OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २, २०७९सुर्खेत
८०५ पटक

२ असार २०७९, बिहीबार

कर्णाली प्रदेश सरकारले प्रदेशका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयको दक्षिणतर्फ पर्ने वीरेन्द्रनगर नगरपालिका ७ ईत्राम सुर्खेतको जमीनमा निर्माण गर्ने योजना बनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमको विस्तृत जानकारी दिन आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एवं योजनामन्त्री विन्दमान विष्टले ‘कर्णाली सिंहदरबार’ निर्माणका लागि आगामी आव.२०७९÷०८० मा रु.१५ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । प्रवक्ता विष्टले एकीकृत प्रशासनिक सेवा प्रवाहका लागि प्रदेशका आठवटै मन्त्रालय एउटै हाताभित्र रहने संरचना निर्माण गर्न थालेको बताउनुभयो ।

“हामीले गत आर्थिक वषमै प्रदेश सरकारका मन्त्रालयहरु एकै ठाउँमा बनाउन खोजेका थियौं,” उहाँले भन्नुभयो, “त्यसका निम्ति सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार पारेको थियो । तर संगठन संरचना फेरबदल हुँदा अब पुनः डिपिआर गरी निर्माण कार्यलाई अघि बढाउँछौं ।”

‘कर्णाली सिंहदरबार’ को ढाँचामा संरचना निर्माण गर्दा प्रदेश सरकारका मन्त्रालय र अरु केही सरकारी कार्यालय पनि त्यसभित्र पर्न सक्ने जनाउँदै मन्त्री विष्टले त्यसको चारैतर्फ पर्खाल, त्यसभित्र मन्त्रालयसहित खुलामञ्च, सभाहल निर्माण गरिने बताउनुभयो । यसका लागि आगामी आर्थिक वर्षको पहिलो महिनामै कार्य थालनी गरिने उहाँको भनाई थियो ।

आर्थिक सचिव झक्कप्रसाद आचार्यले ‘कर्णाली सिंहदरबार’ भित्र सभाहल बनाउन रु.दुई करोड, पर्खाल निर्माणमा रु.पाँच करोड र मन्त्रालय निर्माणका लागि रु.आठ करोड छुट्याइएको जानकारी दिनुभयो । “आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडिको जग्गामा ‘कर्णाली सिंहदरबार’ को संरचना निर्माण हुनेछ,” सचिव आचार्यले भन्नुभयो, “उक्त संरचना बनाउनका लागि साढे दुई बिघा क्षेत्रफलको जमीन छ र त्यसलाई बढाउन पनि सकिन्छ ।”

‘कर्णाली सिंहदरबार’ निर्माण गर्न सकिए यहाँका नागरिकहरुलाई एकै ठाउँबाट सेवा प्रवाह हुनुका साथै सुरक्षा सहजता मिल्ने जनाइएको छ । पूर्ववर्ती सरकारले पनि प्रदेश सरकारका सबै मन्त्रालयहरु एकै ठाउँमा हुने गरी मिनि सिंहदरबार बनाउने योजना अगाडि सारेको थियो ।

प्रतिकृया दिनुहोस्