OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ३, २०७८सुर्खेत
६०६ पटक

३ असोज २०७८, आईतबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान कार्यान्वयनले राष्ट्रिय एकताको सुदृढीकरण बल पुग्ने बताउनुभएको छ । उहाँले समाजवादी व्यवस्था निर्माणमा समेत प्रदेश सरकार दृढताका साथ लागिपरेको जनाउनुभएको छ ।

सातौं संविधान दिवस २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका कर्णालीवासी तथा आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा बधाई तथा शुभकामना सन्देश व्यक्त गर्दै शाहीले सामाजिक न्यायसहितको समाजवादी व्यवस्था निर्माणमा सरकार अनवरतरुपमा अगाडि बढेको बताउनुभयो ।

मूलतः संविधान प्राप्तिका निम्ति ईतिहासका विभिन्न कालखण्डमा भएका गौरवपूर्ण जनयुद्ध, जनआन्दोलनलगायतका सबै खाले आन्दोलन तथा जनसंघर्षका क्रममा जीवन उत्सर्ग गर्न महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले बेपत्ता, घाईते तथा अपाङ्गगता भएका योद्धाहरुप्रति उच्च सम्मान र जनक्रान्ति तथा जनआन्दोलनमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले भन्नुभएको छ, “ दशकौं लामो समयदेखि सशस्त्र तथा निशस्त्र रुपमा नेपाली जनताले गरेका बलिदानीपूर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप २०७२ साल आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानले व्यवस्था गरेको लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायतका मूल्य मान्यताहरुमा केन्द्रित भई विकास र समृद्धिको जनअपेक्षा कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको छ ।”

संविधानमा प्रस्तावित आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चिततासहित समाजवादी व्यवस्था निर्माणको दिशामा अगाडि बढ्नु नै अहिलेको प्रमुख दायित्व रहेको बताउँदै मुख्यमन्त्री शाहीले यसलाई भुलेर संविधानको मूल भावना विपरित मुलुकलाई फेरी पनि पश्चगमनतिर लैजान खोज्ने यथास्थितिवादी एवं प्रतिगमनकारी शक्तिहरुका चलखेलहरुप्रति सचेत रहनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले संविधान कार्यान्वयनका क्रममा आ–आफ्नो क्षेत्रबाट भएका कमि कमजोरीको समीक्षा ईमान्दारितापूर्वक गरी तीव्र गतिको आर्थिक, भौतिक तथा सामाजिक विकास र समृद्ध नेपाल निर्माणको अभियानमा अघि बढ्नुको विकल्प हाम्रो सामु नरहेको उल्लेख गर्नुभएको छ ।

आजको दिनले संविधानको कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, समानुपातिक र समावेशी विकाससहित समाजवादी राज्य निर्माणका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्तै मुख्यमन्त्री शाहीले संविधान दिवसको विशेष अवसरमा राष्ट्रिय एकतासहित विकास र समृद्धिको दिशामा अगाडि बढ्न सबै राजनीतिक शक्ति, नागरिक समाज, राष्ट्रसेवकलगायत सम्पूर्ण देशवासीमा हार्दिक अपिल गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्