OnlinePana

आज : २०८२ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २६, २०७९
४५३ पटक

२६ जेठ २०७९, बिहीबार

कर्णाली प्रदेश सरकारले प्रदेश लोक कल्याणकारी विज्ञापनको समानुपातिक वितरण गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

मंगलबार कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको आठौं बैठकमा प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रममा लोक कल्याणकारी विज्ञापनको समानुपातिक वितरण गर्ने नीति उल्लेख गरिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रम भनिएको छ, “प्रदेशभित्रका वर्गीकृत सञ्चार माध्यमलाई प्रदेश लोक कल्याणकारी विज्ञापन समानुपातिक रुपमा वितरण गरिनेछ । श्रमजीवि पत्रकारको स्वास्थ्य सुरक्षा, उत्प्रेरणा र व्यावसायिक दक्षता विकास गर्न पत्रकार कल्याण कोष र स्नातकोत्तर छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ ।”

बढ्दो साईवर अपराधका घटनालाई मध्यनजर गर्दै साईवर अपराध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, चलचित्र छायाँकनको लागि छनौट भएको दैलेख र कालिकोट जिल्लाको संगमस्थल महाबु क्षेत्रमा आवश्यक पूर्वाधार विकास गर्न नेपाल चलचित्र विकास बोर्ड र निजी क्षेत्रसँग समन्वय गर्ने उक्त नीतिमा उल्लेख गरिएको छ ।

‘समृद्ध कर्णालीको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मान्यता आत्मसात गर्दै विद्युतीय शासन गुरुयोजनाको कार्यान्वयन गर्ने, सार्वजनिक सेवालाई प्रभावकारी बनाउन, विद्युतीय तथ्याङ्कको भण्डारण र सुरक्षण गर्न तथा अन्य व्यवस्थापकीय कार्यमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिई विद्युतीय शासनको अवधारणालाई कार्यान्वयनमा ल्याउने कुरा नीतिमा समेटिएको छ ।

सञ्चार माध्यमको संस्थागत क्षमता विकास तथा सञ्चारकर्मीको पेशागत क्षमता अभिवृद्धिका क्रियाकलापमार्फत आमसञ्चार माध्यमलाई स्वच्छ, मर्यादित र व्यावसायिक बनाउने नीति लिएको प्रदेश सरकारले सञ्चार माध्यमको दर्ता, इजाजत, नवीकरण, नियमन र अभिलेखीकरण कार्यलाई थप प्रभावकारी बनाउने बताएको छ ।

 

प्रतिकृया दिनुहोस्