

१ भाद्र २०७८, मंगलबार
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले अर्थसचिव चक्रबहादुर बुढासँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकारको चालु आव.०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गर्न योजनामन्त्री शर्माले आज सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । मूलतः सबै मन मष्तिष्कदेखि आ–आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध हुन र कार्यप्रतिको दायित्व बढाउन कार्यसम्पादन सम्झौता गरिएको उहाँले बताउनुभयो ।
“आर्थिक मामिला मन्त्रालय प्रदेश सरकारको विशेष महत्वको मन्त्रालय हो । यसबाट उत्पन्न समस्याले सिंगो प्रदेश प्रभावित हुन्छ,” मन्त्री शर्माले भन्नुभयो, “यो सम्झौताले कुन दिन कसले, कहा के काम गर्ने भन्ने कुराको निर्देशन सम्बन्धितलाई पक्ष दिने गर्दछ ।” यसले एकीकृत भएर लाग्न र एकले अर्कोप्रति र विशेषगरी जनताप्रति जवाफदेही भएर काम गर्न सघाउने उहाँको भनाई थियो ।
उक्त मन्त्रालयका सचिव चक्रबहादुर बुढाले हरेक कामहरु नियमित गर्न र त्यसबाट प्राप्त परिणामलाई मापन गर्न सकियोस् भन्ने उद्देश्यका साथ जिम्मेवार पदाधिकारीबीच कार्यसम्पादन सम्झौता गरिएको बताउनुभयो । “हामीले आ.आफ्नो जिम्मेवारी अनुसार तोकिएको सूचकका आधारमा कार्यसम्पादन पहिचान गर्नेछौं,” उहाँले भन्नुभयो, “सबैले आफ्नो जिम्मेवार पदाधिकारीप्रति प्रत्येक महिनाको प्रगति विवरणसहितको लिखित प्रतिवेदन पेश गर्नुपर्नेछ ।”
उहाँले प्रदेश सरकारको कामलाई नतिजामूखी बनाउन उत्कृष काम गर्नेलाई प्रदेशले तोकेको सुविधा भन्दा कामका आधारमा सुविधा दिने बताउनुभयो । कर्मचारी महाशाखाका प्रमुख पदमबहादुर बुढाक्षेत्रीले समग्र प्रदेशको सुशासन, विकास र सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारीलाई कामका आधारमा पुरस्कृत गर्ने जनाउनुभयो ।
चालु आव.०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि आज योजनामन्त्री शर्मा र सचिव बुढा र सचिव बुढा र बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख लवकुमार अधिकारी, कर्मचारी महाशाखाका प्रमुख पदमबहादुर बुढाक्षेत्री र प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख मानबहादुर बमबीच कार्यसम्पादन सम्झौता भएको छ ।