OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

नेपाल पक्षको नयाँ पार्टीः नेकपा एमाले समाजवादी

माधव, झलनाथ र वामदेवको अब एउटै पार्टी

कोरपाटी संवाददाताभाद्र २, २०७८काठमाडौं
७५१ पटक

२ भाद्र २०७८, बुधबार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले भण्डारीले आज दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेपाल समुहमा उक्त तयारीमा जुटेको हो ।

राष्ट्रपतिले अध्यादेश जारी गरे लगतै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहको केन्द्रीय कमिटि स्रोतले जनाएको छ। ‘स्रोतका अनुसार ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको र ‘अध्यादेश जारी भइसकेकोले दल दर्ता गर्ने तयारीमा लागिएको छ ।

उक्त समुहले दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी गरेको छ । नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रहने तर अन्य पदाधिकारीबारे छलफल नभएको जनाईएको छ ।

दल दताका लागि आजै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ निर्वाचन आयोगतर्फ लागेका छन् । एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल रहनेछन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । उहाँका अनुसार चुनाव चिन्ह खुला किताब प्रस्ताव गरिएको छ ।

माधव, झलनाथ र वामदेवको अब एउटै पार्टी

नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी स्थापना गर्न वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम एक ठाउँमा उभिने भएका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी भएलगत्तै राजनीतिक रूपमा पुस ५ पछि नै फुटिसकेको एमाले कानूनीरूपमा पनि विभाजित हुनेछ ।

एमाले विभाजनमा माधव नेपाल समूहका दोस्रो पुस्ताका नेताहरू डराए पनि पहिलो, तेस्रो तथा चौथो पुस्ता भने एक ठाउँमा छन् । त्यसैले पछिल्लो समय नेपालले वार्ताकार दोस्रो तहका नेताभन्दा तेस्रो र चौथो तहका नेता कार्यकर्तासँग सघन संवाद गरिरहेका छन् ।

एमाले विभाजन रोक्न साथ खोज्दै दिल्ली पुगेका सुरेन्द्र पाण्डे र भीम आचार्यलाई झलनाथ खनालले ‘केपी ओलीसँग मिल्न सकिँदैन’ भनेर फर्काइदिएपछि नेपाल समूह उत्साही छ । माधव नेपाल र झलनाथ खनालले अलग पार्टी बनाए आफू त्यसमा सहभागी हुने अर्का नेता वामदेव गौतमले बताइसकेका छन् ।

नेपालनिकट एक नेताले भने, ‘दोस्रो तहका केही नेता अझै पनि खुट्टा कमाइरहेका छन् । तर, हामीले विद्रोह गरेपछि उनीहरू पनि माधव नेपालको पछिपछि आउन बाध्य हुन्छन् । झलनाथले हप्काएर पठाएपछि उनीहरू हच्किएका छन् । अबको एमाले विभाजन २०५४ सालको भन्दा ठूलो स्केलको हुनेछ ।’

माधव नेपाल समूहले तलसम्मका कार्यकर्तालाई सर्कुलरमार्फत अब झलनाथ, माधव र वामदेवको नेतृत्वमा पार्टी पुनर्गठन हुने र वडादेखि केन्द्रसम्म समानान्तर संरचनाहरू बनिसकेकाले एमालेभन्दा ठूलो पार्टी बन्ने भनेर उत्साहित बनाइरहेको छ । आउने चुनावमा कांग्रेससहित अहिलेको सत्तारुढ गठबन्धनले एमालेविरुद्ध एक भएर चुनाव लड्ने जानकारीसमेत तलैसम्म पठाइएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्