OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २, २०७८सुर्खेत
७६५ पटक

२ पुस २०७८, शुक्रबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष बिमला केसीले प्रदेश सरकारले बालबालिकाको हितमा दीगो नीति ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

आज साझा घर नेपाल कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा आश्रित बालबालिकाको अवस्था अवलोकन गर्दै अध्यक्ष केसीले अभिभावकविहिन बालबालिकाको अभिभावक सरकार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “जनताको नजिकको सरकार प्रदेश सरकारले बालबालिकाको संरक्षणका लागि दीगो तथा प्रभावकारी नीति ल्याउनुपर्दछ,” उहाँले भन्नुभयो, “त्यसको कार्यान्वयनका लागि बजेट तथा कार्यक्रम आउनुपर्दछ, त्यसको पहल म गर्छु ।”

कर्णाली प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहनुभएकी अध्यक्ष केसीले सडक तथा अभिभावक बालबालिकाको संरक्षण तथा व्यवस्थापनका लागि सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रको सहकार्य पनि आवश्यक रहेको बताउनुभयो । विश्व इतिहासलाई केलाउँदा मायामा हुर्किएका भन्दा अभावबाट गुज्रिएका बालबालिकाहरु मुलुक बनाउने योग्य नागरिक बनेका दृष्टान्त थुप्रै रहेको जनाउँदै उहाँले पवित्र कार्य गर्ने साझा घरका सञ्चालकलाई धन्यवाद ज्ञापनका दिनुका साथै त्यहा रहेका सबै बालबालिकालाई निराश नहुन र साथमा सरकार हुने विश्वास दिलाउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले साझा घर नेपालले आश्रय दिएका ९६ बालबालिकालाई तत्काल पुस्तक, स्वास्थ्यलगायतका सहयोग दिन सकिने बताउनुभयो । सचिव काप्रीले भन्नुभयो, “तत्काल बजेट उपलब्ध गर्ने शीर्षक नरहेकोले बालबालिकाको भोलिको दिगो व्यवस्थापन गर्ने गरी कार्यक्रम राखेर सहयोग गर्छौं । उनीहरुलाई नीतिगतरुपमै सहयोग गर्ने गरी छलफल अघि बढाउँछौं ।”

राज्य तीन तहका सरकारहरुले आ–आफ्ना क्षेत्राधिकार भित्रका काम गर्नुपर्ने व्यवस्था रहेको बताउँदै उहाँले अनाथ, असहाय, सडक बालबालिकालाई गास, बास, कपास र शिक्षालगायतका आधारभूत कुराको प्रबन्ध मिलाएर राज्यले गर्न नसकेको मानव कल्याण जस्तो उदाहरणीय कार्य गरेको भन्दै साझा घरका सञ्चालकलाई धन्यावाद दिनुभयो ।

साझा घर नेपालका सञ्चालक विनोद चौलागाईले अनाथ, असहाय, टुहुरा, सडकमा छोडिएका अपाङ्गता भएकासहित ९६ बालबालिकाका लागि मुठीदान, जन्मोत्सव, विभिन्न पवित्र अनुष्ठान र चन्दा नै उनीहरुको व्यवस्थापनको स्रोत भएको बताउनुभयो । “हामीसँग अहिले ४६ केटा, २४ केटी, आठ जना अपाङ्गता भएका र एक दृष्टिविहिन बालबालिका छन्,” उहाँले भन्नुभयो, “व्यवस्थापनको दीगो स्रोत नहुँदा जटिलता भएकोले सरकारसँग सहयोगका लागि आग्रह गर्दै आएका छौं ।”

दिनेले कति दियो भन्ने भन्दा कति खुशीले दियो भन्ने कुरा प्रधान हुने भन्दै सञ्चालक चौंलागाईले साझा घरले कोट, गलबन्दी, टोपी, धोती, सौललगायतका स्थानीय उत्पादनमा पनि जोड दिईएको बताउनुभयो । निर्माण व्यवसायी मानवराज बमले साझा घरलाई आफूले एक हप्ताभित्र आवश्यक सहयोग गर्ने बताउनुभएको थियो । अध्यक्ष केसीले साझा घरमा रहेका बालबालिकाको व्यवस्थापनको अवस्था बुझ्नुको साथै उक्त घरले सञ्चालन घरेको घरेलु कपडा उद्योगको पनि अवलोकन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्