OnlinePana

आज : २०८२ मंसिर १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक १९, २०८२
११५ पटक

१८ कात्तिक २०८२, बुधबार

जुम्ला तातोपानी गाउँपालिका ४ हाँकुमा सञ्चालित गिरिखोला जाल्पादेवी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार, २०७५’ बाट सम्मानित भएको छ ।

गिरिखोला लघु जलविद्युत परियोजनामा महिला सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गरी विद्युतीकरणमा पुर्याएको योगदानको तथ्यलाई उच्च मूल्याङ्कन गर्दै वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंको समन्वयमा केन्द्रको २९औं स्थापना दिवसको अवसरमा मञ्चुका स्मृति अक्षय कोषअन्तरगत ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार, २०७५’ उक्त सहकारीलाई सम्मानित गरेको हो ।

पुरस्कारको राशी रु.५० हजार रहेको छ । प्रवद्र्धन केन्द्रले ग्रामीण क्षेत्रमा फोहोर व्यवस्थापन, सोलार र जलविद्युतबाट नागरिकलाई सहज सेवा प्रवाह गरेका सेवा प्रदायक परियोजना, सहकारी तथा संस्थालाई पुरस्कृत गरेको थियो । हिमाली जिल्ला जुम्लाको ग्रामीण क्षेत्रमा सञ्चालित गिरिखोला लघु जलविद्युत परियोजनाले दुई सय २० किलोवाट विद्युत उत्पादन गरी अन्धकार बस्तीहरुलाई झलमल्ल बनाएको छ ।

विसं.२०७९ पुस १५ गतेबाट आफ्नो परीक्षण सेवा सुरु गरेको विद्युत सहकारीले अहिले दुई हजार एक सय घरधुरीलाई विद्युत सेवा प्रवाह गरी महत्वपूर्ण योगदान पुर्याएवापत जलविद्युततर्फ गिरिखोला लघु जलविद्युतलाई केन्द्रले रु.५० हजार नगद र प्रमाण पत्रसहित पुरस्कृत गरेको उक्त सहकारीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उक्त पुरस्कार अध्यक्ष पाण्डेलाई मंगलबार उर्जा, जलस्रोत उर्जा तथा सिंचाईमन्त्री कुलमान घिसिङले प्रदान गर्नुभएको थियो । मन्त्री घिसिङल ग्रामीण समुदायको घरधुरीमा ९९ प्रतिशत उर्जाको पहुँच पुर्याउनमा योगदान पुर्याउने नीजि, समुदायिकलगायत सरोकारवाला सबैलाई धन्यवाद दिनुभएको थियो । उहाँले गिरिखोला लघु जलविद्युत परियोजनाले महिला सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गरी विद्युतीकरणमा सहयोग पुर्याएको भन्दै उच्च प्रशंसा र प्रगतिको कामना गर्नुभयो ।

गिरिखोला जालपादेवी विद्युत सहकारीबाट दुई सय २० किलावाट उत्पादन भएको पनि अहिलेसम्म एक सय ७० किलोवाट खपत हुँदै आएको र बाँकी ५० किलोवाट जगेडा रहेको उक्त सहकारीका व्यवस्थापक जयप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाले विद्युत सेवा प्रवाहबाट मासिक रु.तीन लाख ५० हजार आम्दानी गर्दै आएको छ । यसबाट साविकको कार्तिकस्वामी, तलिउम, लाम्रा र तातोपानी गाविसका स्थानीयले विद्युत उपभोग गर्दै आईरहेका छन् ।

परियोजनाका आठ र नेपाल विद्युत प्राधिकरणसँगको सम्झौमा चार ट्रान्सफर्मरबाट विद्युत वितरण भइरहेको व्यवस्थापक गौतमले जनाउनुभयो । उक्त ग्रामीण लघुजलविद्युत परियोजना एशियाली विकास बैंकको अनुदानमा प्रवद्र्धन केन्द्रबाट रु.पाँच करोड, रु.एक करोड ५४ लाख स्थानीयको शेयर रकम र नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकबाट रु.एक करोड ६३ लाखसहित करिब नौ करोड लागतमा निर्माण भएको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्