OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १४, २०७८सुर्खेत
६२२ पटक

१४ असोज २०७८, बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका नागरिकहरुको दैनिकी सहज बनाउने गरी काम गर्न प्रदेशभरिका सबै कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

यहाँका दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षाका प्रमुख, डिभिजन सडक, पूर्वाधार विकास निर्देशनालय, सिंचाई, यातायातका प्रमुखहरुसँगको भर्चुअल बैठकमा मुख्यमन्त्री शाहीले दशैं तिहारको अवधिमा नागरिकहरुको सहज जीवनयापन लागि तयार हुन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । ‘नजिकिदै गरेको नेपालीहरुको महान् पर्वको यो अवधिमा कर्णालीका नागरिकहरुलाई विभिन्न कठिनाई आउन सक्छन्,’ उहाँले भन्नुभयो, ‘ती समस्याको तत्काल समाधान हुने गरी लाग्नुहोस् ।’

नागरिकहरुलाई केन्द्रबिन्दुमा राखेर आज यो भर्चुअल बैठकको आयोजना गरिएको बताउँदै उहाँले भन्नुभयो, ‘तपाई सबै प्रजिअको विशेष भूमिकामा जिल्लामा दररेट अनुसार बिक्रीवितरण भएको नभएको, अखाद्य वस्तु, कालो बजारी, खाद्य तथा अन्य उपभोग्य वस्तुहरुको बजार अनुगमन गर्नुस् । दशै तिहार मनाउन घर हिडेका यहाँका सबै नागरिकहरुलाई शान्ति, सुरक्षा र सहज यात्राको अनुभूति गराउनुस् ।’

त्यसैगरी, मुख्यमन्त्री शाहीले जनताको स्वास्थ्य अवस्थामा नकरात्मक असर पर्न नदिन, क्षमता भन्दा बढी यात्रु हाल्ने क्रम रोक्न, तोकिएको भन्दा बढी शुल्क असुल्न तथा जुवातास अनुगमनको दायरालाई बढाउन र कोरोना महामारीमा ध्यान दिएर दशैं मनाउने सन्देश प्रवाह गर्न उहाँले सुझाउनुभयो ।

नेपाली काँग्रेस प्रदेशसभा दलका नेता तथा प्रदेशसभा सदस्य जीवनबहादुर शाही यो समयमा अस्पतालमा हुने चिकित्सकको अभावलाई पूर्ति गर्न सरकारलाई अनुरोध गर्नुभयो । नागरिकहरुको हितार्थ सोचेर राखिएको कार्यक्रम सकरात्मक भएको बताउँदै नेता शाहीले सबै जिल्लामा शान्ति सुरक्षा राख्न कायम राख्नेतर्फ सरकारले जोडदिनुपर्ने सुझाउनुभयो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले सबै जिल्लाको शान्ति सुरक्षा लागि आवश्यक व्यवस्था मिलाईने बताउनुभयो । प्रदेशभर घटेका विभिन्न घटनाको विवरणबारे जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक ऐरले समाजमा घटना न्यूनीरकणका लागि दशैतिहार विशेष योजनाका साथ प्रहरीले आफ्नो कार्य थाल्ने जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्