OnlinePana

आज : २०८२ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २३, २०७८
८५८ पटक

२२ माघ२०७८, आइतबार

कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेका ५५ जनालाई उद्धार गर्न हेलिकोप्टर पठाउन तयारी गरेको छ । माघ २० गतेदिखि परेको भारी हिमपात हुँदा उनीहरु त्यहाँ फसका छन् ।

प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका ५५ जनाको राहत तथा उद्धारका लागि तत्काल ड्राइफुडसहित नेपाली सेनाको सानो हेलिकोप्टर पठाउने तयारी भईरहेको जानकारी दिनुभयो । “अहिले नेपाली सेनाको ठूलो हेलिकोप्टर यहाँ छैन र हिउँ पाँच फिट परेको छ भन्ने सूचना प्राप्त भएकोले त्यहा गएर बस्न सक्ने अवस्था पनि छैन,” उहाँले भन्नुभयो, “भोकबाट बचाउन तत्काल उनीहरुलाई खानेकुरा खसाल्ने गरी सानो हेलिकोप्टर पठाउँदै छौं ।”

कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले त्यहाको अवस्थिति थाहा पाउनका लागि तातोपानी गाउँपालिका ८ जुम्ला टोप्ला गाउँका स्थानीय सुरतबहादुर शाहीसहित चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर जान तयारी भइरहेको बताउनुभयो ।

स्थानीय शाहीका अनुसार तातोपानी गाउँपालिका ८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओडार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेको बताउनुभयो । उनीहरु सेतक चिनी (खिरौंला) कोर्न पाटन गएका थिए । उहाँका अनुसार आफ्नै बुहारी जैकुवाँरा शाही र तातोपानी ७ बाह्रगाउँका मुनबहादुर रावतको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले स्थानीय तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँ फसेका व्यक्तिहरुको उद्धार कार्यको तयारी भइरहेको बताउनुभयो । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले हिउँमा फसेका मानिसका लागि तत्काल खाद्यान्न र चिसोबाट बचाउने साम्रगी जुगाड गरिएको तर हेलिकोप्टर विना खाद्य साग्रगी त्यहाँ पुर्याउन असंभव भएको जनाउनुभयो ।

मुख्यमन्त्री शाहीका अनुसार हेलिकोप्टर जुम्ला खलंगा अवतरण गर्ने नभई जाजरकोट र जुम्लाको सिमामा रहेको ग्राग्रा पाटनमा जाजरकोटको जुनीचाँदे गाउपालिका भएर सिधै पठाउने तयारी भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस्