

१८ भाद्र, २०७८, शुक्रबार
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउनुभएको छ । सभापति देउवाले आठ लाख भन्दा बढी क्रियाशील सदस्यहरु मुलुकको विशाल पार्टीको नेपाली काँग्रेसको १४औं महाधिवेशनको प्रक्रियामा सहभागी हुनुभएको छ । यस क्षणमा आफु आज निकै खुशी भएको उहाँले शुभकामना सन्देशमार्फत व्यक्त गर्नुभएको छ ।
लोकतन्त्रको पर्यायका रुपमा रहेको काँग्रेस लोकतान्त्रिक अभ्यासमा संधै अग्रणी सावित भएको जनाउँदै उहाँले सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत नेता तथा कार्यकर्ताहरुलाई अधिवेशनमा सहभागी हुन अनुरोध गर्नुभएको छ । पार्टीको वडा अधिवेशन शुरु भएको अवसरमा शुभकामना दिनुभएका सभापति देउवाले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काँग्रेसलाई बलियो बनाउन जरुरी रहको देउवाको भनाइ छ । ‘नेपाली जनताले बुझिसकेका छन्, बलियो काँग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘बलियो काँग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु,’ जारी शुभकामना सन्देशमा उल्लेख छ ।
म आज निकै खुशी छु
आफूले सबै सदस्यहरू र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति गरिरहेको उहाँले भन्नुभएको छ, ‘आज म निकै खुसी छु । ८ लाखभन्दा बढी नेपाली काँग्रेसका क्रियाशील सदस्य आजदेखि १४ औ महाधिवेशनको प्रक्रियामा सहभागी हुनु भएको छ र मैले ती सबै सदस्यहरू र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति यतिबेला गरिरहेको छु ।’
पार्टीको विरासत, विगतको योगदान, जनताको आस्था, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि काँग्रेसकै काँधमा आएको उहाँको दावी छ ।
, ‘म तपाईंहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देशमार्फत गर्न चाहन्छु । हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गरी बलियो बनाउन काँग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु,’ देउवाले भन्नुभयो।
संवैधानिक बाध्यता अनुसार कोरोना महामारीकै बीच महाधिवेशन शुरु गर्नु परेको भन्दै सामाजिक दूरी कायम गरी महाधिवेशन सम्पन्न गर्न सहभागी कार्यकर्तालाई उहाँले अनुरोध गर्नुभएको छ ।