OnlinePana

आज : २०८३ जेठ २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २१, २०८३काठमाडौं
६ पटक

 

२१ जेठ २०८३, बिहीबार

सुर्खेतः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको सातौं बैठकमा सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई नीति तथा कार्यक्रममाथि छलफलका लागि सभासमक्ष प्रस्ताव गर्न समय दिनुभयो ।

मुख्यमन्त्री कँडेलको प्रस्ताव बहुमतले पारित भएसँगै छलफ सुरु भयो । छलफलको प्रारम्भमा भाग लिँदै नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सरकारको नीति तथा कार्यक्रम नयाँपन पाउन नसकिएको टिप्पणी गर्नुभयो । नीति तथा कार्यक्रममा जेनजीको मर्म कतै नसमेटिएको भन्दै दस्ताबेज कार्यान्वयनमा सन्देह लिने धेरै आधार भएको प्रतिक्रिया उहाँले दिनुभयो ।

प्रमुख सचेतक जिसीले भन्नुभयो, “समावेशी नीति स्पष्ट भएन । बैंक खाता छोरीको सुरक्षा जीवन भरिको भन्ने कार्यक्रम कहाँ गयो । दलित, महिला, समावेशी नीति स्पष्ट आउन सकेको छैन । नीतिले निम्न वर्गलाई उत्थान गर्ने कुरा देखिएन ।” उहाँले औद्योगिक करिडोरका विषय नीति तथा कार्यक्रममा आउन नसकेको औंल्याउनुभयो ।

नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले नीति तथा कार्यक्रम समग्रतामा राम्रो भएपनि केही कुराहरु अपुरा, अधुरा र अव्यवहारिक भएको टिप्पणी गर्नुभयो । पारस्परिक निर्भरतामा बाँचेको कर्णालीले तत्कालै निर्यात गर्ने क्षमता नराख्ने तर अर्गानिक उत्पादनमा जोड दिन सक्ने उहाँको भनाई थियो ।

कर्णाली प्रदेशसभा सदस्य जीतबहादुर मल्लले सरकारले ल्याएको नीति तथा कार्यक्रम तुलनात्मक रुपमा सुधारिएर आएको बताउनुभयो । उत्तरविधायिकी परीक्षण र बेरुजुका विषयमा बोलेको यसले बोलेको पक्ष राम्रो भएको उहाँको भनाई थियो । प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले नीति तथा कार्यक्रमले नागरिकको आवश्यकतामुखी भएको तर्क गर्नुभयो ।

प्रदेशसभा सदस्य महेन्द्र केसीले पूँजीगत खर्च बढाउनेमा नीति तथा कार्यक्रमले बोल्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले नीति राम्रो देखिएपनि भुई मान्छेको समस्या र आवश्यकता सम्बोधन हुनेमा शंका देखिएको बताउनुभयो । कृषि, पर्यटन, पूर्वाधारमा रुपान्तरणकारी आयोजना नेदेखिएको उहाँको भनाई थियो ।

त्यस्तै, प्रदेशसभा सदस्य कल्याणी खड्काले नीति तथा कार्यक्रममा बिगतकै कार्यक्रमको निरन्तरता रहेको उल्लेख गर्नुभयो । उक्त बैठकमा प्रदेशसभा सदस्यहरु बीरबहादुर शाही, उर्मिला विश्वकर्मा, जुम्कित लामा कार्कीले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नुभएको थियो । सभाको अर्को बैठक जेठ २२ गते दिनको १ः०० बजे बस्ने सभामुख गुरुङले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्