OnlinePana

आज : २०८३ आषाढ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २६, २०८३सुर्खेत
५१ पटक

२६ जेठ २०८३, मंगलबार

मनसुनजन्य विपद्को संभावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम–२०२६’ सम्पन्न भएको छ ।

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत र पिपल ईन निड (पिन) प्रतिबद्ध–३ परियोजनाको सहकार्यमा आज वीरेन्द्रनगरमा उक्त फोरम सम्पन्न भएको हो । उक्त फोरममा बोल्दै कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीका ३० स्थानीय तहमा अहिले पनि मौसम मापन केन्द्र नभएको तथ्याङ्क सार्वजनिक भएकोले प्रदेश सरकारले त्यसको व्यवस्थापनका लागि आवश्यक उपकरणमा सहयोग गर्ने बताउनुभयो ।

“माथिल्लो कर्णाली भौगोलिक, सेवा र पहुँचका हिसाबले जोखिम र पछाडि छ,” प्रमुख सचिव यादवले भन्नुभयो, “मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक संयन्त्र र जनशक्ति तयार गर्न सम्बन्धित निकायको पहलमा स्थानीय तहसँग समन्वय तथा सहकार्य गरौं । समयमै पूर्वतयारी र व्यवस्थापन गर्न सकियो भने स्थानीयलाई धनजनको क्षति हुनबाट बचाउन सकिन्छ ।”

उक्त फोरममा जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका कार्यालय प्रमुख डा.ईन्दिरा कँडेलले जल तथा मौसमजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जल तथा मौसम विज्ञान विभाग तथा अन्तरगतका कार्यालयहरुको भूमिका, मनसुन सिजन २०८३ को जलवायु आँकलनसम्बन्धि प्रस्तुति राख्नुभयो । उहाँले मौसम पूर्वानुमान, सापेक्षित आद्रता, हावाको गति, दिशा, तापक्रम, वायुमण्डलको तापक्रम र सुर्खेतको रातानाङ्लामा रहेको २५० किलोमिटरको वायुमण्डलको स्क्यान गर्ने मौसम प्रणाली र वायुमण्डलमा भएको पानीको अवस्थाबारे अध्ययन गरी तथ्याङ्क राख्ने राडारका बारेमा बताउनुभयो ।

 

मूलतः मनसुन अवधि २०८३ का लागि जल तथा मौसम विज्ञान विभागले जारी गरेको जलवायु आँकलको जानकारी गराई प्रभावकारी मनसुन पूर्वतयारी तथा पूर्वकार्यका लागि प्रमुख सरोकारवालाहरु बीच समन्वय सहकार्य र पूर्वतयारीलाई सुदृढ बनाउने उद्देश्यले फोरमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

पिपल ईन निड (पिन) प्रतिबद्ध–३ परियोजना (पिन)का कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले मनसुन पूर्वतयारी तथा संभावित प्रभावबारे प्रस्तुति राख्दै विसं.२०८३ मा मनसुनजन्य विपद्बाट देशभर ५९ हजार ८६८ घरधुरीका दुई लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने जनाउनुभयो । उहाँले भन्नुभयो, “मनसुनजन्य विपद्बाट ५१ दशमलव १० महिला र ४८ दशमलव ९० पुरुष प्रभावित हुने आँकलन गरिएको छ । जसमा २१ प्रतिशत वृद्धवृद्धा, ८ प्रतिशत बालबालिका, २ दशमलव ५ प्रतिशत अपांगता भएका व्यक्ति र २ प्रतिशत प्रजनन् उमेर समुहका महिलासमेत प्रभावित हुने देखिन्छ ।”

यसबाट सबैभन्दा बढी लुम्बिनीमा ५१ हजार ६२६ र कर्णालीमा सबैभन्दा कम १३ हजार १७५ जनसंख्या प्रभावित हुने उहाँले तथ्याङ्क प्रस्तुत गर्नुभयो । केन्द्र, प्रदेश तथा जिल्ला विपद् व्यवस्थापन कोषमा हाल रु.सात अर्ब, ५६ करोड २३ लाख ९२ हजार ४४५ मौज्दात रहेको उहाँको भनाई थियो । खासगरी मनसुनजन्य विपद्को संभावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यका लागि विषयगत क्षेत्रको पूर्वतयारी र प्रतिकार्य योजनाका सम्बन्धमा पनि उहाँले सरोकारवालाहरुलाई जानकारी दिनुभयो ।

फोरममा सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठ, भौतिक सचिव अर्जुनकुमार बम, उद्योग तथा पर्यटन सचिव अजितकुमार कर्णलगायत प्रदेश तथा जिल्ला आपतकाकालीन कार्य सञ्चालन केन्द्र, विषयगत क्षेत्र, विकास साझेदार, गैर सरकारी निकाय, निजी क्षेत्र तथा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र पत्रकार सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्