OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआषाढ २८, २०७७जुम्ला,
८०७ पटक

 

जुम्ला, असार २८ गते । जुम्लामा रोपाइँ सकिएसँगै मौलाएको मार्सी धान गोड्न किसानलाई भ्याइनभ्याई छ । जुम्लाको सिन्जा, पान सय, बजार र गुठी चौरमा अहिले मार्सी धान गोड्ने किसानको प्रतिस्पर्धा छ । सिजन अनुसार असारमा गोड्न सुरु गरिने यहाँको धान अहिले गोडिएको हो ।
कोरोनाका कारण उत्साह नभए पनि बन्दाबन्दीको पालना गर्दै यस वर्षको रोपाइँ सम्पन्न गरेका किसानले अहिले गोडमेलको कामलाई दैनिक खेतमा बिताइरहेका देखिन्छन् ।
यस समयमा महिलाले गोडमेल गर्ने र पुरुषले खेत छाल्ने काम गर्छन् । मार्सी धान गोड्न निकै मिहिनेत लाग्ने किसानले बताएका छन् । धान बाहेकका सबै झार उखेलेर फाल्नुपर्ने भएकाले निकै सङ्घर्ष हुने गरेको किसानले बताएका छन् ।
अन्य बालीभन्दा धानमा बढी नै दुःख गर्नुपर्ने भएको चन्दननाथ नगरपालिका–३ का धनबहादुर बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बेर्ना राख्नेदेखि गोडमेल र धान भित्र्याउँदासम्म मार्सीलाई अन्य धानभन्दा बढी स्याहारको आवश्यकता हुन्छ ।
जिल्लाको तातोपानी गाउँपालिकामा रहेको लाछु ज्यूलोमा पनि अहिले किसाना मार्सी गोड्न व्यस्त छन् । १२औँ शताब्दीमा मार्सी धान सबैभन्दा पहिले रोपिएको सो ज्यूलामा निकै राम्रो धान उत्पादन हुने गरेका छ । यसैगरी, सिन्जा क्षेत्रमा पनि प्रशस्तै मार्सी धान उत्पादन हुने गरेको छ ।
पछिल्लो समयमा ब्लास्ट रोगले हैरान बनाएकाले धान धेरै मात्रामा खेर जानेसमेत गरेको पाइन्छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालाकराम देवकोटाका अनुसार जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरेदेखि खेतमा औषधि हाल्नसमेत रोक लगाइएको बताउनुुभयो । उहाँले अर्गानिक जिल्लाको पूर्वाधार तयार गर्ने कार्यक्रम अबको आवश्यकता हो भन्नुभयो । उहाँका अनुसार जुम्लामा एक हजार तीन सय हेक्टर जमिनमा मार्सी धान रोपिने गरेको छ ।
यता कृषि अनुसन्धान कार्यालयले मार्सी धान रोगले जोगाउन कठिन भएकाले मार्सीको विकल्पमा चन्दननाथ १ नामक धानसमेत अनुसन्धान गरी रोप्न सुरु गरिएको जानकारी दिनुभयो । पछिल्लो समयमा चन्दननाथ १ को खेती विस्तार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्