OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १७, २०७७काठमाडौं
५५७ पटक

२०७७ असोज १७ गते,

दाङ – भालुवाङ बजार दाङको पुरानो बजार हो । राप्ती नदीको किनारमा रहेको यो बजार अर्घाखाँची, प्युठान र कपिलवस्तु जिल्लाको नजिक पर्छ । पूर्व–पश्चिम राजमार्ग बन्नुभन्दा अगाडि  भारत जानका लागि प्रयोग हुने नाकाकाे रुपमा याे ठाउँ परिचित थियाे ।

 

कोइलावास नाकाबाट सामान ल्याएर घोडा र खच्चडमार्फत पहाड पुर्‍याउने बजारकाे रुपमा भालुवाङ रहेकाे थियाे । रोल्पा, प्युठान, दाङ, अर्घाखाँची, गुल्मी जिल्लाको पुरानो नाकाको रुपमा भालुवाङ थियो । स्वर्गद्वारी मन्दिरको द्वारको रुपमा भालुवाङ रहेको छ । अहिले यो बजारको चर्चा चुलिएको छ ।

यही बजारलाई केन्द्रमा राखेर प्रदेश ५ को स्थायी राजधानी बनाउने प्रस्ताव गरिएको छ । राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिका क्षेत्रलाई बनाउने प्रस्तावको स्वागत गरिएको हो । प्रदेश ५ लाई पायक पर्ने ठाउँमा राजधानी प्रस्ताव गरिएको भन्दै स्थानीयस्तरमा स्वागत भएकाे छ ।

 

विकास निर्माणमा पछि परेको नयाँ क्षेत्रमा प्रदेश राजधानी बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेश सभामा प्रस्तावको रुपमा प्रस्तुत गरेपछि स्थानीयस्तरमा खुसीयाली छाएको छ । प्रदेश ५ को स्थायी राजधानी उपयुक्त ठाउँमा तोकिएको भन्दै राप्ती उद्योग वाणिज्य सङ्घका अध्यक्ष जगतप्रसाद पोख्रेलले खुसी व्यक्त गर्नुभएकाे छ ।

‘संसदमा प्रस्ताव पेस भएको छ । यो प्रस्तावले हामी सबै उत्साहित र खुसी भएका छौँ । यो प्रस्ताव पारित भएर कार्यान्वयनमा आउने आशा गरेका छौँ’, पोख्रेलले भन्नुभयो, ‘भौगोलिक दृष्टिकोणले अहिले गरिएको प्रस्ताव मध्य विन्दुमा पर्छ ।’

 

प्रदेश ५ को स्थायी राजधानीको विषयलाई लिएर बर्दिया र बाँकेमा आन्दोलनसमेत चर्किएकाे थियो । उपयुक्त ठाउँमा प्रदेश ५ को राजधानी नभए टुक्रिएर कर्णाली प्रदेशमा गाभिने दबाबमूलक कार्यक्रम चलेको थियो ।

प्रदेश सभा बैठक सञ्चालनको लागि राप्ती प्राविधिक शिक्षालय क्षेत्रलाई आधार बनाउन सकिने र त्यसपछि अन्य विकल्पको रुपमा छलफल गर्न सकिने व्यवसायी गंगाराम भट्टराईले बताउनुभयाे । ‘विकास दृष्टिकोणले पछि परेको क्षेत्रमा राजधानी प्रस्ताव भएको छ । यसले समग्र क्षेत्रमा उत्साह थपेको छ’, भट्टराईले भन्नुभयाे, ‘दाङ, प्युठान, अर्घाखाँची, कपिलवस्तुको सङ्गम स्थललाई राजधानीको रुपमा प्रस्ताव भएको छ । यो अत्यन्त उपयुक्त छ ।’

 

भालुवाङ नजिक रहेको अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ सातमारा गाउँ छ । यो गाउँ जिल्ला र नगरपालिकाबाट टाढा छ । नागरिकता बनाउनसमेत दुई दिन लाग्ने यहाँका स्थानीय प्रदेशको राजधानी बन्ने खबरले खुसी भएका छन् । ‘वर्षौँसम्म यस्तै दुःख कष्टमा बस्यौँ । अब त केही हुन्छ कि भन्ने आशा पलाएको छ’, विणा बेल्वासेले भन्नुभयो, ‘क्याम्पसहरु खुल्लान् । अस्पताल बन्लान् । पढ्न लेख्न टाढा जानु नपर्ला ।’

प्रदेश ५ को स्थायी राजधानी बनेपछि भालुवाङ बजारको स्थायित्व हुनेमा स्थानीय आशावादी छन् । नगर विकास समितिले यो बजारलाई पाको बनाउन पहल गरे पनि अझैं टुङ्गिन सकेको छैन । यहाँका बस्तीलाई सरकारले पाको बनाउनुपर्ने भन्दै थुप्रै पटक आवाज उठेको थियो । अब राजधानीको प्रस्तावले भालुवाङ बजारको पुर्जा पाइने आशामा स्थानीय छन् ।

प्रतिकृया दिनुहोस्