OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १५, २०७७सुर्खेत
११७५ पटक
 १५ मंसिर २०७७ सोमबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाल तथा कर्णालीको सन्दर्भमा आजको दिनलाई ‘आधारभूत स्वास्थ्य सेवा विस्तारको माइलस्टोन’ को संज्ञा दिनुभएको छ ।

कर्णाली प्रदेश तथा नेपालकै अति दुर्गम मानिने हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला जिल्ला सदरमुकाम सिमकोटबाट पुग्न दुई दिन लाग्ने सर्केगाड गाउँपालिकामा १५ शैयाको अस्पताल शिलन्यास गर्न त्यहाँ पुग्नुभएका मन्त्री रावलले आफ्नो मन्तव्यमा स्वास्थ्य क्षेत्रमा नेपालको इतिहासमा उपलब्धिमूलक कार्यको थालनी भएको बताउनुभयो । दुर्गमका जनताको स्वास्थ्य सेवामा सरकारले प्राथमिकता दिएर सहयोग पुर्याएको भन्दै उहाँले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

मन्त्री रावलले आज एकैदिन सर्केगाडसहित अदानचुली, नाम्खा र ताजाकोट गाउँपालिकाको अस्पताल शिलन्यास गर्नुभएको हो । “ताजाकोट गाउँपालिकाबाहेक अन्य तीनवटै गाउँपालिकाको कूल लागत रु.१८ करोड रहेको छ,” मन्त्री रावलले भन्नुभयो, “ती गाउपालिकामा रु.एक करोड आईसकेको छ ।” १० शैयाको अस्पताल निर्माण गरिने ताजाकोट गाउँपालिकाको बजेट लागत भने रु.१० करोड ८५ लाख भएकोमा उक्त गाउँपालिकाको खातामा रु.८५ लाख आएको उहाँले बताउनुभयो ।

निर्माण थालनी गरिएका अस्पतालहरुका डाक्टरसहित कर्मचारीहरुको दरबन्दीसमेत स्वीकृत भईसकेको जनाउँदै उहाँले अगाडि भन्नुभयो, “अब तुरुन्तै चंखेली र खार्पुनाथ गाउँपालिकामा अस्पताल निर्माणको प्रक्रिया अघि बढाउँछौ ।” दुर्गम गाउँमासमेत सामुदायिक स्वास्थ्य एकाई स्थापनागरी उपचार सेवा प्रदान गर्दै आएको बताउनुभएका उहाँले अब कर्णालीका कोही पनि जनताले आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने अवस्था सृजना गरिने जनाउनुभयो ।

कर्णाली प्रदेशका ३८ स्थानीय तहमा सोमबार एकैसाथ आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । कर्णाली प्रदेशमा ५ शैय्याको एक, १० शैय्याका नौ र १५ शैय्याका ३२ वटा स्वास्थ्य चौकी शिलान्यास गरिएको मन्त्रालयको भनाइ छ। कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यानका ८ वटा स्थानीय तहमा, दैलेख र सुर्खेतका ७/७ वटा स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको छ।यस्तै जाजरकोट, हुम्लामा ४/४ वटा स्थानीय तहमा, रुकुम पश्चिम, डोल्पाका ३/३ वटा स्थानीय तहमा, जुम्ला र कालिकोटमा २/२ स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको छ। प्रदेशमा पाँच शय्याको एक, १० शय्याको नौ र १५ शय्याका ३२ वटा स्वास्थ्य चौकी सोमबार शिलान्यास गर्न लागिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सल्यानमा आठवटा, सुर्खेत र दैलेखका सात/सातवटा, जाजरकोट र हुम्लामा चार/चारवटा, रुकुमपश्चिम र डोल्पाका तीन÷तीनवटा, जुम्ला र कालिकोटका दुई/दुईवटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आज देशैभरि ३९६ स्थानीय तहमा ३०९ पाँचदेखि १५ शैयाका आधारभूत अस्पतालको एकै साथ शिलन्यास गरेको छ । यसले मुलुकभर सहित कर्णालीको स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्ति ल्याउने ठूलो अपेक्षा गरिएको छ । ७५५ स्थानीय तह मध्य ६४९ स्थानीय तहमा अहिलेसम्म अस्पताल नभएको र नेपाल सरकारले पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल शिलन्यास गरेको छ ।

एकैदिन २५० भन्दा धेरै अस्पताल भवनकाे शिलान्यास

सरकारले देशका तीन सय ९६ पालिकामा आधारभूत अस्पताल निर्माणका लागि साेमबार एकैदिन दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको छ । पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले साेमबार एकैसाथ दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका तीन सय ९६ पालिकामा पाँचदेखि १५ शय्याको अस्पताल बनाउन लागेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न लागेको बज्रबाराही चापागाउँ अस्पतालको भवन शिलान्यास गर्नुभएको छ । भवन शिलान्यास गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले देशका तीन सय ९६ पालिकामा एक साथ पाँच शय्या, १० शय्या र १५ शय्याका पालिका स्तरका आधारभूत अस्पतालहरूको शिलान्यास गरिएको बताउनुभयो ।

यस्तै सात वटा प्रदेशमा ५०/५० शय्याका सरुवा रोग अस्पतालहरूको पनि एकैसाथ निर्माण गर्न लागिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । पालिका स्तरमा निर्माण हुन लागेका तीन सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिश्चितता भइसकेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।

यस्तै सात वटै प्रदेशमा निर्माण हुने सरुवा रोग अस्पतालका लागि हरेक अस्पताललाई आठ करोड रुपैयाँको दरले बजेट सुनिश्चित गरिएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । सात सय ५३ पालिकामध्ये ६ सय ४९ पालिकामा यसअघि पनि अस्पताल थिएन । तीमध्ये पहिलो चरणमा तीन सय ९६ पालिकामा अस्पताल निर्माण गर्न लागिएको हो ।

 

प्रतिकृया दिनुहोस्