसम्म पानीमा भिजाइन्छ । चैत १६ गते यसलाई पानीबाट झिकेर उक्त बीउ घरको मैडो (चुलो नजिक बस्ने ठाउँ) मा फेरुवा (बाख्राको बग्रालबाट बुनेको कपडा) मा न्यानो पारी ढाकेर राखिन्छ । जुन दिनलाई ‘सोरुवा’ भनिन्छ ।
चैत १६ गतेदेखि न्यानो पारेर राखेको मार्सी धानको बीउ पुनः २० गते खोलिन्छ जतिबेलासम्म बीउमा टुसा उम्रिसकेको हुन्छ । टुसा उम्रेको बीउलाई तयार पारेको बेर्नामा किसानहरुले छर्दछन् । त्यही दिनलाई ‘विसुवाँ’ भनिन्छ जुन दिन मार्सी चामलको खाना, मकैबाट बनेको पुवा, सेल रोटी, खीरलगायतका मिठामिठा परिकार खान्छन् र राम्रो लुगााका साथमा युवायुवतीहरु धानखेती गर्ने ज्यूलोमै गएर सुख दुःख साटासाट गर्दछन् ।
वैशाखको दोस्रो सातादेखि रापेर असार १० गतेसम्म मैजाडो फाल्ने र कार्तिकमा भण्डारण गरिने मार्सी धानको चामल फिक्का रातो हुन्छ र पकाउँदा भात अरुभन्दा गिलो हुन्छ । साह्रो भन्दा अलि गिलोमा मिठो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी, कार्बोहाईड्रेड, भिटामिन, फ्याटलगायतका तत्व पाइने, खाँदा आडिलो र चाँडै भोक नलाग्ने प्रकृतिको हुने गरेको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिनुभयो ।
“हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सी चामलको महत्वपूर्ण विशेषताका र उच्च मूल्यका कारण देशका सम्भ्रान्त वर्गले र सम्पन्न शहरले मगाएर खान्छन् । यो निकै स्वादिष्ट पनि हुन्छ,” प्रवक्ता कठायतले भन्नुभयो, “पछिल्ला वर्षहरुमा यसको बजार झनै फराकिलो बन्दै गएको छ ।” मानव स्वास्थ्यका लागि अन्त्यन्तै लाभदायक मानिने रैथाने बाली मार्सी धान संरक्षण, प्रवद्र्धन र सम्वद्र्धन एवं यसको बौद्धिक सम्पतिमाथिको अधिकार लिन नेपाल सरकारको उच्च पहल हुनुपर्ने उहाँको भनाई थियो ।
के छ त मार्सीको बजार मूल्य ?
विसं.२०७५ सालमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई मार्सी चामलको खाना खुवाएपछि यसको चर्चा निकै चुलियो । त्यस घटनाले मार्सी चामलको महत्व, मूल्य र इतिहासलाई अँझ बढी केलाउन सहयोग ग¥यो । धेरैले पूर्व प्रधानमन्त्रीहरुलाई मार्सी चामलको भातसँग जोडेर ‘किचेन क्याबिनेट’ भनेर पनि लेखे । त्यस घटनाले यसको बजार माग पनि ह्वात्तै बढायो ।
यसबारे थाहा नपाएका नेपाली नागरिकलाई पनि मार्सीको महत्व र विशेषताबारे जानकारी दियो । त्यस्तै, ०७५ सालमै डा.गोविन्द केसीले जुम्ला पुगेर काली मार्सीको ‘भोजन’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययन शुरु गर्नुपर्ने माग राख्दै अनशन गर्नुभएको थियो ।
ती विविध घटनाको परिणाम पछि खोजी खोजी यो चामल किन्नेहरुको संख्या बढ्यो । अहिले यसको बजार मूल्य जुम्लामा प्रति केजी रु.१८० हुँदा काठमाडौंलगायतका देशका विभिन्न शहरहरुमा प्रति केजी रु.२५० पुगेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिनुभयो ।
“चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अहिले रु.४० लाखको मार्सी चामल संकलन गरेको छ,” कार्यकारी व्यवस्थापक पाण्डेले भन्नुभयो, “उक्त चामल नेपालका भैरहवा, बुटवल, चितवन, पोखरा, विराटनगर र धरानसम्म संस्थामार्फत हामीले बेचेका छौं ।” बजार माग निकै बढेकोले आपूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो ।
कर्णालीका प्राकृतिक, धार्मिक, साँस्कृतिक पर्यटकीय क्षेत्र भ्रमण गर्न आउने अधिकांश पर्यटकहरुले मार्सी चामलाई नै प्रमुखतामा राखेर कोशेली लिने गरेको उहाँले बताउनुभयो । व्यवस्थापक पाण्डेका अनुसार अहिले अमेरिकारले चालीस क्वीन्टल मार्सी चामल पठाउन आग्रह गरेको छ । अफसिजन भएकोले त्यसको जुगाड गरेर पठाउने तयारी गरिरहेका छौं । मार्सीको अन्तर्राष्ट्रिय बजार मूल्य प्रति केजी रु.५०० देखि ७९० रहेको उहाँको भनाई छ ।
विसं.१९०४ मा जंगबहादुर प्रधानमन्त्री हुँदादेखि मोहन शमशेरको पालासम्म हुलाकबाट प्रतिदिन एक माना चामल पठाउने गरेको काली मार्सी चामल पठाउने क्रम तत्पश्चात् प्रशासनिक रुपमा भंग भएको छ । अहिले किसानको मेहनतलाई लागतसँग जोडेर उच्च मूल्यमा बिक्री हुने कालीमार्सी धान उत्पादनमा किसानहरु पनि उत्साहित हुँदै गएका छन् ।
जुम्लामा मात्र उत्पादन भएपनि काली मार्सी चामलले अन्तराष्ट्रिय बजार लिइसकेको छ । यसले भाषा, साहित्य, कला, संस्कृतिको उद्गमस्थल जुम्ला सिंजा, कर्णाली र सिंगो नेपाललाई विश्वमाझ चिनाउन ठूलो योगदान पुर्याएको छ ।
अन्त्यमा, यसबाट प्राप्त हुने तत्व र महत्व दुवैलाई विश्व बजारले बुझिसकेको छ । तथापि मार्सीप्रतिको बढ्दो मोह र घट्दो उत्पादन किसानका साथै सरकारका लागि ठूलो चुनौतिको विषय बन्दै गएको छ । तसर्थ, बजारको माग अनुसार मार्सी धानको उत्पादनमा वृद्धि र संरक्षण गर्नतर्फ नेपाल सरकार बेलैमा विशेष ध्यान दिनुपर्दछ ।