

१५ कात्तिक २०८२, शनिबार
सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न नदिन संघीय सरकारलाई विशेष पहल गर्न आग्रह गर्नुभएको छ ।
वर्तमान सरकारले आयोजनालई समस्याग्रस्त आयोजनाको रुपमा राख्ने तयारी गरिरहेको चर्चा चलेको भन्दै आज आयोजनास्थल पुगेर सम्बद्व पक्षहरुसँग मुख्यमन्त्री कँडेलले छलफल गर्नुभएको छ । उहाँले भन्नुभयो, “यही अवस्थामा कामको गति नबढने र थप भएको समयमा समेत आयोजना सम्पन्न नहुँदा यसको भविष्यलाई लिएर चिन्ता हुनु स्वभाविक हो । संघीय सरकारले यस सम्बन्ध विशेष पहल लिनुपर्छ ।”
छलफलका क्रममा मुख्यमन्त्री कँडेलले संघीय सरकारको कार्यक्षेत्र रहेपछि प्रदेशको चासो र चिन्ताको भएकोले राष्ट्रिय गौरवको यो आयोजना निर्माणको गतिलाई यही अवस्थामा छाडन नहुने धारणा राख्नुभयो । “थपिएको समयमा पनि ६० प्रतिशतको आसपासमा मात्र काम भएको रहेछ । यही गतिले अर्को चार वर्षमा पनि सम्पन्न हुने छाँट देखिदैन,” उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवको भनेपनि संघीय सरकारले जति पहल लिनु पथ्र्यो, त्यसो हुन सकेकै छैन ।”
आयोजना प्रमुखसहित निर्माण व्यवसायीका प्रतिनिधिहरुसँग मुख्यमन्त्री कँडेलले अहिलेको कार्य प्रगति हेरेर समस्याग्रस्त आयोजनाको रुपमा राख्ने तयारी भन्दा कामको गति बढाउने गरी विशेष योजना निर्माण गर्न संघीय सरकारलाई सुझाउनुभयो । उहाँका अनुसार यस समबन्धमा चाडै नै संघीय सरकारको ध्यानाकर्षण गराइनेछ । छलफलमा आयोजना प्रमुख सुरेन्द्र पौडेलले आयोजनाको कार्य प्रगति अपेक्षा भन्दा कमजोर रहेकोले थपिएको समयमा काम सम्पन्न हुन नसक्ने जानकारी दिनुभयो ।
आयोजनाका सन्दर्भमा आफूहरुको अधिकार सीमित रहेकोले माथिल्लो निकायबाट यस सम्बन्धमा विशेष पहल हुनुपर्ने उहाँले बताउनुभयो । आव.२०७१÷०७२ मा सुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको समग्र प्रगति हालसम्म करिब ५७ प्रतिशत पुगेको बताउँदै प्रमुख पौडेलले करिब साढे पाँच महिना बाँकी रहँदा आयोजनाको अन्तिम म्याद २०८२ चैत रहेको जनाउनुभयो । आयोजनामा अझै १० जना उच्च तहका प्राविधिक पद रिक्त छन्, जसका कारण कामको गति प्रभावित भएको छ ।
भेरीगङ्गा नगरपालिका–११ चिप्ले, सुर्खेतमा अवस्थित यो आयोजनाले १२ दशमलव दुई किलोमिटर लामो सुरुङमार्फत भेरी नदीको पानी बर्दिया जिल्लाको बबई नदीमा खसाल्ने योजना बनाएको छ । यसबाट ४६ दशमलव ६ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ ।
पहिलो चरणमा सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी कोभेकले तोकिएको समयभन्दा एक वर्षअघि नै विसं.२०७६ वैशाखमा सुरुङ कार्य सम्पन्न गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही वर्ष चिप्लेमा सुरुङको ‘ब्रेकथ्रु’ उद्घाटन गरेका गर्नुभएको थियो । दोस्रो चरणको काम पछिल्ला वर्षहरुमा सुस्त गतिमा अगाडि बढेको जनाइएको छ ।






