OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १४, २०७८काठमाडौं
२९९ पटक

१४ भाद्र २०७८, सोमबार

कर्णालीका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपको समाचार प्रकाशन गरेपश्चात् असुरक्षित भएका पत्रकारहरुको अवस्था बुझ्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गठन गरेको मिडिया मिसनले घटनाको अध्ययन सुरु गरेको छ ।

पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल र केन्द्रीय सदस्य दिपेन्द्र शर्मासहितको गठित मिडिया मिसनले असुरक्षित र पीडित भएका पत्रकारद्वय नगेन्द्र उपाध्याय र बिस्नप्रसाद न्यौपाने, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुर्खेतका अन्य पत्रकार तथा अधिकारकर्मीहरुबाट सुझाव लिएर अध्ययन सुरु गरेको हो ।

अध्ययनको क्रममा पीडित पत्रकारद्वय उपाध्याय र न्यौपानेले समाचार लेखे यता घरमा बस्ने अवस्था नभएको र बजारतिर आउँदा नचिनेका व्यक्तिहरुले पिछा गर्ने गरेको, फोन तथा सामाजिक सञ्जालबाट ज्यान मार्ने धम्की दिइएकोले आफूहरु असुरक्षित भएको जनाएका थिए। उनीहरुले महासंघले पत्रकारमाथि भएको अवस्थाको अध्ययन गर्न गठन गरेको मिडिया मिसनले आशावादी जगाएको भन्दै अझैपनि सुरक्षित अवस्थाको महसुस गर्न नपाएको उल्लेख गरे ।

अधिवक्ता दुर्गाप्रसाद सापकोटा, सम्वाद समूहका संयोजक देवेन्द्र सेजुवाल, पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्ष श्रीधर पौड्यालले समाचार प्रकाशित गरेको आधारमा पत्रकारहरुमाथि भौतिक असुरक्षा बढ्नुले दण्डहीनता बढेको बताउनुभएको थियो । पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटाले पत्रकारहरुको सुरक्षाका लागि महासंघले धेरै पहल गरेको जनाउनुभयो।

मिडिया मिसन टोलीका संयोजक एवं महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश विष्टले तथ्यमा आधारित भएर लेखेको समाचार सार्वजनिक भएपछि पत्रकारहरु असुरक्षित हुनु नपर्ने बताउनुभयो । उहाँले यस घटनाको थप फ्लोअप गर्न सुझाव दिदैं प्रदेश सरकारले यस घटनाको वारेमा सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । पत्रकारहरु असुरक्षित हुनुपर्ने अवस्था कहीं कतैबाट आउन नहुनेमा जोड दिदैं उहाँले मिडिया मिसनले यस घटनाको सुक्ष्मरुपबाट अध्ययन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

टोलीले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग पनि भेट गरेको छ । भेटमा बरिष्ठ उपाध्यक्ष विष्टले मन्त्रीमाथि लागेको आरोपले प्रदेश सरकारको लोकप्रियतामाथि आँच आएकोले यसले बाहिर नराम्रो सन्देश गएको हुँदा प्रदेश सरकारले जतिसक्यो छिटो कदम लिनुपर्ने बताउनुभयो । उहाँले समाचार लेखेकै आधारमा पत्रकारहरु असुरक्षित हुन नहुने भन्दै पत्रकारहरुको सुरक्षा गर्नु प्रदेश सरकारको पनि दायित्व भएको स्मरण गराउनुभयो।

जवाफमा मुख्यमन्त्री शाहीले पत्रकारहरुको सुरक्षाका लागि प्रदेश सरकार पूर्णरुपमा प्रतिवद्धता भएको बताउँदै घटनाबारेमा सुक्ष्म अध्ययन गरिरहेको उल्लेख गनुभयो। उहाँका अनुसार यस घटनाका बारेमा अध्ययन अध्ययन भईरहेको छ । भेटका क्रममा केन्द्रीय बरिष्ठ उपाध्यक्ष विष्टसहित महासंघका प्रदेश अध्यक्ष देवीराम देवकोटा, जिल्ला अध्यक्ष ललित बसेल र पत्रकार सुशील शर्मा सहभागी थिए ।

प्रतिकृया दिनुहोस्