OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ७, २०७८जुम्ला
९४२ पटक

 ७ बैशाख २०७८ मंगलबार

तिला गाउँपालिका २ जुम्ला लिही गाउँ निवासी छैटा परियार निकै खुशी हुनुहुन्छ । एक छोरा एक छोरीको आमा बन्नु भएकी उहाँले स्थानीय सरकारले सञ्चालन गरेको सुनौला हजार दिनका आमालाई ‘उपाध्यक्ष पोषण कोशेली’ कार्यक्रममार्फत आफ्नो र बच्चाको स्वास्थ्य अवस्थामा ठूलो सघाउ पुगेको बताउनुभयो ।

“मलाई मेरी आमाले राम्रोसँग खान नपाएर गोठमा जन्माएको कथा पढ्न त सकिन यद्यपि सुनेकी छु । त्यो सुन्दा मन कुँडिएर आउँछ,” परियारले भन्नुभयो, “आज म आमा बन्दा मेरी आमाको नियति भोग्नु परेन । यसको कारण नेतृत्व पुगेका आमा र नजिकको सरकार नै होला जस्तो लाग्छ ।” उहाँले अगाडि भन्नुभयो, “हाम्रो गाउँपालिकाको उपाध्यक्ष बिष्णु बुढा आमा नै भएकोले उहाँले गर्भवती र सुत्केरी हुँदाका आमा र बच्चाको स्वास्थ्य सुरक्षित हुने कार्यक्रममा जोड दिनुभएको छ ।”

त्यसैगरी, तिला गाउँपालिका ७ जुम्ला ढिपुगाउँ निवासी कविता बोहोराले सुत्केरी अवस्थामा पाँच केजी मार्सी चामल र तेल पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँ दुई छोरीको आमा हुनुहुन्छ । जुम्लाको अत्यन्तै विकट बस्तीमा रहेको ढिपुगाउँमा पुगेर सुत्केरी महिला र बच्चाको भविश्य स्वस्थ बनाउन चेतनासहित चामल, तेला, साबुन, नङ्कट र बच्चालाई कपडा कोशेली दिएको भन्दै उपाध्यक्ष बुढालाई उहाँले धन्यवाद दिनुभयो । गाउँपालिकाले लेकाली क्षेत्रमा प्रति गर्भवती तथा सुत्केरीलाई पाँच केजीका दरले कालीमार्सी चामल र बेसी क्षेत्रका गर्भवती सुत्केरीलाई चनालगायतका पौष्टिक आहार वितरण गरेको छ ।

उपाध्यक्ष बुढाले चालु आर्थिक वर्ष २०७७÷०७८ नीति तथा कार्यक्रममा नै आमासँग उपाध्यक्ष कार्यक्रम समावेश गरिएको बताउनुभयो । आमा र बच्चालाई स्वस्थ राख्न सकेमात्र परिवार, समाज, समुदाय र सिंगो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने कुरालाई केन्द्रमा राखेर आमासँग उपाध्यक्ष कार्यक्रमअन्तरगत सुनौला हजार दिनका आमाहरुलाई ‘उपाध्यक्ष पोषण कोशेली’ कार्यक्रम सञ्चालन गरिएको  बताउनुभयो ।

उहाँले भन्नुभयो, “गर्भवती भएको बेला चार पटक जाँच, पौष्टिक आहार खाने संस्कारको विकास, परिवारिक जिम्मेवारीको बोध, व्यक्तिगत तथा वातावरणीय सरसफाईमा ध्यान पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । यो निरन्तर अघि बढ्छ ।” चालु आव.मा विनियोजित रु.१५ लाख बजेट अपुग भएको भन्दै उहाँले गाउँपालिकाका नौ वटै वडाका महिलाहरुलाई सेवा दिन थप रु.१० आवश्यक भएको जनाउनुभयो ।

उहाँले असार मसान्तसमम एक हजार १७७ गर्भवती तथा सुत्केरी महिलाहरुलाई ‘उपाध्यक्ष पोषण कोशेली’ कार्यक्रममार्फत सेवा उपलब्ध गराईने जनाउनुभयो । नियमित चार पटक स्वास्थ्य जाँच गरेका, निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिएका, खोप कार्ड भएका, सुरक्षित सुत्केरीका लागि अस्पताल सेवा लिएका जस्ता मापदण्ड पुरा गरेका गर्भवती र सुत्केरी महिलाले मात्र सेवा दिने गरिएको उहाँको भनाई थियो । गर्भवती र सुत्केरी सबै महिलालाई झोलासमेत वितरण गरिएको उहाँले जनाउनुभयो ।

उक्त गाउँपालिकाका स्थानीय जसीकला रावतले सुनौला हजार दिनका आमालाई ‘उपाध्यक्ष पोषण कोशेली’ कार्यक्रमले गर्भवती हुँदासमेत आराम नपाउने, गोठमै सुत्केरी गराउने, सुत्केरी हुँदा बखत घरको जग छुन नदिने हिँजो अन्धविश्वासी संस्कृतिलाई अन्त्य गर्न ठूलो सहयोग पुगेको प्रतिक्रिया दिनुभयो । “महिलाको दुःख बुझ्न महिला नेतृत्व आवश्यक हुँदो रैछ,” रावतले भन्नुभयो, “उपाध्यक्ष बुढा जस्तो महिला नेतृत्व भएको भए हामीले उ बेला त्यस्तो दुःख भोग्नुपर्ने थिएन ।”

तिला गाउपालिका २ जुम्लाका वडाध्यक्ष कलिमान रावतले आमा र बच्चाको सुरक्षित स्वास्थ्यका लागि यो कार्यक्रम लाभदायक भएको जनाउनुभयो । गाउँपालिकाले आमा र बच्चालाई केन्द्रमा राखेर सञ्चालन गरिएको कार्यक्रम सानो जस्तो लागेपनि यसले दिगो विकास लक्ष्यमा सहयोग पुग्ने वडाध्यक्ष रावतको भनाई थियो । उहाँका अनुसार ‘हरेक बार, खाना चार’ माछा, मासु, दही, दुध, अण्डा, तरकारीजस्ता पौष्टिक आहार खान सिकाएको कार्यक्रमले स्थानीयमा अधिकतम् सचेतना पैदा गराएको छ ।

गाउँपालिकाले मूलतः ‘दुई सन्तान, ईश्वरको वरदान’ भन्ने मूलमन्त्रलाई अघि बढाएको छ । दुई छोरी पाएर आफ्नो पूर्ण सन्तान ठान्ने दम्पतिहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ । तिला गाउँपालिकाले महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुका सवालमा सञ्चालन गरेका केही उदाहरणीय कार्यक्रमले मुलुकमा संघीयता लागु भएसँगै नजिकको सरकारबाट अपेक्षित सेवा प्राप्त भएको यहाँ नागरिकहरुले अनुभूति गरेका छन् ।

प्रतिकृया दिनुहोस्