७ भाद्र २०७८, सोमबार
एजेन्सीः अफगानिस्तानमा तालिबानका कब्जाको एक हप्तापछि अहिले पनि देशमा उथलपुथलको स्थिति छ । मानिसहरुलाई आफ्नो जीवनको चिन्ता छ । यहाँ एक महिला विद्यार्थीले आफ्नो डर र भविष्यबारे केही विचार साझा गरेकी छिन् । बीबीसीले उनीहरुको सुरक्षाका कारण पहिचान लुकाएको छ ।
एक छात्राको कहानी उनकै शब्दमाः
देश हारेको एक हप्ता बितिसकेको छ । राष्ट्रपति भागिसकेका छन् र तालिबान एकपटक पुनः सत्तामा आइसकेको छ । हामीलाई पछि धकेलिएको छ ।
डरले मेरो पूरा अस्तित्वमाथि कब्जा जमाएको छ र जति जति दिन बित्दैछन्, म महसुस गर्न सक्छु कि मेरा आशा कसरी मबाट गायब हुँदै गइरहेका छन् । यसको साटो ममा निराशा र कुण्ठाले डेरा जमाएको छ । म अँध्यारो र अनिश्चितता मात्रै देख्छु, उज्यालो भविष्यबारे त सोच्नै सक्दिनँ ।
म पक्कै पनि मारिनेछु । त्यसका लागि कारण पनि छन् । यो भावना त्यतिबेला जागृत हुन्छ जब तपाईंलाई अत्यधिक डर लाग्ने समूहले नै देशमाथि कब्जा जमाउँछ ।
यो यस्तो हो जस्तो कि तपाईं एउटा लामो सडकमा हुनुहुन्छ जसको कुनै अन्त्य नै छैन र धुँवाले भरिएको मौसममा तपाईं एकदम एक्लो हुनुहुन्छ । मैले आफ्नो जीवनमा अत्यधिक बाधा देखेकी छु, यस्ता बाधा जसलाई अन्य महिलाले सहनै सक्दैनन् । मैले ती सबैबाट बाहिर आउने कोसिस गरेँ तर यो त…………
सुन संसारभरिका मानिस !
हे संसारभरिका मानिसहरु के तिमीलाई यहाँ के भइरहेको छ, त्यसको वास्ता छ ? के हामी तिमीहरुका लागि महत्वपूर्ण छौं ? के तिमीहरु सबैले हामीलाई देखिरहेका छौ ? जसले हामीलाई सुनिरहेका छन्, जसले हाम्रो वास्ता गर्छन्, म उनीहरुका लागि लेखिरहेकी छु, म उनीहरुका लागि यो भनिरहेकी छु ।
हामी यहाँ पीडित छौं, हामीलाई छोडिएको छ । डरसहित बाँच्नु मृत्युभन्दा कम होइन । यो असाध्यै खराब स्थिति हो ।
यति तपाईंहरु हामीलाई सुनिरहनुभएको छ भने हाम्रो मद्दत गर्नुहोस् । हामीलाई जिउँदो रहनका लागि मद्दत गर्नुहोस् । मलाई उजेली र उदयमाथि पुनः विश्वास छ र म पहिलेको भन्दा बलियो बनेर उदाउनेछु ।
हामी आफ्नो देश फिर्ता चाहन्छौं । हामी चाहन्छौं कि हाम्रा मानिसहरु त्यसरी नै बाँचून् जसरी उनीहरु बाँच्न चाहन्छन् र जसरी उनीहरुलाई ठिक लाग्छ ।
तपाईं आफ्नो देशलाई युद्ध रोक्न भन्नुहोस् किनभने यो सबैभन्दा खराब हो । यसको अनुहार कुरुप हुन्छ र यसको कुनै बिजेता हुँदैनन् । युद्ध र यसको परिणाम झेल्नका लागि यो मुटु असाध्यै सानो छ ।
शंका, डर र अनिश्चिततामा डुबेको भविष्यः
हामी युद्धको नतिजा हौँ । केही युवती डर, शंका र अनिश्चिततामा डुबेका छन् । हामी जिउँदो रहनका लागि कसैको आशमा बसेका छन् । हामी आफ्नो परिवारलाई हेर्छौं र रुन्छौं, आखिर योभन्दा बढी के नै गर्न सक्छौं ?
हामी आकाशमाथि हेछौं र सोध्छौंः के तिमीले हामीलाई देखिरहेका छौ ? हाम्रो मद्दत गर्छौ ? के हामी आशावादी हुनुपर्छ ? एउटा सानो आशा ।
यहाँभन्दा बाहिर बस्ने मानिसहरुले सूनून्, तिमीहरु भाग्यमानी छौ ? तिमीहरुले जस्तो जीवन बाँचिरहेका छौ, त्यसमा मलाई डाहा छ ।हामीलाई हेर । मेरा निकै ठूला सपना थिए । अरुलाई मद्दत गर्ने सपना तर अब म आफै मद्दत मागिरहेकी छु ।