OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २२, २०७८
९४९ पटक

२२ असोज २०७८, शुक्रबार

नेपाल सरकार गृह मन्त्रालयका सहसचिव पुष्पराज शाही नेतृत्वको अनुगमन टोली कर्णालीमा पुगेको छ । अनुगमनका क्रममा सहसचिव शाही तथा उपसचिव फणिन्द्र दाहाल आज दैलेख पुग्नुभएको हो ।

कर्णालीको यातायात, सुरक्षा, आपूर्ति, बजार व्यवस्थापनलगायतका सेवामा देखिएका समस्या र भएका अनियमितताबारे जानकारी लिई सेवालाई प्रभावकारी बनाउन अनुगमन थालिएको सहसचिव शाहीले बताउनुभयो । मुगुको अनुगमन सकेर बिहीबार सुर्खेतको पनि सम्पन्न गरेको जनाउँदै आज दैलेख पुगेको उहाँले बताउनुभयो ।

गृह मन्त्रालयले चाडपर्वको समयमा नागरिकहरुलाई सहज आवतजावत तथा किनमेल गर्ने र सुरक्षाको अनुभूति दिलाउने गरी देशैभरि अनुगमन गर्ने कार्ययोजना अनुरुप सहसचिव शाही र उपसचिव दाहाल कर्णाली कार्यक्षेत्र लिएर आउनुभएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।

“हामीले सुर्खेतमा बिहीबार गृहको टोलीसँगै सरोकारवालाहरुसँग बसेर चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाई सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायतका सेवालाई सुलभ तथा गुणस्तरीय बनाउन के–कस्ता उपाय अपनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेका छौं,” “उहाँले भन्नुभयो, त्यही अनुसार सरोकारवाला सबैले आ–आफ्नो दायित्वप पुरा गर्नुपर्ने देखिन्छ ।”

सरोकारवालाहरुले चाडपर्वको अवधिमा दैनिक उपभोग्य वस्तुको अत्याधिक मूल्य वृृद्धिसँगै विभिन्न समस्या देखाउँदै यातायात व्यवसायीले यात्रुहरुसँग मनोमानी भाडा असुल्ने र यातायात क्षेत्रमा अझै सिण्डिकेट हट्न नसकेको गुनासो गृहको टोलीलाई गराएका थिए । अनुगमन टोलीले सम्बन्धित निकायको धारणा लिने र कार्यान्वयनमा जोड दिन दशै जिल्लामा अनुगमन गर्ने बताएको थियो । प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधानका गर्न आफुहरु प्रत्यनशील रहेको टोलीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्