OnlinePana

आज : २०७८ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
रामप्रसाद आचार्यआषाढ २६, २०७८काठमाडौं
१५८ पटक

२६ असार २०७८, शनिबार

सय वर्षअघि चीनका महान् नेता माओत्सेतुङलगायत नेताले ५० जना सदस्यसहित स्थापना गरेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) आज विश्वको सबैभन्दा ठूलो राजनीतिक सङ्गठन बनेको छ । अहिले यस पार्टीमा नौ करोड ५० लाखभन्दा बढी सदस्य आबद्ध छन् । सन् १९२१ जुलाई १ मा स्थापना गरिएको यही पार्टीको झण्डामुनि गोलबन्द भएर चीनले अभूतपूर्व प्रगति गर्दै नयाँ चीन बनेको छ । चीन सरकारले जुलाई १ देखि पार्टी स्थापनाको शताब्दीऔँ वर्षगाँठ विविध कार्यक्रम आयोजना गरी मनाइरहेको छ ।

जुलाई १ मा राजधानी बेइजिङमा भव्य समारोहको आयोजना गरियो । पार्टीका ७० हजारभन्दा बढी सदस्य भेला भएको समारोहमा महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले ऐतिहासिक सम्बोधन गर्दै चीनले समृद्ध समाज निर्माणको चरण पार गरेको घोषणा गर्नुभयो । सबैको मिहिनेत तथा सङ्घर्षपश्चात् चीनले खुसियालीयुक्त समाज निर्माण पूरा गरेको बताउँदै सीले चीन अब समाजवादी आधुनिक शक्तिशाली मुलुकको रूपमा अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले चिनियाँ कम्युनिस्ट पार्टी नभएमा नयाँ चीनको स्थापना र राष्ट्रको पुनरूत्थान असम्भव भएको बताउँदै पार्टीको नेतृत्वमा सबै अडिग रहनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको आवश्यकता हो, चिनियाँ विशेषतायुक्त परिपाटी देशको जग र जीवनरक्त हो ।’’

जुलाई ६ मा चीनले विश्वभरिका राजनीतिक पार्टीहरूको सम्मेलन आयोजना गरी सबैसित मित्रता बढाउने र सहकार्य गर्ने सन्देश दियो । चीन सबैसित मिलेर शान्ति, मेलमिलाप, प्रगति र विकासको पक्षमा छ । गफ गरेर होइन असल काम गरेमात्र मुलुक बनाउन सकिन्छ भन्ने चिनियाँ मान्यता छ । चीन सरकारले देश र जनताको सुरक्षा, शान्ति, विकास र स्वाभिमानलाई उच्च प्राथमिकता दिएको छ ।

क्रान्ति गरेर सीपीसीले सत्ता लिएको हो । पार्टी तथा जनसङ्घर्षको नेतृत्व गरेका अध्यक्ष माओले सन् १९४९ को अक्टोबर १ मा तियानमेन चोकबाट जनगणतन्त्र चीनको घोषणा गर्नुभएको थियो । एउटा लामो गृहयुद्धपछि ७२ वर्षअघि यो पार्टी सत्तामा पुगेको हो । सन् १८४० को अफिम युद्धपछि चीन विस्तारै अर्धऔपनिवेशिक र अर्ध सामन्तवादी समाजमा रूपान्तरण भएको थियो । सन् १९१२ मा जननेता सन यात्सेनको नेतृत्वमा चीनमा राजतन्त्र पतन भई गणतन्त्र आयो तर समस्या समाधान भएन । गृहयुद्धले मुलुक चरम गरिबी र अभावमा रुमल्लियो । आन्तरिक र बाह्य दुवै रूपमा कमजोर भयो । माओको नेतृत्वमा क्रान्ति सफल भएपछि मात्र चीनले नयाँ गति लिएको हो । तर पनि आर्थिक क्षेत्र कमजोर थियो । माओको निधनपछि सन् १९८० को अन्त्यतिर पूर्वी युरोपमा रुमानियाबाट कम्युनिस्ट शासनको पतन सुरु भयो । त्यहाँका कम्युनिस्ट शासक निकोलाई चाउचेस्कुको दुःखद बहिर्गमन भयो । पूर्वी जर्मनीका कम्युनिस्ट शासक एरिक होनेकर सत्ता छोड्न बाध्य हुनुप¥यो । त्यही समय बर्लिनको पर्खाल ढलेर जर्मनी एकीकरण भयो ।

पोल्याण्ड, अल्बानिया, चेकोस्लोभाकिया, हङ्गेरी, युगोस्लाभियामा कम्युनिस्ट शासन ढल्दै गयो । ७४ वर्ष लामो कम्युनिस्ट शासन चलेको सोभियत सङ्घ १५ टुक्रा भयो । चीनमा पनि तियानमेन चोकमा सानो विद्रोह भयो । यी घटनाले चीनको कम्युनिस्ट शासन पनि कमजोर हुने आकलन गरिएको थियो ।

अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल बनेको यो बेला उदारवादी नेता देङ सियाओ पिङ विचारलाई आत्मसात् गर्दै चीनले आफूलाई समयानुकूल रूपान्तरण ग¥यो । जसले गर्दा आज चीनमा कम्युनिस्ट शासन सफल भयो । पश्चिमी लोकतन्त्र र पुँजीवादको विकल्प बन्न सक्यो । सय वर्षसम्म विवाद र विभाजनरहित सबल पार्टी नेतृत्वकै कारण आज सीपीसीले यो सफलता हासिल गरेको हो ।

माओले सन्् १९४९ मा क्रान्ति सम्पन्न गरेपछि देङको उदय नहुँदासम्म चीनमा धेरै उतारचढाव भए । देङको उदयपछि सम्हालिएको चीनमा अहिले पार्टी र सरकारको नौ वर्षदेखि नेतृत्व गरिरहनुभएका ६९ वर्षीय सीले मुलुकलाई अग्रगति दिनुभएको छ । उहाँ माओपछिकै शक्तिशाली नेता बन्नुभएको छ । उहाँले संविधान संशोधनमार्फत् दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने व्यवस्थामा परिवर्तन गर्नुभएको छ । सीले आफ्नै नेतृत्वमा चीनलाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनाउनुका साथै सैन्य र प्रविधिमा पनि अभूतपूर्व विकास गर्दै विश्वको महाशक्ति बनाउने लक्ष्य लिनुभएको छ ।
सय वर्षअघि गरिबी र चरम अभावमा पिल्सिएको चीन आज विश्वको दोस्रो आर्थिक शक्तिका रूपमा उदय भएको छ । भ्रष्टाचारविरुद्धको आक्रामक कारबाही र बीआरआई जस्तो महìवाकाङ्क्षी योजनाले सीलाई थप बलियो बनाएको छ ।

पार्टीमा यसअघि ‘माओ विचारधारा’ र ‘देङ सिद्धान्त’ मात्र अभ्यासमा थिए । अब भने पार्टी विधान र महाधिवेशनले औपचारिक मान्यता दिएको ‘सी विचारधारा’ तेस्रो सिद्धान्तको रूपमा अस्तित्वमा आएको छ । यो चिनियाँ कम्युनिस्ट पार्टीको जीवनमा तेस्रो सिद्धान्तको रूपमा रहनेछ । क्रान्ति सम्पन्न भएपछिको चीनलाई माओ युग, देङ युग र सी युग गरी तीन भागमा विभाजन गरिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा यी तीनै नेताका आ–आफ्ना योगदान छन् । माओले चीनमा कम्युनिस्ट सत्ता स्थापना गर्नुभयो । नयाँ जनवादी क्रान्ति, जनयुद्धको सैन्य रणनीति, संयुक्त मोर्चाको आवधारणा, संयुक्त जनवादी अधिनायकत्व र तेस्रो विश्वको सिद्धान्तजस्ता अवधारणा माओले क्रान्तिकालमा प्रतिपादन गर्नुभयो । त्यस्तै चिनियाँ समाजको छलाङमय समाजवादीकरण, निरन्तर क्रान्ति र सांस्कृतिक क्रान्ति जस्ता अवधारणा उहाँले क्रान्तिपछि विकास गरेका अवधारणा थिए ।

अर्का नेता देङले सांस्कृतिक क्रान्तिपछिको चीनलाई सम्हाल्नुभयो । उहाँले चिनियाँ समाज र अर्थतन्त्रको ढाँचालाई नयाँ मोड दिनुभयो । कृषि कम्युनको अन्त्य र जमिनको निजीकरण, निजी स्वामित्वलाई मान्यता, चिनियाँ विशेषतासहितको समाजवादका लागि बजार अर्थतन्त्रमा आधारित समाजवादको पक्षपोषण, सैन्य क्षमताको सामरिक अभिवृद्धि, वैदेशिक पुँजी र प्रविधिका लागि खुलापन, अर्थतन्त्रको भूमण्डलीकरण, राष्ट्रिय उद्योगहरूको विविधीकरण र उत्पादकत्व वृद्धि आदि उहाँका सुधारलाई सघाउने मुख्य नीति हुन् । चीनको वर्तमान सफलताको जग देङ नीतिका कारण सम्भव भएको हो ।

माओ र देङको पृष्ठभूमिमा सीले भने आफ्नो शासनकालमा नयाँ नारा महान् चीनको सपना दिनुभएको छ । उहाँले सन् २०५० सम्म चीनलाई संसारकै सबैभन्दा सभ्य, भव्य र समुन्नत समाजवादी राष्ट्र बनाउने र विश्वको नेतृत्व गर्ने महìवाकाङ्क्षा लिनुभएको छ । उहाँको भ्रष्टाचारविरुद्ध सख्त कारबाहीको नीति छ । सीको महìवाकाङ्क्षी परियोजना बीआरआई चीनको सीमा नाघेर छिमेक हुँदै विश्वभरि फैलिँदैछ । उहाँको निष्कर्ष के छ भने कम्युनिस्ट पार्टी रहेन भने चीन राष्ट्र नै रहने छैन, समाजवाद पनि रहने छैन ।

उहाँले महाशक्ति बन्ने यात्रालाई सहज बनाउन हङकङ र मकाउपछि ताइवानलाई चीन मूल भूमिमा फर्किन बाध्य बनाउने रणनीति अख्तियार गर्नुभएको छ । चिनियाँ विशेषता भएको समाजवादलाई नयाँ विश्व प्रणालीका रूपमा विकास गर्ने सीको योजना छ । चीनले पछिल्लो ४० वर्षको अवधिमा ७० करोड मानिसलाई गरिबीबाट मुक्त गरेको छ । सन् १९५२ मा चीनको कुल गार्हस्थ उत्पादन ६७ अर्ब ९१ करोड युआन थियो भने सन् २०२० मा २०० गुणा बढेर १५ खर्ब ९० अर्ब युआन पुगेको छ ।

जलविद्युत् क्षेत्रमा नयाँ फड्को मारेको चीनले पार्टीको शतवार्षिक अवसर पारेर १६ हजार मेगावाट विश्वको दोस्रो ठूलो जलविद्यत् आयोजना सञ्चालमा ल्याएको छ भने विश्वको सबैभन्दा अग्लो स्थान तिब्बतको ल्हासामा बुलेट रेल गुडाएको छ ।

रेड टुरिजम

सन् १९२१ को जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीको जन्म भयो । हुनान प्रान्तमा जन्मिएका महान् नेता माओले २७ वर्षको उमेरमा पार्टी स्थापना गर्नुभयो । पार्टी स्थापनाको छ वर्षपछि जनमुक्ति सेनाको गठन भयो । जनमुक्ति सेनाले जापान र तत्कालीन चीनका शासक च्याङ काइसेकका दुवै फौजसँग युद्ध लड्यो । दोस्रो विश्व युद्ध अघिसम्म जापानी र च्याङ दुवै फौजसँग लडेको जनमुक्ति सेनाले दोस्रो विश्वयुद्धपछि निर्णायक युद्ध ग¥यो । चार वर्षपछि सन् १९४९ अक्टोबर १ मा अहिलेको चीन कब्जा ग¥यो ।

बेइजिङको तियानमेन चोकमा पुगेर माओले जनवादी गणतन्त्र चीन स्थापना भएको घोषणा गर्नुभयो । कुनै बेलाको जर्जर गरिब मुलुक अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भएको छ । चीन अमेरिकासँग टक्कर गर्ने स्तरको भएको छ । जमिनदेखि अन्तरिक्षसम्म आफ्नो प्रभाव विस्तार गर्न सफल भएको छ ।

यही ऐतिहासिहक घटनाक्रम र यससँग जोडिएका ऐतिहासिक पात्र, परिवेश, स्थानहरूको समग्र यात्रा प्याकेज नै चीनले विकास गरेको रेड टुरिजम हो । चीनका नयाँ पुस्तालाई पार्टीको इतिहास पर्यटनको माध्यमबाट चिनाउन यो प्याकेज सुरु भएको छ । पार्टीको शताब्दीऔँ वर्षगाँठमा यसको प्रवद्र्धन व्यापक भएको छ ।

माओको जन्म भएको हुनान प्रान्तको जन्मस्थान साओस्यान, चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो अधिवेशन भएको नान्हु ताल, चीनका उदारवादी नेता देङ जन्मेको सिचुवान प्रान्तको ग्वाङएन रेड टुरिजमका गन्तव्यहरूमा पर्छन् ।चिनियाँ जनमुक्ति सेनाले यात्रा गरेका लामा–लामा रुटहरू पनि रेड टुरिजमअन्तर्गत पर्छन् । लोकप्रिय रेड टुरिजमका सहरी गन्तव्यहरूमा बेइजिङ, नान्जिङ र साङघाई र स्पटहरूमा तियानमेन चोक, चिनियाँ राष्ट्रिय सङ्ग्रहालय, चिनियाँ कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनको स्मृतिगृह रहेका छन् ।

पर्यटकहरूलाई भुलाउन चिनियाँ सेनाले जापानी र च्याङ काइसेकका सेनासँग गरेको भिडन्त देखाउने नाटक, चित्रकलादेखि विभिन्न उपहार सामग्रीहरू समेत राखिएका छन् । धेरै स्पटमा बेच्नका लागि रातै रङका स्ट्रबेरीहरू राखिएको ब्लुमबर्ग क्विकटेकले भिडियो सामग्रीमार्फत देखाएको छ ।

चीनमा १०० उत्कृष्ट रेड टुरिजम रुट बनाइएको छ । यसअन्तर्गत २०० भन्दा बढी स्पट छन् । जसमध्ये ३९ स्पट मात्रै ठूला र दोस्रो तहका सहरमा छन् । अरू सबै स–सना गाउँ तथा सहरमा छन् । रेड टुरिजमको मुख्य सिजन जुन र जुलाई महिना हुन् ।
चीनमा रेड टुरिजमले सन् २०२० मा एक खर्ब ५४ अर्ब ५० करोड युआनको योगदान गरेको छ ।

मिडियाको दृष्टिमा चीन

चीनले सय वर्षको अवधिमा गरेको प्रगति र एकता विश्वकै लागि अनुकरणीय छ । चीनविरुद्धको प्रचारमा कुनै दम छैन ।
ग्लोबल टाइम्स

चिनियाँ कम्युनिस्ट पार्टीको १००औँ वर्षगाँठ भव्य रूपमा मनाइरहँदा राष्ट्रपति सी चीनफिङलाई केन्द्रबिन्दुमा राखिएको छ । सीलाई माओपछिकै शाक्तिशाली नेताका रूपमा प्रस्तुत गरिएको छ ।
सीएनएन

चिनियाँ नेतृत्वले विदेशी धम्की र चेतावनीसामु नझुक्ने आक्रामक नीतिसहित आफ्नो गन्तव्यमा लम्किने सन्देश प्रवाह गरेको छ ।
बीबीसी

चीन सरकारले सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिक समारोहमार्फत विश्वसामु आफ्नो शक्ति प्रदर्शन गरेको छ ।
रोयटर्स

चिनियाँ कम्युनिस्ट पार्टीले चीनको विकासलाई आफ्नो उपलब्धिका रूपमा चित्रित गर्दै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।
टाइम्स अफ इन्डिया

शब्दचित्रमा चीन
नाम : जनवादी गणतन्त्र चीन
क्षेत्रफल : ९६ लाख वर्ग किमि
जनसङ्ख्या : एक अर्ब ४१ करोड
धर्म : बौद्ध, इसाई, मुस्लिम, ताओ
औसत आयु : महिला ७८, पुरुष ७५ वर्ष
प्रतिव्यक्ति आय : १० हजार ५०० डलर
गोरखापत्रबाट

प्रतिकृया दिनुहोस्