OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहपौष १४, २०७६ सुर्खेत
६९४ पटक

सुर्खेत, १४ पुस ः आज पनि भन्ने गरिन्छ, “कर्णाली घुमे सिङ्गो नेपाल घुमिन्छ । नेपाल पढ्न कर्णाली एक पटक जानैपर्छ । कर्णाली बुझ्नेहरुसँग मात्र यो देशको राष्ट्रियता झल्किन्छ ।” तथापि कर्णालीमा यो देशका थोरै मानिस मात्र पुगेका छन् । देशको पूर्वी, मध्य पहाडी तथा सुदूपश्चिमी भेकमा नागरिक ओहोरदोहोर निर्वाध देखिएपनि कर्णाली मौसमी भ्रमण चल्ने गछन् ।
विसं.२०६८ को जनगणना अनुसार नेपालको कूल क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसंख्या रहेको छ । कूल जनसंख्याको ६.१ प्रतिशत मात्र मानिस कर्णालीमा बसोबास गर्छन् । थोरैले बसोबास गर्ने भएपनि देशको कूल क्षेत्रफलको करिब २२ प्रतिशत भूभाग कर्णालीले नै ओगटेको छ । यहाँको जनघनत्व प्रति वर्गमिटर ५१ जना मात्र रहेको छ । हाल यो प्रदेशमा तीन लाख नौ हजार ३७६ घरपरिवार रहेका छन् ।
शिक्षा, स्वास्थ्य र रोजगारीका हिसाबले पछि परेपनि भौगोलिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक र ऐतिहासिक हिसाबले कर्णाली प्रचुर पर्यटकीय संभावना भएको प्रदेश हो । यहाँ सार्वजनिक नभएका पर्यटकीय स्थलहरु सयौं छन् । पर्यटन क्षेत्र प्रदेशको आर्थिक समृद्धिको आधार भएको भन्दै प्रदेश सरकारले प्रवद्र्धनको आधार खडा गर्ने योजना अघि सारेको छ ।
त्यही बमोजिम कर्णाली सरकारले ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ मा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो । “कर्णालीमा स्तरीय सडक, होटेल, सञ्चार, विद्युत जस्ता पूर्वाधार छैनन्,” मन्त्री बुढाले भन्नुभयो, “पर्यटक भित्र्याउन तत्काल हामी संघीय सरकारसँगको समन्वय कर्णाली एयरलायन्स सञ्चालन गर्ने पहलमा छौं ।”
सरकार आवश्यक संरचना तयारगरी नीजि क्षेत्र सक्रिय बनाउन लागि परेको भन्दै उहाँले पोखरा–डोल्पा, धनगढी–सुर्खेत, भैरहवा–सुर्खेत यातायात जोड्ने पहल भईरहेको बताउनुभयो । यसले पनि कर्णाली भ्रमणमा आउने पर्यटकहरुलाई आवतजावत सहज हुने उहाँको भनाई थियो ।
उहाँले अगाडि भन्नुभयो, “हाल कर्णालीमा धार्मिक तथा मनोरञ्जन लिने पर्यटक आउने गरेका छन् । प्रदेश सरकारले बनाएको पञ्चवर्षीय कार्ययोजना र १० वर्षीय रणनीतिक योजनासहितको गुरुयोजना कार्यान्वयनले आशा गरौं, अब सबै रुचिका पर्यटकहरुको रोजाईका लागि कर्णाली मुलुकको प्रमुख पर्यटकीय गन्तव्य बन्नेछ ।”
उहाँका अनुसार पर्यटन गुरुयोजना बमोजिम संघीय सरकारको छनोटमा १३, प्रदेशअन्तरगत ९ र स्थानीय तहमा ७९ गरी कर्णालीमा हाल १०१ पर्यटकीय स्थलहरु सार्वजनिक गरिएको छ । तिनै स्थलमा पाहुनाहरु पु¥याउने स्पष्ट खाका गुरुयोजना बनाएको छ ।
कर्णालीका पर्यटकीय स्थलहरु
संघीय सरकारले घोषणा गरेको हुम्लाको लिमी उपत्यका, डोल्पाको शे–फोक्सुण्डो, त्रिपुरासुन्दरी मन्दिर, मुगुको राराताल, जुम्लाको सिंजा उपत्यका र डुडुल चैत्य, कालीकोटको पचाल झरना रहेका छन् । त्यस्तै, जाजरकोटको खलंगा दरबार, दैलेखको कोतगढी पञ्चदेवल बेलासपुर महावु क्षेत्र, रुकुम पश्चिमको चित्रे पाटन, सल्यानको कुपिण्ड दह, सुर्खेतको काक्रेविहार र देउती बज्यै मन्दिरलाई समेत संघीय सरकारले नै छनोट गरेको हो ।
प्रदेशअन्तरगत प्रदेशभरिको भेरी÷कर्णाली जलयात्रा, हिमालयन ग्रेट ट्रेल, हिमाल आरोहण, हुम्लाको मानसरोवर रुट, बारदेव पर्यटकीय क्षेत्र र सिमकोट शिवमन्दिर, डोल्पाको शे–गुम्बा र तिन्जे उपत्यका, सुर्खेत–दैलेखमा पर्ने गुराँस क्षेत्र छनोटमा परेका छन् । १० जिल्लाका प्रति स्थानीय तह एक पर्यटकीय स्थल पहिचान गरेबमोजिम यहाँ ७९ स्थानीय तहमा ७९ पर्यटकीय स्थल रहेका छन् ।
कर्णालीमा पर्यटक आकर्षणका आधार
कर्णाली अर्गानिक उत्पादनको प्रमुख क्षेत्र हो । समग्र क्षेत्रको अध्ययन तथा अनुसन्धान केन्द्र हो । भौगोलिक तथा प्राकृतिकरुपले उत्कृष्ट भूमि हो । धार्मिक तथा साँस्कृतिक सम्पदायुक्त स्थल हो । यहाँ सबैखालका पर्यटकीय आकर्षणका क्षेत्रहरुको आधार कर्णाली प्रदेश सरकारले तयार गरिरहेको छ ।
मुलुकका अन्य ठाउँमा नपाईने चीजहरु कर्णालीमा पाईने भएकोले पर्यटकहरुका लागि यो आकर्षणको मुख्य आधार भएको कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । यार्सासहित विभिन्न बहुमूल्य जडिबुटी, कालीमार्सी धान, कोदो, चिनो, कागुनो, फापरलगायतका खाद्यबालीले पनि पर्यटकहरुलाई आकर्षण गरेको उहाँले बताउनुभयो ।
“पर्यटनसँग सम्बन्धित प्रदेश पहिचानको लोगो, पर्यटकीय भूमि बुलबुलेबाटै भ्रमण वर्ष २०२० को शुभारम्भ, पर्यटकको रुचि अनुसारको बजार व्यवस्थापनको तयारी पर्यटक आकर्षणका अल्पकालीन आधार हुन,” सचिव डा.आचार्यले भन्नुभयो, “दिर्घकालीन आकर्षणका आधारका रुपमा प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गरेको छ ।” जसले पर्यटकको रोजाई पुरागरी उनीहरुको बसाई लम्ब्याउन सहयोग पुग्ने उहाँको भनाई छ ।
अर्गानिक खाना, संसारको पाँचौ उत्कृष्ट नदी कर्णाली र भेरी नदी जलयात्रा, काञ्जिरोवा, पातारासी, सिस्नेलगायतका हिमालको आरोहण, निर्माणाधिन सिंजा खस संग्राहलयको अध्ययन एवं अनुसन्धान, दैलेख पञ्चकोशी ज्वाला क्षेत्रको उत्खनन् आदि पनि पर्यटक आकर्षणका आधारहरु रहेको सचिव आचार्यले बताउनुभएको छ ।
किन घुम्ने कर्णाली ?
कर्णालीलाई अहिले पनि कतै भूत त कसैले दण्ड भोग्ने भूगोलको दृष्टिकोणले हेर्ने गरिन्छ । कर्णालीलाई दुर्गमको संज्ञा दिईन्छ । कर्णालीबाट काठमाडौं पनि दुर्गम रहेको होटल तथा पर्यटन व्यवसायी नुर्वु लामा बताउनुहुन्छ । कतिपयले कर्णालीमा मान्छे बस्छन् र ? भनेर पनि प्रश्न गरेको पनि पाईन्छ । यिनी प्रश्नको उत्तर पाउन हरेकले एकपटक कर्णाली घुम्न आउनै पर्ने उहाँको भनाई छ ।
यता युवा मनोज बुढाथोकी मगरले काठमाडौमा कर्णाली सुनेका आधारमा भय पाल्ने मनस्थिति विद्यमान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली सबै खाले पर्यटकीय गन्तव्य हो । पर्यटकीय मनोरञ्जन लिन र कर्णाली बुझ्न कर्णाली जानैपर्छ ।”
पर्यटनसम्बन्धी जानकार हरिहर न्यौपाने भन्नुभयो, “कर्णालीको वास्तविक धरातलीय यथार्थतालाई गहिराईबाट नियाल्न र त्यसलाई वस्तुनिष्ट ढंगले व्याख्या गर्न कर्णाली घुम्नैपर्छ । किनकी, कर्णाली भाषा, साहित्य, कला, संस्कृति र सभ्यताको उद्गमस्थल हो । सर्वमान्य देवभूमि हो । प्रकृतिको अनुपम भूगोल हो । स्रष्टा एवं सर्जक निर्माणको उत्तम अवसर प्राप्तिको थलो हो ।”
साँचो अर्थमा, “कर्णाली नयाँ खोज तथा अनुसन्धान गर्नेहरुका लागि प्रचुर संभाव्य स्रोत भएको ठाउँ हो । अँझै भनौं, यो साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक र पर्यापर्यटनको उत्कृष्ट गन्तव्य हो । यहाँका सबैखाले पर्यटकीय स्थलहरुको अवलोकन तथा तिनको खोज, अध्ययन, अनुसन्धान, अन्वेषणगरी यथेष्ट अवसरहरु लिन सकिने सौभाग्य कर्णालीले प्रदान गर्दछ ।”
घुम्नैपर्ने पर्यटकीय स्थलहरु
कर्णाली प्रदेशको राजधानी सुर्खेत यस प्रदेशका १० जिल्लामा अवस्थित पर्यटकीय क्षेत्र प्रस्थान गर्ने प्रवेशद्वार हो । साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक अध्ययन तथा अनुसन्धानका हिसाबले सिंजा उपत्यका र प्रकृतिको अनुपम उपहारका दृष्टिले रारा नेपालकै उत्तम गन्तव्य हुन् । डोल्पाको से–फोक्सुण्डो, त्रिपुरासुन्दरी मन्दिर उत्तिकै घुम्नलायक ठाउँहरु हुन् ।
कर्णालीको भाषा, साहित्य, संस्कृति, कला, पुरातत्व, धर्म र ईतिहासका बारेमा शोध पत्र तयार गर्ने अनुसन्धानकर्ताका लागि सिंजा, दैलेख कोतगढी पञ्चदेवल बेलासपुर महावु क्षेत्र, सुर्खेत काक्रेविहार, जुम्लाको कनकासुन्दरी, चन्दननाथ मन्दिर र तातोपानी गाउँपालिकाको ‘लक्षाल कृति पैकेलो’ (साहसिक योद्धा) महत्वबारे जान्न पर्यटकहरु तिनी स्थलहरुमा जानैपर्छ । जुन स्थलहरुले एउटा सामान्य मान्छेलाई नयाँ खोजमा लाग्न उत्प्रेरित गर्दछन् ।
पूर्वाधारको अवस्था
दैलेखको कोतगढी पञ्चदेवल बेलासपुर महावु क्षेत्र, कालीकोटको पचाल झरना, जुम्लाको सिंजा, डुडुल चैत्य र मुगुको राराताल पुग्न धेरै पर्यटकहरु कर्णाली राजमार्ग भएर जान्छन् । हुम्ला जाने एकमात्र विकल्प हवाईजहाज हो । डोल्पा जाने सडक पूर्णरुपले बनिनसकेकाले यहाँका बहुसंख्यक मानिसकहरु हवाईजहाज नै प्रयोग गर्छन् । मुगु र जुम्लाको एकतिहाई जनसंख्याले हवाईजहाज नै प्रयोग गर्दछ ।
हवाई यात्रा खर्चिलो भएकाले कर्णालीमा सबैस्तरका पर्यटकहरुको प्रस्थान हुन सकेको छैन । यसको सहजताका लागि सरकारले पहिलो कर्णाली राजमार्गको स्तरवृद्धि गर्नुपर्नेमा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले जोड दिनुभयो ।
“सरकारले कर्णालीमा लगानी गर्ने वातावरण तयगरी ठूला खालका होटल र उद्योगधन्दा सञ्चालन गर्नुपर्दछ,” अध्यक्ष शाहीले भन्नुभयो, “नीजि क्षेत्रको सहकार्यमा पर्यटनका संरचना सरकारले तयार गर्न सके कर्णालीको पर्यटनले यहाँको विकास र समृद्धिमा सहयोग पुग्छ ।”
कालीकोटमा भने हवाई यातायात सेवा नभएकोले हिड्नु या गाडी प्रयोग गर्नुको विकल्प छैन । यद्यपि कर्णाली भ्रमणमा आउने पर्यटकीहरुका लागि स्तरीय सडक, होटल, होमस्टे सुविधा नहुँदा समस्या हुने गरेको छ । नेपाल वायुसेवा निगमको जहाँजले राजधानी सुर्खेतबाट कुनैपनि जिल्ला जोड्न सकेको छैन । नीजि विमानहरुको आफूखुशी राज चल्ने गरेको नगारिकहरुले गुनासो गर्दै आएका छन् ।
यद्यपि यहाँबाट सबै पर्यटकीय क्षेत्रमा पुग्न केही भौगोलिक कठिनाईहरु छन् । सबैखाले संरचना बनिनसकेका कारण यहाँ पुग्ने पर्यटकहरुलाई आउन जान निकै कष्टकर, झञ्जटिलो हुँदा त्यसको सन्देश बाहिर गलत जाने चुनौति पनि सरकारलाई त्यतिकै छ । यद्यपि यिनी पूर्वाधारहरुको निर्माण गर्ने तयारीमा लागेको सरकारले जनाएको छ ।
पर्यटकको रोजाई
कर्णालीमा सबैभन्दा बढी धार्मिक पर्यटकहरु जो भारतबाट आउने गर्दछन् । बहुदेवतावादी संस्कृतिले सम्पन्न कर्णालीमा मष्टो देवता मान्य मानिसहरुको बाहुल्यता छ । बाह्र भाई मष्टो भनेर पुज्ने संस्कृति विद्यमान रहेकोले अध्ययन अनुसन्धानका लागि देशी विदेशी पाहुनाहरुको रोजाईमा संस्कृति पर्ने गरेको कर्णालीका संस्कृति सम्बन्धी जानकार रमानन्द आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै मानसरोवर हुँदै कैलाश पर्वतमा पुग्ने हालसम्म भारतीय धार्मिक पर्यटहरु उल्लेख्य मात्रामा छन् । त्यसपछि ताल तलैया र हिमाल हेर्ने पर्यटकहरुको रोजाईमा कर्णाली पर्दछ । कर्णालीका हिमालहरुमा आरोहणका अनुमति नभएकाले आरोही पर्यटकहरु भनेर पाउन सकिएको छैन ।
अब भने यहाँ साहसिक खेल पर्यटनको विकास हुन थालेको छ । कर्णालीमा ¥याफ्टिङ, प्याराग्लाडिङ, अल्ट्रा म्याराथुन जस्ता खेलहरु शुरु भएका छन् । विश्वका खेलाडी आकर्षित गर्ने उद्देश्यका साथ संसारकै उच्चस्थानमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिकाको छुमचौरसँग जोडिएको लौठचौरमा निर्माण हुने कर्णाली हाईअल्टिच्यूड टे«निङ सेन्टर विभिन्न खेलहरुको गन्तव्य बन्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय जुम्लाका प्रमुख बरमबहादुर महतले बताउनुभयो ।
सिञ्जा संस्कृति र सभ्यताका क्षेत्रमा जापान, बेलायत, ईटालीका नागरिकहरुले शोधपत्र तयार गरेको कनकासुन्दरी गाउँपालिका लुड्कु गाउँ निवासी खस भाषासम्बन्धी जानकार तुङ्गनाथ उपाध्यायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संस्कृतिविद् सत्यमोहन जोशीलगायतको टोली सिञ्जामा बसेर संस्कृतिसम्बन्धी अध्ययन ग¥यो ।”
पछिल्लो समयमा अध्ययन, अनुसन्धान गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु नगण्य मात्रामा रहेको उहाँको भनाई थियो । उहाँका अनुसार भूगोल तथा प्रकृति दृश्यावलोकन गर्ने पर्यटकहरुको संख्या बढ्न थालेको छ । हेरेर मज्जा लिने पर्यटकहरुको संख्या भने राम्रै देख्न पाईन्छ ।
अब भने पर्यटनलाई आर्थिक विकासको मूल मुद्दा बनाए जाने उद्देश्यका साथ कर्णाली प्रदेश सरकारले विभिन्न साँस्कृतिकसहित नागरिकदेखि सबै सरोकारवालाहरुको सहभागितामा ‘नेपाल भ्रमण वर्ष २०२०’ को भव्य शुभारम्भ गर्ने भएको छ । उक्त दिनमा प्रदेश सरकारले ‘विश्वको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली’ बनाउने दिर्घकालीन सोच सार्वजनिक गर्दै भ्रमण वर्षको दिनलाई सुसम्पन्न गर्ने सचिव डा.आचार्यले जनाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्