OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

साउनमै काँचो स्याउ बजारमा

जुम्ली स्याउको बदनाम गरिँदै

कोरपाटी संवाददातासाउन १३, २०७६सुर्खेत
६८० पटक

सुर्खेत, १३ साउन ः उपयुक्त सिजनका हिसाबले जुम्ली स्याउ भण्डारणको समय आउन पाएकै छैन । रातो, रसिलो, गुलियो र स्वादिलो स्याउ भण्डारणको समय भनेको भदौ दोस्रो साता उपयुक्त मानिन्छ ।
भदौ दोस्रो सातासम्मको समयलाई मूल अवसर बनाएर स्याउ भण्डारण तथा बिक्रीवितरण गर्न सम्बन्धित निकायहरुले सम्बन्धित जिल्लाका स्याउ कृषक, व्यापारी तथा उपभोक्ताहरुलाई वर्षेनी सूचना सम्प्रेषण गरेकै हुन्छन् । यद्यपि सूचनालाई वेवास्ता गरेकै कारण स्याउ उत्पादनको भूमि जुम्ला, स्याउ कृषक र व्यापारीहरुको बदनाम मात्र होइन, अपेक्षित आम्दानीमा पनि घाटा लाग्ने गरेको छ ।
साउनको पहिलो साता नै काँचो स्याउ आउने सिलसिला यो वर्ष पनि क्रम भंग हुन सकेन । साउनको पहिलो सातादेखि सुर्खेत तथा नेपालगञ्जका बजारमा जुम्लाको स्याउँ भनेर अपरिपक्व, स्वादरहित, रंगहिन स्याउ बिक्रीवितरण भईरहेको छ । स्याउ कहाँबाट आएको भन्ने कुरा अधिकांश व्यापारी स्वयम्लाई नै थाहा छैन । यद्यपि मण्डीबाट प्रति केजी रु.१९५ मा खरीद गरेर आफूले प्रति केजी रु.२४० देखि २५० मा बेच्ने गरेको स्थानीय व्यापारी पार्वती शाहीले बताउनुभयो ।
सुर्खेत बजारमा कही परिमाणमा काँचो स्याउ बिक्रीवितरण भईरहेको उहाँले जनाउनुभयो । काँचो स्याउ किन बेच्दै हुनुहुन्छ भन्ने राससको प्रश्नको जवाफ दिदै व्यापारी शाहीले भन्नुभयो, “उपभोक्ताले जुम्लाको स्याउ भन्ने बित्तिकै काँचो पाको नभनेर किनि हाल्छन् त बेच्नै पर्यो नि । यो आफ्नो कमजोरी नभई बिक्री गर्ने स्याउ कृषक, सुर्खेतसम्म पठाउने व्यापारी र हामीलाई वितरण गर्ने मण्डीको हो ।”
जुम्ली स्याउको बदनाम गरिँदै
जुम्ली स्याउको प्रवेशद्वारका जिल्ला सुर्खेत र बाँके नेपालगञ्जका बजारमा पाईने नगण्य मात्रामा रातो देखिने हरियो स्याउ जुम्ली स्याउका नामले बिक्रीवितरण भईरहेको छ । कम परिमाण भएर होला, गुणस्तहिन भएपनि प्रति केजी रु.२५० का दरले स्याउ बिक्रीवितरण भईरहेको छ । हालै मात्र बजारमा पुगेको काँचो स्याउ जुम्लाको नभई कालीकोट जिल्लाको भएको कृषि ज्ञान केन्द्र जुम्लाका अधिकृत खेमराज शाहीले राससलाई बताउनुभयो ।
रासससँग कुरा गर्दै अधिकृत शाहीले भन्नुभयो, “सुर्खेत नेपालगञ्ज पुगेको काँचो स्याउ कालीकोट तिलागुफा नगरपालिकामा पर्ने भिग्म, मेलसेरा, नाग्म, रतडा, फोईलगायतका गाउँको हो । जुम्लाबाट अहिलेसम्म स्याउ निर्यात भएकै छैन ।” किसानहरुलाई भदौ १० गतेदेखि भण्डारण गर्न र व्यापारीहरुलाई भदौ १५ गतेबाट बाहिर निर्यात गर्नेगरी सञ्चार माध्यमबाट सूचना प्रवाह गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो ।
स्याउ टिप्ने अनुकूल र उपयुक्त समय भदौको दोस्रो सातादेखि भएकोले वर्षेनी त्यसलाई व्यवस्थित गर्दै आएको उहाँले जनाउनुभयो । उहाँले अगाडि भन्नुभयो, “रातो, रसिलो, गुलियो र स्वादिलो स्याउ खाँदा भिटामिन ए, डी, मिनरल, आईरन, ग्लुकोजस्ता मानव स्वास्थ्यका आगि आवश्यक तत्व पाईने भएकोले बजारमा जुम्ली स्याउको सकरात्मक छाप परेको छ । तर अहिले नै बजारमा पुगेको काँचो स्याउलाई जुम्लाको भनेर बिक्रीबितरण गर्नु सरासर जुम्ली अर्गानिक स्याउको बदनाम हो ।”
उहाँका अनुसार यस वर्ष पाँच हजार ५०० मेट्रिक टन स्याउ उत्पादन हुने प्रक्षेपित लक्ष्य राखेको जुम्लाले रु.२७ करोड स्याउबाट आम्दानी गर्ने अनुमान गरेको छ । जुम्ली स्याउका नाममा कम परिमाणमा बजारमा पुगेको काँचो स्याउको चर्को मूल्यको मारमा उपभोक्ता पर्दै आएकोले यसमा सचेत उहाँले अनुरोध गर्नुभएको छ ।
कालीकोटको काँचो स्याउ बेच्ने किसान तथा व्यापारीहरुको कारणले गएको एक÷दुई वर्षदेखि केही समयपछि ठूलो परिमाणमा बजार भित्रिले जुम्लाको स्याउले मूल्य नपाउने र किसान तथा व्यापारी मारमा परेको उहाँको भनाई छ । यसलाई सम्बन्धित जिल्लाले बेलैमा नियमन नगरे व्यापारका नाममा अपराध हुने स्थानीय किसान तथा व्यापारीहरुले चेतावनी दिएका छन् ।
यता कालीकोट कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक टेकबहादुर खत्रीले वर्षेनी स्याउ भण्डारणका लागि कृषकहरुलाई निर्देशन दिएपनि अटेरी गरेर काँचो स्याउ बजारमा लिने गरेको राससलाई जानकारी दिनुभयो । “तिलागुफा नगरपालिकाअन्तरगत कर्णाली राजमार्ग नजिकका भिग्म, मेलसेरा, नाग्म, धनडा गाउँका किसानहरुले काँचो स्याउ निर्यात गरेका छन्,” प्राविधिक सहायक खत्रीले भन्नुभयो, “अहिले आफ्नो स्याउ बजारमा नगए यसले मूल्य नपाउने भन्दै उनीहरुले देखाएको वेवास्ताग्रहीपनले ज्ञान केन्द्रले दिएको निर्देशन उलङ्घन भएको छ ।”

प्रतिकृया दिनुहोस्