OnlinePana

आज : २०८१ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २९, २०७८सुर्खेत
७०८ पटक

२९ असार २०७८, मंगलबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत सञ्चालन हुने गरी प्रयोगशाला स्थापना गरिएको हो। पूर्वाधार विकास निर्देशनालयका निर्देशक प्रभाकरप्रसाद सिंहले यो कर्णाली प्रदेशकै पहिलो पानी परीक्षण प्रयोगशाला भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णालीमा प्रयोगशाला स्थापना भएपछि पिउने पानीको स्वच्छता मापन गर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता हटेको छ । यस अघि पानीको स्वच्छता मापन गर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता थियो ।

निर्देशक सिंहले प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रमअनुसार ठूलो क्षमताको प्रयोगशाला स्थापना गरिएको बताउनुभयो । उहाँकाअनुसार रु.एक करोड ७३ लाख ३० हजार लागतमा प्रयोगशाला स्थापना गरिएको छ । ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गत रहनुपर्ने भए पनि तत्काललाई प्राविधिक कारण भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमातहत सञ्चालन गर्नुपरेको निर्देशक सिंहले जनाउनुभयो ।

भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापाले हरेक नागरिकलाई स्वच्छ पिउने पानीको हक सुनिश्चित गर्न प्रदेश सरकारले प्राथमिकताका साथ प्रयोगशाला स्थापना गरेको बताउनुभयो। “पिउने पानीको स्वच्छता उपभोक्तालाई अवगत हुनै पर्दछ । गुणस्तर परीक्षण नहुँदा उपभोक्ताले दूषित पानी उपभोग गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “सुर्खेतमै प्रयोगशाला हुँदा पानीजन्य रोगको पहिचान र त्यसको निरुपण गर्न अब धेरै सहज हुनेछ।”

प्रयोगशालाका निम्ति कम्तिमा तीन जना जनशक्ति आवश्यक रहेको बताइएको छ । प्रयोगशाला प्रमुखका लागि रसायन विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति, खानेपानी ल्याब प्राविधिक र एक सहयोगी कर्मचारीका लागि दरबन्दी सिर्जना गरिएको निर्देशनालयले बताएको छ । मन्त्रालयका अनुसार आगामी भदौ महिनाभित्र करार जनशक्तिको व्यवस्थापन गरिनेछ ।

प्रतिकृया दिनुहोस्