OnlinePana

आज : २०८३ आषाढ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २७, २०८३काठमाडौं
५५ पटक

२७ जेठ २०८३, बुधबार

सुर्खेतः विपद् पूर्वतयारी, प्रतिकार्य र राहत प्राकृतिक तथा मानवीय विपत्तिबाट यहाँका नागरिकहरुको जीउधनको सुरक्षाका लागि कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन भएको छ ।

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको समन्वय तथा सहजीकरणमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममार्फत १५ सदस्यीय प्रदेश कार्यमञ्च गठन भएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव अध्यक्ष रहने गरी निर्माण हुने संरचना बमोजिम विषयगत समुहको संलग्नतामा कार्यमञ्च गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो ।

महाशाखा प्रमुख गौतमका अनुसार विषयगत नौ समुहहरुमा क्रमशः सरकारी निकाय, सार्वजनिक संस्थान तथा अर्धसरकारी निकाय, प्राज्ञिक तथा अनुसन्धानमूलक समुह, दाता तथा संयुक्त राष्ट संघीय समुह, अन्तर्राष्ट्रिय गैरसरकारी समुह, राष्ट्रिय गैर सरकारी समुह, व्यवसायिक प्रतिष्ठान तथा निजी क्षेत्रका समुह, सूचना, प्रविधि तथा सञ्चार समुह र विपद् प्रभावित समुह रहेका छन् । प्रत्येक समुहबाट संयोजक, उपसंयोजक र सचिव चयन गरिएको छ ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले प्रदेश सरकार स्वयंले गर्नुपर्ने काममा पाँच वर्षपछि भएपनि प्राधिकरणको टोलीले पहल लिएर कार्यमञ्च गठनमा सहयोग पुर्याएको भन्दै कृतज्ञता प्रकट गर्नुभयो । उहाँले असारको पहिलो हप्ताभित्रै प्रदेशको कार्यकारी समितिबाट यसलाई पारित गरिने जनाउनुभयो ।

गठित विषयगत समितिका सदस्यहरुलाई विपद् जोखिम न्यूनीकरणमा सक्रियताका साथ लाग्न र छिट्टै बैठक बसी त्यसमा गर्न सकिने क्रियाकलाप, गतिविधि र बैठकको निर्णयसहितको प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पठाउन निर्देशन दिनुभयो । प्रमुख सचिव यादवले प्रत्येक प्रदेशमा विपद् सामग्री विपद् सामग्री खरिदका लागि प्राधिकरणमा नै विज्ञ जनशक्ति राख्न सुझाउनुभयो ।

नगरपालिका राष्ट्रिय संघ कर्णाली प्रदेशका अध्यक्ष हस्तबहादुर पुनले विपद् पर्दा कोष परिचालन र कार्य सञ्चालनमा जटिलता हुने गरेको औंल्याउँदै यसलाई प्रदेश सरकारले सहज बनाउन कार्यविधि र मापदण्ड तयारी गर्नुपर्नेमा जोड दिनुभयो । कुनैपनि विपद्मा सत्य तथ्य तथ्याङ्क आउन नसक्दा पनि राहत तथा पुनःस्थापना समस्या हुने गरेको उहाँले जनाउनुभयो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले विपद्को उच्च जोखिम भएको कर्णाली प्रदेशका लागि प्राधिकरणले प्राथमिकता राखेर काम गरेको बताउनुभयो । प्राधिकरणको एक्लो प्रयासबाट नभई प्रदेश तथा स्थानीय तहसहित सबै सरोकारवालाहरुको साझा प्रयासबाट विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताउँदै विपद् प्रतिकार्यका लागि पूर्वतयारी रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा डिपिनेटका राष्ट्रिय अध्यक्ष डा.वसन्तराज अधिकारीले कार्यमञ्चको गठन प्रक्रिया, कानुनी आधार र प्रस्तावित संरचनाबारे प्रस्तुति राख्नुभयो । त्यस्तै, प्राधिकरणका उपसचिव गोमादेवी ढकाल पौडेलले विपद् जोखिमको देशभरको अवस्था, प्रभावित क्षेत्र र प्राधिकरणले तयारीबारे प्रस्तुति राख्नुभएको थियो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठ, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बम, सरकारी तथा गैर सरकारी निकाय, सुरक्षा निकाय, विकास साझेदार, निजी क्षेत्र, संस्थान, सूचना, प्रविधि तथा सञ्चार क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्