

१८ मंसिर २०८२, बिहीबार
सुर्खेतः मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा.बिष्णुकुमार खड्काले मुलुकमा सबैखाले विद्यार्थीहरुले पहुँच राख्ने शिक्षा प्रणाली आवश्यक रहेको बताउनुभएको छ ।
ग्र्याजुएट स्कुल अफ एजुकेसनअन्तरगत विशेष आवश्यकता शिक्षा केन्द्रीय विभागद्वारा बुधबार सुर्खेत वीरेन्द्रनगमा आयोजित अपांगता भएका व्यक्तिहरुको ३४औं अन्तर्राष्ट्रिय दिवस समारोहमा बोल्दै कार्यकारी निर्देशक डा.खड्काले डा. खड्काले सबैको लागि शिक्षा नाराले मात्र शिक्षाको मूलभूत लक्ष्य प्राप्त नहुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “लक्षित नारा पुरा गर्न पहुँचयोग्य अपांगतामैत्री भौतिक संरचना, पाठ्यक्रम, पाठ्यसामग्री, शिक्षण सिकाइ क्रियाकलाप, मूल्याङ्कन प्रणालीलगायत सिङ्गो शिक्षा प्रणाली नै विद्यालयदेखि विश्वविद्यालय तहसम्म सबैखाले विद्यार्थीहरुलाई स्वागत गर्न सकिने गरी निर्माण हुन आवश्यक छ । जसका लागि विश्वविद्यालयमा स्नातक तहको विशेष आवश्यकता शिक्षा कार्यक्रम थालनी गरिएको हो । यसको विकास र निरन्तरताको लागि सबै कटिबद्ध हुनुपर्छ ।”
कार्यक्रममा शारीरिक रुपमा अशक्त भएर पनि मानसिक रुपमा सशक्त र प्रेरणादायी व्यक्तित्व त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख उपप्राध्यापक राजनकुमार कँडेलले अपांगता जीवनको जुनसुकै बेला पनि हुन सक्ने बताउनुभयो । अपांगता भएका व्यक्तिहरुलाई उपयुक्त अवसरसँगै माया, सम्मान र उत्प्रेरणा प्रदान गर्न सके उनीहरुले पनि साङ्ग सरह काम गर्न सक्ने उहाँको भनाई थियो ।
कार्यक्रममा सुर्खेतस्थित संस्कृत तथा साधारण मावि इत्रामका शिक्षक तारा ढकालले दृष्टिविहिनहरुले प्रयोग गर्ने सेतो छडीको प्रयोग गर्ने तरिका र ब्रेल सेटको बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । त्यस्तै, विशेष आवश्यकता शिक्षा विषय अध्यापनरत शिक्षक राजु आचार्यको संयोजनमा सोही विषय अध्ययनरत विद्यार्थीहरुद्वारा ह्वीलचेयर, ब्रेल सेट, हियरिङ एड आदिको प्रयोग सम्बन्धी प्रयोगात्मक क्रियाकलाप प्रदर्शन गरिएको थियो ।
कार्यक्रमले समाजसँगै विश्वविद्यालयमा अपांगता भएका व्यक्तिहरुको अधिकार, समावेशी शिक्षा प्रवद्र्धन, पहुँचयोग्य वातावरण र क्षमता विकासका विषयमा गहन छलफल तथा अभिव्यक्तिको अवसर प्रदान गरेको सहभागीहरुले बताएका छन् । त्यसैगरी, विद्यार्थीहरुले विभिन्न चेतनामूलक प्रस्तुति, अनुभव–साझेदारी, समावेशी शिक्षाका व्यवहारिक पक्षहरु र अपाङ्गता भएका व्यक्तिहरुको हकहित सम्बन्धित अन्तरसंवाद गरेका थिए । िकार्यक्रममा वभिन्न विषयका विभागीय प्रमुखहरुसहित प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।









