OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंह भाद्र ३, २०७७जुम्ला
१८२३ पटक

३ भाद्र २०७७, बुधबार

प्रिय छोरा ! आज तिमीले सडकदेखि माथि हेर्दा टोपी खस्ने घरबाट म भुई घरमा बसेको बाबालाई फोन गरेर सम्झेकोमा एउटा खुशी मिलेको छ । खुशी छु छोरा, आज कुशे औंसीको दिनमा मात्रै भएपनि तिमीले सम्झने कष्ट गरेकोमा । भौतिकरुपले तिमी म बाट टाढिएको वर्षौं नाघ्दैछ त पनि बाबालाई स्मृतिपटलमा राखेका रहेछौ । जीवित रहँदा पनि स्मृतिपटलमा रहनुपर्ने म बाबाले खासै तिम्रो जीवनमा खुशी दिन नसकेकोमा आफैलाई बढी दुःखी भएको अनुभाष गरेको छु ।

छोरा, फोनमै भएपनि तिम्रो आवाज सुन्न पाउँदा तिमी जन्मेको दिनमा काखमा हालेर खुशी मनाएको जस्तै महसुस भएको छ । तिम्रो उच्चस्तरको बोली आज मलाई उतिबेलाको बालापनमा तिमीले बाबा भनेर बोलेको तोते बोली जस्तै लागिरहेको छ । आजभोलि आहार बिहार राम्रो नहुँदा छोरा तिम्रो स्वास्थ्य राम्रो छैन भन्ने सुनेको छु । त्यसले मलाई अँझ बढी चिन्तित बनाएको छ ।

आएको फोनको बटन दबाउन मात्र जान्दछु । फोनमा भएका अंक डायल गर्न नजानेकोले फोन हान्न सकिन । बाबाले फोन गरेन भनेर नकरात्मक सोच नलिनु छोरा । हाम्रा पालामा सेतो कागजमा कालो मसीले लेखेर हुलाकीले महिनौं दिनपछि पुर्याउने चिठी पढ्न कखरा सिकेको मान्छेलाई यो डिजिटल नम्बर भन्ने कुरा ‘कालो अक्षर भैसी बराबर’ जस्तै छ ।

छोरा तिमी घरमा नहुँदा बाहिरबाट आउने फोनको बटन दबाउन घाडी घरे माईलाका छोरासँग निकै अनुरोध गरें । यही कुरा सिकाई माग्न एक हप्ता त्यो बाबुलाई गुहारें । सोचें, छोरा घरमा भईदिएको भए बटन दबाउने कुरा सिकाई माग्न अरुको घर धाउनु पर्दैनथ्यो । पितृत्वको कमीले समाजले हेला गरेको बालक झैं तिम्रो माया र सहाराको अभावले यो समाजमा म वेसहारा जस्तै छु, छोरा ।

हरेक परिवारमा पिताले सन्तानलाई बाँच्न सिकाउँछ । मेरो परिवारभित्र छोरा तिमीलगायत सबै सन्तानलाई जिउन सिकाए । सायद, म आज तिमीबाट टाढा हुनुमा त्यही जिउने कला सिकाएर हो कि ? घोत्लिएर बुझ्न खोज्छु, समझमै आउँदैन । अपितु, सिंगमरमरले बनेको गगन चुम्ने महलमा मेरो छोरा बसेको छ भन्ने खबर सुन्दा अत्यन्तै अभारी छु ।

मेरो धरातलको पूँजीले तिमीले निर्माण गरेको उच्च कोटीको सिंगमरमरको घर अहिले पनि म कल्पना गर्न सक्दिन छोरा । त्यति मात्र होइन, तिम्रो जागीरबाट त्यो खाले घर बन्ने कल्पनासमेत गरेको छैन र गर्ने पनि छैन । अनि तिमीले आफ्नो जागीरमा सरकारले उपलब्ध गरेको तलबसहितका वैधानिक सेवा सुविधा बाहेक अन्य प्रलोभन गरेका होलाउ भन्ने घटिया सोच पनि त मैले राखेको छैन, छोरा ।

मेलै तिमीलाई सिकाएको जीउने सीप र आफ्नो श्रममा बाँच्ने कलायुक्त विवेक हराएको छैन भन्ने लागेको छ । यदि साँच्चिकै त्यो विवेक र निष्ठा गुमाएर रंगिन महल निर्माण गरिएको हो भने त्यो त हाम्रो इतिहासकै दुर्भाग्य हो, छोरा । त्यसले हाम्रो बिरासत समाप्त पार्ने पक्का हुन सक्छ ।
तिमी महलमै बसेका छौ भन्ने त सुनेको छु । त्यस्तै महल त हाम्रो गाउँ भन्दा पारी बजारमा देखिन्छन् । यहाँका महलहरु भने नागरिकहरुको रगत चुस्ने भ्रष्ट, कमिसनखोर, ठग र दलालहरुले मात्र लगाएका छन् छोरा । ठूला अधिकृतका कुरा नगरौं, खरिदार, सुब्बा, सव–ओभरसियर, ओभरसियरले जागीर गरेको दुई वर्षमै ५०औं लाख भन्दा बढीका घर बनाएको देख्दा रिङ्गटा चल्छ ।

खास ती कर्मचारीको मासिक तलब कति हुँदो रहेछ र अरु सेवा सुविधा के हुँदो रहेछ ? एक पटक मात्रै तिमीसँग भेट भएको भए सोध्ने मन थियो छोरा । ठगदारहरुले घर निर्माण गरेको देखेकै थिएँ । पछिल्लो समयमा उपभोक्ता समितिमा बसेकाहरुले ठाउँ ठाउँमा जग्गा किनेको, सडक छेउमा सिमेन्टका ढलान घर हालेको देख्दा म त ट्वाँ परेको छु ।

उनीहरुको आम्दानीको स्रोत केही छैन । तर कसरी घर हाले भन्ने कुराको खोजीनीति गर्ने सचेत नागरिकको खडेरी जस्तै छ, यहाँ । कानून लगाउनेहरुले नैतिकता हराएर काम गरेको देख्दा काम नगरेर खानेलाई कारवाही गर्नुको साटो छुट दिएको जस्तो लाग्छ । पछिल्लो समयमा ईमान्दार भनिने महिला पनि भ्रष्ट भएको पाउँदा गलत संस्कृतिको बिजारोपण भएको छ ।

एउटा योजना निर्माण समितिको अध्यक्ष हुन ठूलै राजनीति चल्छ । त्यसमा पनि जाँड पाटीमा रमाउनेकै हालीमुहाली छ । ५० हजारको योजना निर्माण गर्नका लागि निर्माण हुने समितिमा पनि बस्न तछाडमछाड हुन्छ । म बुझ्छु छोरा, यो तछाडमछाड योजना निर्माणका लागि भन्दा मिलाएर पैसा खानका निम्ति गरिएको कुत्सित खेल हो ।

यस्ता गलत कामको पर्दाफाँस न पत्रकारले गरेको देखें नत अन्य कुनै निकायले नै । काम गरेर ज्याला नपाएर तड्पिएका नागरिकहरुको हितमा कुनैपनि अधिकारवादीहरुले बोलेको पाईन । संवैधानिक निकाय राष्ट्रिय मानव अधिकारले पनि नागरिक अधिकार खोसिएको विषय त्यति राम्रोसँग आवाज उठाएको पाउन सकिन ।

न्यायलय कस्तो छ भन्ने यथार्थता यो मुलुकका न्यायमूर्तिहरुको हर्कतबाट देखिसकेको छु, छोरा । अरबौंको भ्रष्टाचार गर्ने भ्रष्टाचारीहरुलाई छोडेर हजार र लाखको लोभमा आफ्नो अस्तित्व मेटाउने कायरहरुलाई समात्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनियमितता हेर्ने निकाय को हो ? भनेर नागरिकहरुले प्रश्न गरिरहेका छन् ।

तिमी जन्मघरमा पाईला टेक्दा यो झुपडीको फोहोरले तिम्रो खुट्टा फोहोर हुने डर र सिंगमरमरले निर्मित तिम्रो घरमा मैले पाईला टेक्दा चिप्ला कोलिया र भित्ता फोहोर हुने भय नै तिम्रो मेरो भेटको तगारो बनेका छन्, छोरा । तथापि केही छोराहरुले आफ्ना बाबा आमालाई वृद्धाश्रममा सुम्पेर सामाजिक सञ्जालमा ‘बाबा ! आज तपाईको मुख हेर्न पाईन’ भनेर दुखेसो गरेको देख्दा उदेक लागेर आउँछ ।

छोरा ! तिमीले मेरो र तिम्री आमाको निम्ति कुनै चिन्ता फिक्री नगर्नु । हामी दुवै नेपाल सरकारले दिएको वृद्धा भत्ताले जेनतेन बाँचिरहेका छौं । यसैबाट स्वास्थ्योपचार पनि गरेका छौं । बरु तिम्रो परिवारमा त्यस्तो केही आर्थिक तथा अन्य केही समस्या भए भन्न नहिच्किचाउनु । हामीसँग नभएर कोही कसैसँग भएपनि ऋण मागेर समस्या टारौंला ।

गाउँ छोडेर शहर रोज्नेको लहरले तिमीलाई म बाट भौतिकरुपमा टाढा बनाउँदा म रतिपनि बिरक्तिएको छैन । खुशी नै छु । तर चुल्हो नजिकको पारिपट्टि माटोले लिपेको मैडोमा बिरामीले थलिएकी तिम्री आमाको कमजोर अवस्थाले भने मेरा सबै खुशी लुटिएको महसुस गरेको छु । तरपनि यो अवस्थाले म कमजोर भएको छैन र निर्वाध उपचारमा खटिएको छु ।

तिमीलाई भेट्ने व्यग्र चाहाना थियो छोरा तर च्यातिएको कोट र सुरुवालमा फाटेको खुट्टा लिएर तिमी कहाँ आउने आँट गर्न सकिन । समयले तिमी र म बीचको मिलन हुने शक्तिशाली क्षण प्रदान गरेछ भने भेटौंला । तिमीसँग भेटघाटको अवसर जुराउन प्रविधिको विकास गर्ने आदरणीय व्यक्तित्व टिम बर्नर्स ली लाई हृदयदेखि धन्यवाद दिन्छु । तिमी टाढा भएर होला छोरा त्यति कटु वचन सुनेको छैन ।

कालापहाडमा श्रम गरेर कमाएको पैसाले तिमीलाई यो ठाउँमा पुर्याएकोले मेरो नैतिकताको बल तिमीमा घटेको छैन भन्ने विश्वास गरेको छु । सुगम बसाई, सुन्दर शहर र आकाश छुने घरले तिम्रो हृदयलाई कठोर बनाएपनि छोरा तिम्रो बाबा आमालाई सम्झने मष्तिष्क बोधो नहुनेमा विश्वस्त छु ।

अन्त्यमा, पितृदेवो भव ः भन्न् हिन्दु धार्मिक मान्यता अनुसार यो कुशे औंसीलाई पितृ दिवसका रुपमा पनि मान्छेहरुले मनाउने गर्दछन् । पिता नहुनेले विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् । पिण्ड पनि चढाउँछन् ।

यद्यपि म र तिम्रो आमा आजका दिनसम्म यही धर्तीको धुलो माटो र सामाजिक संरचनासँग संघर्ष गरिरहेका छौं । यो स्वर्णीम अवसरमा मलाई तिमीले फोनबाटै भएपनि स्मरण गरेकोमा छोरा तिमीप्रति असीम प्यार छ । तिमी पनि मेरा नाती नातिनीको बाबा भइसकेकोले तिम्रो मप्रतिको प्रेम भन्दा उनीहरुले तिमीप्रति गर्ने प्रेम आगाध र जीवन्त बनोस्, शुभकामना !!!

उही तिमीलाई माया गर्ने बाबा !
धुनबहादुर 

प्रतिकृया दिनुहोस्