OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २०, २०७८सुर्खेत
६०४ पटक

२० असोज २०७८, बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकमा नेपाल प्रहरीको वफादारिता सम्मानयोग्य रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज यहाँ आयोजित ६६औं प्रहरी दिवस उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री शाहीले समाजको सामीप्यमा रहेर नागरिक सुरक्षार्थ अहोरात्र खट्ने नेपाल प्रहरीको योगदान कदरयोग्य भएको बताउनुभयो । “नागरिकहरुको शान्ति र सुरक्षामा नेपाल प्रहरीले आफ्नो कर्तव्य पुरा गर्दै आएको छ,” उहाँले भन्नुभयो, “संगठनलाई आधुनिक प्रविधिसँग समाहित गरेर लैंजादा यसको गतिशीलता र प्रभावकारिता बढ्दै जान्छ ।”

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले जनताको रक्षकको रुपमा प्रहरीले काम गर्दै आएको बताउनुभयो । बदलिएको समयसँगै प्रहरी संगठनले आफ्नो काम कारवाहीलाई सशक्त बनाउँदै लैजानुपर्ने सुझाउनुभएका मन्त्री नेपालीले पछिल्लो समयमा बढ्दै गएका सामाजिक अपराधका घटनाको अध्ययन अनुसन्धानको दायरा बढाउनुपर्नेमा जोड दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख देवकुमार सुवेदीले लामो इतिहास पार गरेको प्रहरी संगठनको भूमिका अपेक्षाकृत नै रहेको जनाउँदै सेवालाई प्रविधिमैत्री बनाउनतर्फ जोड दिन सुझाउनुभयो । “हिजो भन्दा समाजमा आजभोलि समाजमा अपराधका घटनाहरु बढेको देखिन्छ,” प्रमुख सुवेदीले भन्नुभयो, “यसको गहिरो अनुसन्धानका लागि जनशक्ति उत्पादन तथा परिचालन गर्न सकेमात्र सामाजिक अपराध न्यूनीकरण हुनसक्छ ।”

दिवसमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) को वार्षिक मुखपत्र ‘गुरुकुल’ चौंथो संस्करणको लोकार्पण गर्नुका साथै कर्तव्यको सिलसिलामा अमरत्व प्राप्त गरेका परिवारलाई सम्मान र उत्कृष्ट प्रहरीलाई पुरस्कार प्रदान गर्नुभयो ।

कर्णाली प्रदेश सरकार आन्तरिक आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्य, कार्यक्रममा पश्चिम कमाण्ड हेटक्वाटर निमारे ब्यारेक सुर्खेतका कमाण्ड सेनापति उपरथी प्रेम बहादुर शाही, नेपाल पूर्व प्रहरी संगठनका राष्ट्रिय अध्यक्ष बसन्त कुँवर, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक, गणेशबहादुर ऐर, कर्णाली प्रदेश महेश्वरी बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक, अविकुमार खत्रीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्