

सुर्खेत, ४ पुस ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साना लगानीका उद्योगहरु प्रवद्र्धन रु.एक करोड बजेट विनियोजन गरिएको बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा आज राजधानी सुर्खेतमा आयोजित ‘राष्ट्रिय औद्योगिक व्यापार कृषि नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव २०७६’ को उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले औद्योगिक क्षेत्रको विकासले रोजगारी र आर्थिक समृद्धिमा सघाउ पुग्ने बताउनुभयो ।
“कर्णालीमा ठूला लगानीका उद्योग सञ्चालन गर्न सकिएको छैन,” उहाँले भन्नुभयो, “साना लगानी उद्योगीहरुलाई सस्तो ब्याजमा बजेट उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।” यसले यहाँका उद्योगीहरुलाई प्रोत्साहन मिल्ने र उत्पादनमा पनि वृद्धि हुने मुख्यमन्त्री शाहीले जनाउनुभयो ।
सरकारलको आफ्नो बजेटले विकास निर्माण असंभव भएको बताउँदै उहाँले अगाडि भन्नुभयो, “कर्णालीको भूगोल, पूर्वाधारको अवस्था हेर्दा अन्तर्राष्ट्रिय लगानी आवश्यक छ । सुर्खेतलाई स्मार्ट सिटीको रुपमा विकास गर्न चिनियाँ कम्पनीलाई प्रदेश सरकारले पत्राचार गरेको छ ।” सरकारका आन्तरिक बाध्यताका कारण जनअपेक्षित काम नभएपनि अब तीन सरकारले आ–आफ्नो कार्य क्षेत्रमा रहेर काम गर्नुपर्नेमा उहाँको जोड थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले लघु उद्यमीहरुले देशको शिर ठाडो पारेको दावी गर्नुभयो । अध्यक्ष गिरीले भन्नुभयो, “कर्णाली जडिबुटी, पत्थर खानी हो । तिनको प्रशोधन गर्ने उद्योग स्थापना गर्न जरुरी छ ।” कर्णालीको जडिबुटी सस्तोमा बेचेर अहिले महंगोमा औषधि, तेल किन्ने परिस्थितिको अन्त्य गर्नुपर्ने उहाँको भनाई थियो ।
चन्दननाथ नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले कर्णाली प्रदेश प्राकृतिक स्रोतले सम्पन्न भएकोले यहाँ उपलब्ध स्रोतलाई यही उपयोग गर्नेगरी उद्योग स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उक्त महोत्सवमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालगायत अतिथिहरुहरुको सहभागिता रहेको थियो ।