

३० असोज २०८२, बिहीबार
सुर्खेतः नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने कार्य अगाडि बढाएको छ ।
नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा.कमल लामिछानेले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमार्फत नयाँ परियोजनाहरुको प्रगति र आगामी योजनारुका बारेमा पत्रकारहरुलाई जानकारी गराउँदै कर्णाली प्रदेशभर फोरजी तथा फाईबर नेट सेवाको पहुँच विस्तार गरिने बताउनुभयो । उहाँले अहिलेसम्म यहाँका ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको जनाउनुभयो ।
“ग्रामीण क्षेत्रमा नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीहरुमा सञ्चार सेवा पुर्याउने लक्ष्यका साथ कार्य थालनी गरेका गर्छौ,” उहाँले भन्नुभयो, “थप ५० पालिकासम्म सेवा सर्वेका काम पनि भइरहेका छन् । कोहलपुर–सुर्खेत १३२ केभीको विद्युत प्रसारण सुर्खेतसम्म जोडिने बित्तिकै फाईबर नेट सेवा विस्तार गर्न सहज हुन्छ ।” फाईबर नेटको सेवा विस्तार सुर्खेतको चिंगाड गाउँपालिकामा पनि जोड्ने तयारीमा रहेको उहाँको भनाई थियो ।
सञ्चार सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्न थालिएको बताउँदै निर्देशक डा.लामिछानेले दैलेख, कालीकोट, जुम्ला सिंजासम्म फाइबर नेटको सेवा विस्तारको काम भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार यसका लागि प्राविधिकहरुले घरदैलोको काम गरिरहेका छन् । केन्द्रीय योजनाअन्तरगत अपर डोल्पा, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत लेखफर्सालगायत दशवटा स्थानमा बिटिएस सेवा सञ्चालनमा ल्याइएको छ ।
सोलार सिस्टम र विद्युतीकरणको पाटो बलियो भएमा सञ्चार सेवा विस्तार गर्न सकिने उहाँको भनाई थियो । विद्युतीकरणका लागि प्रदेशभरिमा ३० वटा साईटका लागि विद्युत प्राधिकरणलाई पेश्की उपलब्ध गराइसकेको जनाउँदै उहाँले दुर्गम बस्तीका १६ स्थानीय तहको बजार क्षेत्रमा पुगिएको र डिजिटल कर्णाली कन्क्लेभको परिकल्पना अनुसार काम भईरहेको बताउनुभयो ।
बिटिएसबाट डोल्पा जिल्लाको मुड्केचुलामा काम भइरहेको जनाउँदै त्यसो नभएको खण्डमा रिङ नेटबाट सेवा सञ्चालन गर्ने र सुर्खेत आसपासका क्षेत्रमा फोरजीको सेवा विस्तार गर्ने उहाँले जनाउनुभयो । हुम्लाको हिल्सामा पनि यही वर्षमा फोरजी सेवा सुचारु गर्ने लक्ष्य राखिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतले जनाएको छ ।