OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १०, २०७८काठमाडौं
१०६१ पटक

१० भदौ २०७८ बिहीबार

गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चारजना किशोर हालसम्म सम्पर्कमा आउन सकेका छैनन् ।

तातोपानी गाउँपालिका ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पदमबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुल रावत र देवीभक्त रावतका १७ वर्षीय छोरा कालीबहादुर रावत एक महिना अघिदेखि सम्पर्कमा नआएको सोही गाउका स्थानीय युवा राजु रावतले जानकारी दिनुभयो ।

“यहाँका प्रायः नागरिक मजदुरीका लागि भारतको हिमाञ्चल, उत्तर प्रदेशमा जान्छन्,” राजुले भन्नुभयो, “त्यही भएर भारतमा उपलब्ध हाम्रा आफन्त र चिनजानेका सबैसँग सम्पर्क गर्र्यौं तर उनीहरु कतै पनि नपुगेको खबर आयो, ।” तरपनि गाउँलेहरुले उनीहरु कालापहाड गएको हुन सक्ने आशंका गरेको उहाँले बताउनुभयो ।

तुल रावतका बुबा गोविन्द रावतले लामो समयदेखि छोरा नआएकोले चिन्ताले सताएको दुखेसो गर्नुभयो । “साउने संक्रान्तिको बेलुकादेखि मेरा छोरासहित चारैजना सम्पर्कविहिन छन् । घरमा आउलान् भन्दा भन्दा त महिना दिन बित्यो,” गोविन्दले भन्नुभयो, “तरपनि उनीहरु अहिलेसम्म घर फर्केका छैनन् र कहाँ छन् भन्ने पनि पत्तो छैन ।” उनीहरु भारत कहिल्यै नगएकोले कहीँकतै बेचबिखनमा पर्ने हुन् कि भन्ने कुराले अभिभावकहरुलाई चिन्तित बनाएको छ ।

अहिलेसम्म यो ठाउँमा छन् भन्ने अत्तोपत्तो नभएकोले उहाँले सञ्चार माध्यमबाट खोजिदिन आग्रह गर्नुभयो । राजु रावतका अनुसार सम्पर्कविहिन चारैजना किशोरहरु सुर्कीगाउँ अवस्थित दुर्गा मावि मधुमा कक्षा ८ र ९ मा अध्ययनरत थिए । कोरोना महामारीका कारण भएको बन्दाबन्दीले विद्यालय बन्द भएपछि पढ्न नपाएका उनीहरु कहाँ गए भन्ने कसैलाई सूचना छैन ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले यस विषयमा आज मात्र सामान्य जानकारी आएकोले सघनरुपले बुझेर खोज अनुसन्धानमा लाग्ने बताउनुभयो । प्रजिअ प्रसाईले कालापहाड गएको भन्ने आशंका गरिएकोले यसबारे सबै तहका सरकारहरुले चासो दिनुपर्ने जनाउनुभयो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले आफु कहाँ त्यसबारे कुनै जानकारी नआएको बताउनुभयो । प्रहरी नायब उपरीक्षक थापाले किशोरहरुको उमेर १६÷१७ वर्ष पुगिसकेकोले उनीहरुलाई हराएको भन्न नमिल्ने तर्क गर्नुभयो । यद्यपि ती चारैजना किशोरहरु ४० दिनदेखि अभिभावकको सम्पर्कमा छैनन् ।

 

प्रतिकृया दिनुहोस्