OnlinePana

आज : २०८१ मंसिर ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,साउन १६, २०८१जुम्ला,
२६० पटक

साउन १६ गते । जुम्लामा किसानका मौरी मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । हरेक बर्ष मौरीका घारमा मौरी मर्ने तथा घट्दै जाने गरेकाले जोगाउँन सरोकारवाला निकाय मार्फत पहल थालेका छन् ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाको हलमा कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडले सम्पन्न छलफल कार्यक्रममा मौरी विशेषज्ञ बोलाउने, जिल्लाभर मौरी घारहरूको यकिन तथ्याक संकलन गर्ने, बर्सेनि उत्पादन हुने मह र जुम्ली महको बजारको समेत पहिचान गर्ने निर्णय गरेको छ ।
मौरी नष्ट भईरहेको समयमा जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रतिनिधि लछिराम महतले धमाधम मौरी मर्दा किसानहरू मर्कामा भएकाले यस बिषयमा आगामी दिनमा योजना बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कर्णाली मौरी पालन संस्था लिमिटेडले जिल्लामा मौरी पालनको अवस्थाको ईतिहास, अवस्था र चुनौतिका बिषयमा कार्यपत्र समेत प्रस्तुत गरेको छ । उपाध्यक्ष धनजीत बुढाले प्रस्तुत प्रतिवेदनमा जुम्लामा परम्परागत मौरीपालनको तरिका, समाजको धारणा, व्यवसायिक अवस्था, ईसिमोड लगायत विभिन्न संस्थाले थालेको कामका बिषयमा जानकारी गर्नुभयो । प्रतिवेदनमा मौरीपालनमा समय अनुसार घारमा हुनुपर्ने सुधार नहुनु, आधारचाकाको लागि आवश्यक उपकरण प्राप्त नहुनु, किसानलाई व्यवसायिक तालिमको अभाव, चरनका लागि जडिवुटि मासिनु, जंगल आगलागी भई मासिनु, विभिन्न अज्ञात रोगले मौरी गोला मासिनु चुनौति रहेको छ । सहकारीका सचिव नारायण चौलागाईंले चरिचरन क्षेत्र घट्दै जानु, जंगलमा डढेलो फैलिनु, गुणस्तरीय रानी उत्पादन नहुनु, विषादीको प्रयोग बढ्नु र समयानुकुल घारमा सुधार नहुनुले समस्या देखिएको जानकारी दिनुभयो ।

 

किसान सेरनासेरना जातको मौरी जुम्लामा पालिने भएकाले समयमै रोगको पहिचान हुनुपर्ने किसानको माग छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मौरीको मह मात्रै नभई रोयल जेलीको खाद्य पदार्थको सवै भन्दा महत्वपूर्ण रहेको बताउदै यो व्यवसायका लागि सवै लागेर प्रवर्धन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । प्रजिअ घिमिरेले मौरी विकास केन्द्र गोदावरीबाट विशेषज्ञ टोली झिकाउन स्थानीय प्रशासनले समेत सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

छलफल कार्यक्रममा मौरीपालक किसानहरूले मौरीमा देखिएको रोगको उचित पहिचान गरेर औषधिपचार गर्नुपर्ने माग समेत गरेका छन् । पातारासी गाउँपालिका ७ का किसान टेकबहादुर बुढाले आफ्ना ५ मौरीका घारा थिए रोगले सवै घाराका मौरी नष्ट भएको बताउनुभयो । चन्दननाथ ३ का किसान वालकृष्ण उपाध्यायले ३ बर्ष अघि आफ्ना २५ घार मौरी भएकोमा अहिले ५ घार रहेको बताउनुभयो । उहाँले विभिन्न रोगले यसमा समस्या बनाएको बताउनभयो । किसान धनबहादुर बुढाले केही बर्ष अगाडि हिले बर्षा भएपछि मौरी मर्नथालेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्