OnlinePana

आज : २०८३ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक १४, २०८२
२७४ पटक

१३ कात्तिक २०८२, बिहीबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विपद्का लागि जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि स्रोत आवश्यक हुने बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ईपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना र स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको समन्वयमा सुर्खेत वीरेन्द्रनगरमा आजदेखि सुरु भएको ‘प्रदेश स्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य योजना सम्बन्धी कार्यशाला’को उद्घाटन सत्रमा बोल्दै उहाँले कर्णालीको भूगोल अनुकूल विपद् प्रतिकार्यका लागि तत्काल खर्च गर्ने स्रोत जुटाउन कठिन हुने गरेको बताउनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त जनशक्तिहरु संख्यामा धेरै भएपनि प्रतिकार्यमा फिल्ड खटिने संख्या कम भएको टिप्पणी गर्दै मन्त्री भण्डारीले आगामी दिनमा सक्रियरुपमा खटाउन क्रियाशील जनशक्तिको छनोट गरिने बताउनुभयो ।

कार्यान्वयन हुने योजनाहरुको निर्माण र त्यसको रुपरेखा तयार गर्न गोष्ठीले सहयोग पुग्ने बताउनुभएका उहाँले विपद्मा स्थानीय जनशक्ति र स्रोतको उपयोग हुनेगरी त्यस किसिमको कार्ययोजना निर्माण गर्न सुझाउनुभयो । मन्त्री भण्डारीले उपयुक्त योजनालाई सरकारले अपनत्व लिँदै सक्रिय बनाइने सरकारको तर्फबाट प्रतिवद्धता जनाउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव दिवस आचार्यले विपद् तथा प्रतिकार्यका लागि बनाइएको योजनालाई पूर्ण बनाएर त्यसको कार्यान्वयनका लागि विभिन्न क्षेत्रका सरोकारवालाहरु जिम्मेवार बनाउन कार्याशालाको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार उक्त कार्यशाला तीन दिनसम्म सञ्चालन हुनेछ ।

 

प्रतिकृया दिनुहोस्