OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ५, २०७६ सुर्खेत
६७० पटक

सुर्खेत, ५ पुस ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको विद्युतीकरणमा विशेष जोड दिइएको बताउनुभएको छ ।
आज सुर्खेतमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ् नेतृत्वको टोलीसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युतीकरणमा जोड दिने बारेमा उपलब्धीमूलक छलफल भएको जानकारी दिनुभयो । कालीकोटमा सामान्य जग्गा विवादले केही ढिला भएपनि सव–स्टेशनको टेण्डर भईसकेको बताउँदै उहाँले छिट्टै राष्ट्रिय प्रसारण लाईन जुम्ला जोड्नेतर्फ काम भईरहेको जनाउनुभयो ।
“रुखहरु काट्न नपर्ने, कम खर्चिलो र सामग्री पुर्याउन सकिने भएकोले कर्णाली राजमार्गबाट प्रसारण लाईन लिन सजिलो छ,” उहाँले भन्नुभयो, “कालीकोटसम्म प्रसारण लाईन जोड्ने काम भईसकेकोले अब त्यहाँबाट जुम्लाको काम अघि बढाउन पहल भईरहेको छ ।” कर्णालीका विद्युत नपुगेका सबै ठाउँमा यथाशीघ्र विद्युत पुर्याउन प्राधिकरणलाई भनिएको र सरकारले त्यसमा सहजीकरण गर्ने कुरा भएको उहाँले बताउनुभयो ।
कर्णालीका जनताको मिटर किन्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणलाई निःशुल्क मिटर हाल्न गरिएको अनुरोध बमोजिम प्राधिकरणबाट काम हुने जवाफ प्राप्त भएको उहाँले बताउनुभयो । “बुटबलदेखि छिन्चु चारसय केवी प्रसारणको विद्युत लाईन पुर्याउन प्राधिकरणको टोलीलाई आग्रह गरेका छौं,” उहाँले भन्नुभयो, “कर्णालीका १० जिल्ला सदरमुकाम अब जतिसक्दो चाँडो राष्ट्रिय प्रसारणमा जोडिनेछन् ।”
नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले मुख्यमन्त्रीसँग यस प्रदेशको विद्युतीकरणको विषयमा गहनरुपले छलफल भएको बताउनुभयो । कार्यकारी प्रमुख घिसिङले भन्नुभयो, “मुख्यमन्त्रीसँगको भेटघाटमा कर्णाली प्रदेशमा विद्युतीकरको अवस्था, लाईन सुधार, सेवा प्रवाह र कोहलपुरदेखि जुम्लासम्मको प्रसारण लाईन जोड्ने बारेमा छलफल भयो ।”
उहाँले अगाडि भन्नुभयो, “हामीले नेपालभरि नै तीन वर्षभित्र विद्युतीकरण गरिसक्ने योजना बनाएका छौं । यद्यपि कर्णाली प्रदेशको भौगोलिक जटिलता भएकोले यहाँको विद्युतीकरणका लागि विशिष्ट ढंगले सोचिएको भन्दै कार्यकारी प्रमुख घिसिङले हाल प्राधिकरणले विद्यमान लाईनको सुधार र हरेक व्यक्तिमा विद्युत कसरी पुर्याउन सकिन्छ भन्ने कुरामा केन्द्रीत भएको जनाउनुभयो । उहाँका अनुसार प्रदेश प्रमुखका साथै वितरण केन्द्रसँग प्राधिकरणले करार सम्झौताको काम गरिईरहेको छ ।
विद्युतीकरणका लागि रु.२२ अर्ब बजेट
नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले कर्णाली, सुदूरपश्चिम र ५ नम्बर प्रदेशको विद्युतीकरणको लागि रु.२२ अर्ब छुट्याएको बताउनुभएको छ ।
एशियन ईन्फ््रयास्टक्चर बैंक र युरोपियन ईन्भेष्टमेन्ट बैंकबाट प्राप्त सस्तो ऋणमा यी तीन प्रदेशका रु.२२ अर्ब छुट्याईएको कार्यकारी प्रमुख घिसिङले बताउनुभयो । उहाँले रु.२२ अर्ब बजेटमा कर्णाली विद्युतीकरण, सव–स्टेशन निर्माण र लाईन विस्तारका लागि रु.११ अर्ब (५०%) बजेट छुट्याईएको जनाउनुभएको हो ।
कोहलपुरदेखि सुर्खेतसम्म ट्रान्समिसन लाईन विस्तारका लागि टेण्डर भईसकेको र अब सुर्खेतबाट जुम्लासम्म लग्नेगरी अध्ययन भईरहेको उहाँले बताउनुभयो । कर्णाली करिडोर र भेरी करिडोरको चार÷चार सय केवी प्रसारण लाईनको समेत योजना भईरहेको उहाँको भनाई थियो । उहाँका अनुसार यो प्रदेशको पूर्ण विद्युतीकरण लागि नेपालको सरकारको कार्यक्रम चलिरहेको छ ।
भेटघाटमा मुख्यमन्त्री शाहीसहित आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, प्राधिकारणका कार्यकारी प्रमुख कुलमान घिसिङ नेतृत्वको टोली रहेको थियो ।

प्रतिकृया दिनुहोस्