OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

एउटा बजार व्यवसायीलाई चैते धान खेतीले दिएको खुशी

बन्दाबन्दीमा अरुले क्षति व्यहोर्दा म कृषक बनेर लाभ उठाएँ

कोरपाटी संवाददातासाउन १०, २०७७सुर्खेत
७७३ पटक

 

१० साउन २०७७, शनिबार

नेपालमा पञ्चायती शासन व्यवस्थाको ३२ वर्षपछि पहिलो पटक आफ्नै खेतमा लगाईएको चैते धान खेतबारीमा लहलह झुल्दा बीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दिपक ढकाल मख्ख हुनुहुन्छ । जोखिम मोलेर गरेको उक्त कृषि कर्मले उहाँलाई निकै खुशीसमेत बनाएको छ । खेतमा धान पाकिसकेको छ । त्यसलाई भित्र्याउन ढकाल आतुर हुनुहुन्छ तर अविरल वर्षाका कारण त्यसलाई उहाँले भण्डारण गर्न पाउनुभएको छैन ।

उहाँले आफ्नै एक बिगाह जमीनमा गत चैत २८ गते धान रोप्नुभएको थियो । १२० दिनमा विशेषगरी सुख्खा याममा पाक्ने हर्दिनाथ–३ जातको चैते धान कृषक ढकालले महोत्तरीको जलेश्वरबाट ल्याउनुभएको थियो । २८ वर्ष बजारमा विभिन्न पसल राखेर व्यवसाय गर्नुभएका उहाँले दुधवंशी कृषि फर्मका खोलेर रु.५० लाखको माछा पोखरीसमेत उक्त स्थानमा निर्माण गर्नुभएको छ ।

प्रतिघण्टा ३० हजार लिटर पानी दिन सक्ने डिप बोरिङ निर्माण गरी उक्त पोखरीमा अहिले सात लाख लिटर पानी जम्मा गरिएको । यस अघि प्रति केजी रु.तीन सयका दरले ४५ क्वीन्टल माछा बिक्रीवितरण गरिसकेका उहाँले यही बन्दाबन्दीकै समयमा तीन हजार भुरा माछापालन गरिएको जनाउनुभयो ।

बजार व्यवसाय गरेर करिब दुई दर्जन नागरिकलाई रोजगार दिनुभएका ढकालले मध्यपश्चिम विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेपछि कृषि कर्ममा लाग्ने उत्प्रेरणा मिलेको बताउनुभयो । “जब मैले ग्रामीण विकास शिक्षा हाँसिल गरे त्यसपछि मात्र बुझें, मानव जीवनको मुख्य बाँच्ने आधार भनेकै कृषि रहेछ,” उहाँले भन्नुभयो, “विश्वमा कृषिमा आत्मनिर्भर देशहरुले नै विकासमा फड्को मारेका छन् । त्यसर्थ, राज्यले यो क्षेत्रलाई प्राथमिकता साथ माथि उठाउनुपर्छ ।”

बन्दाबन्दीमा अरुले क्षति व्यहोर्दा म कृषक बनेर लाभ उठाएँ

कृषक दिपक ढकालले कृषिलाई मूल जीवन ठानेर पहिलो पटक आफैले हर्दिनाथ–३ जातको चैते धान खेती गरेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “गरे नहुने के रहेछ र ? प्राविधिक सल्लाह विना नै आफैले जे होला होला भनेर बन्दाबन्दीमै शुरु गरें । बन्दाबन्दीमा अरुले क्षेति व्यहोर्दा मैले राम्रो लाभ लिन पाएँ । आखिर राम्रै भयो । ६० मुरी धान उत्पादन होला भन्ने अपेक्षा गरेका छु ।”

अब अगामी दिनमा यो खेतीलाई विस्तार गर्ने योजना बनाएको ढकालको भनाई थियो । उद्योग बाणिज्य संघ सुर्खेतको बाणिज्य उपाध्यक्षसमेत रहनुभएका उहाँले विसं.२०४८ देखि फेन्सी, कस्मेटिक, सिसा पसल गर्दै हाल हार्डवेयर व्यवसाय सञ्चालनमा ल्याएपनि कृषिलाई उद्यमसँग जोडेर अघि बढाउने उद्देश्य रहेको जनाउनुभयो ।

उहाँका अनुसार कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर सुर्खेतमा चैते धान लहलह झुलेपछि आफूलाई मात्र नभई सबै किसानहरुलाई यो खेती गर्न उत्साहित बनाएको छ । प्रदेश तथा यहाँका स्थानीय सरकारहरुलाई चैते धान खेती गर्ने किसानलाई विशेष अनुदान सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

सबै सरकारले कृषि क्षेत्रमा जोड दिन ग्रामीण विकास शिक्षा हाँसिल गरेको जनशक्तिलाई परिचालन गर्नुपर्नेमा ढकालको जोड थियो ।

आफैले सुख्खा याममा लाभ दिने हर्दिनाथ जातको चैते धान खेती गरेर ढकालले सफल बजार व्यवसायी मात्र होइन, सफल कृषकको पनि पहिचान दिनुभएको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कृषक ढकालले गरेको चैते धान खेतीको अवलोकन गर्नुभएको छ । एउटा व्यक्तिले आफ्नै प्रयासमा गरेको काम निकै प्रशंसा गर्न लायक भएको मन्त्री केसीको भनाई थियो ।

उहाँले यो व्यवसायलाई प्रवद्र्धन तथा विस्तार गर्न किसानलाई चैते धानको बीउ वितरण गर्ने बताउनुभयो । “यो धानको उत्पादनले कर्णाली प्रदेशको आत्मनिर्भरतामा सहयोग पुग्ने देखिन्छ,” मन्त्री केसीले भन्नुभयो “सुर्खेत, सल्यान, रुकुमपश्चिम, दैलेख र जाजरकोटको तल्लो भागमा यसको उत्पादनमा जोड दिनेगरी सरकारले अब कार्यक्रम बनाउँछ, ।”

प्रतिकृया दिनुहोस्