

नेत्र शाही/जुम्ला,
मंसिर २० गते । जुम्लाको सिंजा क्षेत्र कनकासुन्दरीमा होमस्टे संचालनमा ल्याईएको छ । पर्यटकलाई मध्यनजर गर्दै शान्त, सुरक्षित आवास र खाना नास्तको लागि स्थानीय सरकारको सिफारिसमा गैरसरकारी संस्था आईएनएफ र होटल व्यबसायीको संयूक्त लगानीमा होमस्टे सञ्चालनमा ल्याईएको हो ।
अगाडि सानो खोला, पछाडि स्याउ बगैचा, माथी हरियाली जंगल सफा सुन्दर स्थान गुठिज्यूलाको सिरानमा एप्पल गार्डेन होमस्टे सञ्चालनमा आउदा पर्यटक पनि रमाउन थालेका छन् ।
गुठिज्यूलामा बग्ने महेन्द्रमल्ली खोलाको किनारमा निर्माण भएको होमस्टेमा कनकासुन्दरी गाउँपालिका ५ निवासी निर्मल बुढा, श्रीमति निर्माया बुढाले रु तिन लाख रुपैया आफ्नो लगानी र रु चार लाख २० हजार आईएनएफ जुम्लाको सृजना परियोजनाको सहयोग गरि जम्मा रु सात लाख बिस हजार लगानीमा भवन निर्माण भई होमस्टे सुचारु गर्नुभएको छ । काठ र स्थानीय जुम्लाको ढुंगाले निर्माण भएको उक्त होम स्टेमा माथिल्लो तलामा ३ वटा शौचालय सहितको कोठा र तल्लो तलामा हल र भान्साघर छ ।
होमस्टे सञ्चालक निर्माया बुढाले हामेस्टेमा जुम्लामा उत्पादित अर्गानिक मार्सिचामलको खाना, फापरको रोटी, कोदाको ढिणो, मकैको ढिणो लगायत स्थानीय उत्पादनको खानालाई प्रथामिकता दिईने भएको छ ।
खस सस्कृतिका कला हेर्न पनि पाईने :
पर्यटकले हेर्न चाहेमा तल्लो तलामा खस सस्कृतिको पहिचान देखिने कर्णाली खस सस्कृृति संरक्षण मञ्च खस भाषाको देउडा सहितका नाटक समेत प्रस्तुत गर्ने गरेको छ । खस भाषालाई संरक्षण गर्नका लागि कर्णाली खस सस्कृति संरक्षण मञ्च (कसम)ले विभिन्न खस सभ्यता झल्काउने नाटक प्रस्तुत गर्दै आईरहेको छ । यस होमस्टेको हलमा नाटक प्रस्तुत पनि हुने गरेको होमस्टे सञ्चालक निर्माया बुढाले जानकारी दिनुभयो ।
कनकासुन्दरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले गाउँपालिकाले एप्पल गार्डेन होमस्टे सञ्चालनका लागि सहयोग गर्ने साझेदार निकाय आईएनएफलाई धन्यवाद दिनुभयो । आईएनएफले अन्य ६ वटा रारा जानेबाटोका होटललाई स्तरबृद्धि गर्न सामग्री समेत सहयोग गरेको बताएको छ । कार्यक्रम संयोजक ईन्द्र विश्वकर्माले रारा जाने कनकासुन्दरी क्षेत्रका ६ वटा होटलमा प्रति होटल प्रति व्यक्ति रु एक लाख २० हजार बराबरको लगानी सहयोग भएको छ । यसका साथै एक हप्ते होमस्टे व्यवस्थापन तालिम समेत सञ्चालन गरिएको छ । यसका साथै सो एप्पल गार्डेन होमस्टेका साहु निर्मल बुढालाई बाँकेको गाभरमा होमस्टेको अवलोकन भ्रमणमा समेत सहयोग गरिएको छ । कनकासुन्दरीको गुठिज्यूलाको सिरानामा रहेको सो एप्पल गार्डेन होमस्टेमा राति आगो बालेर क्याम्प फायर गर्न सकिने र त्यहीबाट पदमार्ग हुदै राराताल पर्यटक हिडेर जान सकिन्छ ।
क्याप्सन : जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठिज्यूलामा संचालिन अर्गानिक होमस्टे ः तस्बिर नेत्र शाही ।








