

सुर्खेत, २८ असार ः कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृृषि तथा सहकारीमन्त्री बिमला केसीले कालीकोटमै पुगेर योजनाहरुको अनुगमन गर्नुभएको छ ।
कृषिमन्त्री केसी चालु आवमा मन्त्रालयअन्तरगत सञ्चालित योजनाहरुको साताव्यापी अनुगमन गर्नुभएको हो । उहाँले नरहरिनाथ, पचालझरना गाउँपालिका, खाँडाचक्र र रास्कोट नगरपालिका सम्पन्न गरिएका रु.सात करोड ६० लाखका पाँचवटा कृषि सडक, सान्नीत्रिवेणी गाउँपालिकाको रु.एक करोड ५० लाखको नमूना कृषि अर्गानिक गाउँ, मालकोटमा रु.एक करोडको सहकारी नमूना गाउँ अनुगमन गर्नुभएको छ ।
त्यसैगरी, पचालझरना गाउँपालिकामा रु.एक करोडको बाख्रापालन, रु.एक करोड मह उत्पादन योजना, नरहरिनाथ गाउँपालिकामा रु.४० लाखको भैसीपालन, रु.५० लाखको खाँडाचक्र नगरपालिकामा पशु बधशालाको अनुगमन गरिएको उहाँले बताउनुभयो । त्यस्तै, कालीकोट जिल्लामा लागू भएको ‘किसान सरकार हातेमालो’ कार्यक्रम पनि अनुगमन गरिएको उहाँको भनाई छ ।
“मैले मेरो मन्त्रालयसहित सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका योजना अनुगमन गरे,” मन्त्री केसीले भन्नुभयो, “अनुगमनका क्रममा कृषि, सहकारी, सडक, सिचाई, युद्ध पर्यटन, दाना उद्योगलगायतका सबै योजनाको निर्माण अवस्था राम्रो देखियो ।” एक÷दुई योजनाको काम नभएकोले दिईएको पेश्की फिर्ता गर्न निर्देशन दिएर आएको उहाँले बताउनुभयो ।