OnlinePana

आज : २०८२ कार्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक १३, २०८२
७ पटक

१२ कात्तिक २०८२, बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र चोरीका घटनामा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गर्नुभएको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गतेका दिन आगजनी, लुटपाट तथा चोरीबाट क्षति भएको सम्पतिका अध्ययन गर्न आज सुर्खेत आइपुग्नुभएका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँगको भेटघाटका क्रममा मुख्यमन्त्री कँडेल निष्पक्ष छानबीन तथा अध्ययन गर्न आग्रह गर्नुभएको हो । उहाँले आन्दोलनको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई सुझाव दिनुभयो ।

मुख्यमन्त्री कँडेलले बिगतमा राजनीतिक तथा जनआन्दोलन जे भए पनि कहिल्यै नागरिकको निजी सम्पत्तिमा आगजनी वा लुटपाट जस्ता घटना नभएको स्मरण गराउनुभयो । “अपराधलाई राजनीति भनेर ढाकछोप गरियो भने कानूनको शासन कमजोर हुन्छ र अराजकता बढ्ने खतरा रहन्छ,” उहाँले भन्नुभयो, “अब नागरिक नै असुरक्षित हुने अवस्था आउन सक्छ ।”

अपराधजन्य कार्यमा संलग्न जो कोही भए पनि कानून अनुसार कडा कारवाही गर्नुपर्नेमा उहाँको जोड थियो । जाँचबुझ आयोग र प्रहरी प्रशासनले सत्यतथ्य र निष्पक्ष अनुसन्धानद्वारा दोषीलाई कारवाहीमा ल्याए मात्रै भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सकिने मुख्यमन्त्री कँडेलको भनाई थियो । उहाँका अनुसार छानबीन सत्य तथ्य हुन नसके अपराधिक तत्वले प्रशय पाउँछ ।

जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले निजी घर जलाउने कार्यलाई स्पष्टरुपमा अपराधिक गतिविधिको रुपमा आयोगले अध्ययन गर्ने बताउनुभयो । उहाँले व्यक्तिगत घरमा आगजनी, लुटपाट र चोरी गर्ने कुरा राजनीतिक नभएको उल्लेख गर्नुभयो ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले हालसम्म सुर्खेतमा भएको आगजनी, लुटपाट र चोरीसम्बन्धी फोटो तथा भिडियो प्रमाणहरु संकलन गरिएको जानकारी दिनुभयो । घटनामा संलग्न व्यक्तिहरुको पहिचान कार्य अन्तिम चरणमा पुगेको बताउँदै उहाँले केही दिनभित्रै कानुनी कारवाही अगाडि बढाइने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्