OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २९, २०७८काठमाडौं
९९१ पटक

२९ साउन २०७८, शुक्रबार

जिउँदो हुँदाहुँदै मृत्यु भयो भनेर काजकिरिया गरिएका एक व्यक्तिले मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि नागरिकता पाएका छन् । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङले बिहीबार नेपाली नागरिकताको प्रतिलिपी प्राप्त गरेका हुन् ।

२०७२ साल असारमा साउदी अरबमा दुर्घटनामा परेका उनको मृत्यु भयो भन्दै शव आएपछि आफन्तले अन्त्येष्टि गरी २०७२ साउन ६ गते मृत्यु दर्ता गरेका थिए । तर दुर्घटनाको एक वर्षपछि उनी जीवितै घर फर्किए ।

तामाङको बिहीबार मृत्यु दर्ता खारेज गरी मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकताको प्रतिलिपी प्रदान गरेका हुन् । ‘राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार मृत्यु दर्ता खारेज गरी नागरिकताको प्रतिलिपी दिइएको छ,’ प्रजिअ निरौलाले भने ।

सुभाषको भनेर अन्त्येष्टि गरिएको शव अर्कैको

वैदेशिक रोजगारीका क्रममा साउदीमा रहेका सुभाष २०७२ साल असार २५ गते दुर्घटनामा परेका थिए । दुर्घटनाको २८ दिनमा सुभाषको भनेर शव नेपाल आयो । परिवारले धार्मिक संस्कार अनुसार अन्तिम संस्कार गरे ।

तर पछि उक्त शव सुभाषको नभएर बागलुङको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको रहेको पुष्टि भयो । उनी कार्यरत कम्पनीको लापरबाहीका तेजेन्द्रको शवलाई सुभाषको भनेर नेपाल पठाइएको थियो । दुर्घटनाबाट गम्भीर घाइते भएका सुभाष उपचारपछि २०७३ सालमा नेपाल फर्किएका थिए ।

उनले आफ्नै मृत्यु दर्ता खारेजीका लागि प्रक्रिया थालेका थिए । ‘पाँच वर्षसम्म सरकारी निकायमा धाएर बिहीबार बल्ल नागरिकता पाएँ,’ सुभाषले भने ।

भोजपुरको (साविक कुदाककाउले गाविस–९) हालको षडानन्द नगरपालिका–२ का उनी भोजपुरबाटै २०६० जेठ २९ गते ४८४१–११–२५५४ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेर वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । सुभाषको मृत्यु दर्ता भोजपुरमै गरिएको थियो ।

भोजपुरबाट जारी भएको नागरिकता नम्बर नै कायम रहने गरी मोरङबाट प्रतिलिपी उपलब्ध गराइएको प्रजिअ निरौलाले जानकारी दिए ।

मृत्यु दर्ता हुँदा लामो समयदेखि अनावश्यक दुःख पाउनु परेका कारण सरकारले आफूलाई क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।

आफू जीवित रहेको सरकारी प्रमाणसहित नेपाली नागरिकता प्राप्त गरेका उनले पुनः विदेश जाने सोच बनाएको बताए । बेलबारी बस्दै आएका उनले केही समय सिटी सफारी सञ्चालन गरेका थिए । उनका दुई छोराछोरी र श्रीमती छन् । अनलाईन खबरबाट

प्रतिकृया दिनुहोस्