OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दीपेन्द्र शर्माआश्विन ३, २०७८सुर्खेत
८९३ पटक

३ असोज २०७८, आईतबार

कर्णाली प्रदेश दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरुले साझा प्रतिवद्धता जनाएका छन ।

‘कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८’अन्तरगत आईतबार वीरेन्द्रनगरमा भएको अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवालाहरुले कर्णाली प्रदेशमा दिगो विकास लक्ष्यको प्रभावकारी कार्यन्वयनमा सहयोग गर्ने साझा प्रतिवद्धता गरेका हुन ।

अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री विमला केसीले राजनीतिक प्रतिवद्धता र सकरात्मक सोच भएमात्र कर्णालीमा दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न सहज हुने बताउनुभयो । प्रदेशसभा सदस्य केसीले सबै क्षेत्रले आफनो दायित्व र कर्तव्य सम्झेर अगाडि बढे सहजरुपमा कर्णालीको मुहार फेर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

“दिगो विकास लक्ष्य कार्यान्वयनमा कर्णाली प्रदेशसभाको महत्वपूर्ण भुमिका हुने भएकोले सरकार, संसद, नीजि क्षेत्र तथा युएन एजेन्सीलगायतका सरोकारलाहरुको पहिलो प्रतिवद्धता कार्यान्वयनमा हुन आवश्यक छ,” उहाँले भन्नुभयो, “कर्णालीको भूगोल सुहाउदो वजेट तथा कार्यक्रम निमार्ण अबको आवश्यकता भएकोले सबैको ध्यान कर्णाली केन्द्रित हुनुपर्दछ ।” सबैको साझा प्रतिवद्धता भए कर्णालीको मुहार फेर्न धेरै समय नलाग्ने पुर्वमन्त्री केसीको भनाई छ ।

त्यस्तै, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउन इमान्दारितापूर्वक लाग्नुपर्ने बताउनुभयो । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि राज्यका सबै संयन्त्रहरु परिचालित हुन सकेमात्र कर्णाली विकास सम्भव भएको उहाँले वताउनुभयो ।

कर्णालीको विकासमा हाम्रो पनि योगदान आवश्यक भन्ने सम्झेर दिगो विकास लक्ष्य कार्यान्वयनमा प्रतिबद्धता जनाउन आवश्यक भएकोले सरोकारवालाको साझा प्रतिवद्धता आउनुपर्नेमा उहाँको जोड थियो । कर्णालीको पञ्चवर्षीय योजना कार्यन्वयनमा कटिबद्ध रहने हो भने दिगो विकास लक्ष्य सहितको समृद्धि हासिल गर्न सहज हुने खड्काको भनाई छ ।

त्यस्तै युएनडिपी कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धिकीले कर्णालीमा विकास पूर्वाधारसहित दातृ निकायसँगको साझेदारीबाट दिगो विकास लक्ष्य हासिल गर्न थप सहज हुने बताउनुभयो । विकाससहितको समृद्ध कर्णाली बनाउनका लागि कर्णालीमा लगानीमैत्री वातावरण निर्माण अहिलेको प्रमुख आवश्यकता भएको सिद्धिकीले औल्याउनुभयो । उहाँका अनुसार दिगो विकास लक्ष्य हासिल गर्न भ्रष्टाचाररहितको साझेदारी आवश्यक हुन्छ ।

कर्णालीमा नीजि क्षेत्रलाई लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारले केही कानुनी प्रावधानहरु संशोधन गर्नुपर्ने उद्योग वाणिज्य महाँसंघ कर्णाली प्रदेशका सदस्य कविराज खत्रीले वताउनुभयो । समृद्ध कर्णालीको आधार, स्वस्थ हरित न्यायपूर्ण पुनरुत्थानका लागि दिगो विकास भन्ने मुल नाराका साथ शुरु भएको सप्ताहमा कर्णाली प्रदेशको सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्यमाथि बहस सञ्चालन गरिने जनाइएको छ ।

१२ दिन सम्म सञ्चालन हुने सप्ताह कार्यक्रममा कर्णालीमा दिगो विकास लक्ष्यको कार्यान्वयन स्थितिमा उच्चस्तरीय नीतिको चर्चा, कोभिड–१९ को घरेलु खाद्य सुरक्षा र जीविकोपार्जनमा परेको असरको छलफल, दिगो विकास लक्ष्य र उपलब्धि, नीति, मुद्दाहरु, निहितार्थ, प्राथमिकताहरु, बजेट विनियोजन र कर्णाली प्रदेशमा स्वास्थ्य र पोषणमा आगामी कार्यदिशा बारेमा छलफल गरिने कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेशको विकास योजनामा प्रभावकारी नीति निर्माण, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई मुख्य धारामा ल्याउने सम्बन्धमा प्रादेशिक परामर्श, दिगो विकास लक्ष्य अन्तरगत बालश्रम अन्त्य गर्ने गुरुयोजनालगायतका महत्वपूर्ण विषयमा छलफल हुने किर्डाक नेपालका कार्यक्रम ब्यवस्थापक नविनवहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्