OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ६, २०७७
३६७ पटक

सुर्खेत, ५ बैशाख (रासस) : कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णालीमा दाना उद्योग स्थापनाको माग गर्नुभएको छ । नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालसँग सातै प्रदेशका कृषि मन्त्रीहरुबीच भएको भर्चुअल बैठकमा कृषिमन्त्री केसीले कर्णालीमा दाना उद्योग नहुँदा यहाँका किसानहरु अधिकतम् मारमा परेको बताउनुभयो ।

“दाना उद्योग नहुँदा कर्णालीले अहिलेसम्म आयातमा निर्भर छ,” उहाँले भन्नुभयो, “कोभिड–१९को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दीले यहाँका किसानहरु बढी पीडामा छन् ।” उक्त बैठकमा मन्त्री केसीले दाना आपूर्ति हुन नसक्दा ९१ हजार ३५७ लेयर्स जातका कुखुरा संकट पर्ने अवस्था देखिएको जनाउँदै बन्दाबन्दीले गत चैत्र ३० गतेसम्म कर्णालीभरि एक लाख ५८ हजार तयारी ब्रोइलर कुखुरा र दैनिक उत्पादित २४ हजार ३०० लिटर दुध र १५ हजार ९०० अण्डा बिक्री हुन नसकेको बताउनुभयो । संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री भुसालले कर्णाली प्रदेश सरकारले दाना उद्योग शुरु गरे स्रोत जुटाएर सहयोग गर्ने वचन दिनुभयो । मन्त्री भुसालले भन्नुभयो, “तपाई कर्णालीमा मकै भट्टमासलगायतका दाना तयार गर्न सक्नुहुन्छ भने चिन्ता नलिनुस्, हामी दाना उद्योगको लागि बजेट सहयोग गर्न तयार छौं ।”

आफूले पनि दाना र अण्डाका विषयमा मन्त्रिपरिषद् बैठकमा उठाउँदै आएको अवगत गराउँदै उहाँले कोभिड–१९ले पारेको प्रभावको यथोचित सम्बोधनका लागि ¥यापिड रेस्पोन्स टिम तयारी भएको र त्यसमा प्रदेश सरकारहरुको प्रतिनिधित्व हुने बताउनुभयो । कोरोना पछि पनि बाँच्नका लागि खाद्य संकट हुन सक्ने भन्दै मन्त्री भुसालले मुलुकको भविश्य देख्ने प्रमुख आधार कृषि भएको जनाउनुभएको थियो । भर्चुअल बैठकमा बन्दाबन्दीमा कृषि तथा खाद्यको स्थिति के ? तत्काल राहतका लागि के गर्न सकिन्छ र आगामी योजना के ? भन्ने विषयमा सातै प्रदेशका कृषिमन्त्री उहाँले छलफल गर्नुभएको थियो । बैठकमा सातै प्रदेशका कृषिमन्त्रीहरु किसानहरुको उत्पादित वस्तुलाई बजारीकरणमा सहजीकरण गर्न, उनीहरुको समस्याहरुलाई सम्बोधन गर्न, राहत तथा अनुदानमा सबै प्रदेश सरकारहरुले एउटै पद्धति तथा विधिबाट अगाडि जाँदा उपयुक्त हुने अवधारणा राखेका थिए । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्